बेरोजगार युवा शक्तीलाई राष्ट्र निर्माण अभियानमा लगाउन आवस्यक रहेको नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालले बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना कार्यक्रममा बोल्दै नेता डा.कोइरालाले उक्त कुरा बताएका हुन् ।
कांग्रेसका नेता डा.कोइरालाले युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने भन्दै बढ्दो बेरोजगारीलाई सम्बोधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्ने बताए ।
भ्रष्टाचार,कुशासन र महँगी अनियन्त्रित हुँदा राजनीतिक दल र तिनका नेताप्रति जनताले भरोसा र विश्वासमाथि प्रश्न उठनउन थालेकाले अब शासन, प्रशासन र राजनीतिक दलहरू नागरिकमैत्री हुन ढिलो गर्न नहुने उनको भनाई रहेको थियो ।
उनले सात दशकको मेहनतले निर्माण गरिएको नेपालको संविधान प्राप्तिको रटानले मात्र नागरिकको चित्त बुझाउन नसकिने बताए । भूकम्प, नाकाबन्दी, कोरोना महामारी लगायतले देशको आर्थिक विकास र सामाजिक सम्बन्धमा निराशा छाएकाले अब पुनःस्थापनामा लाग्न नयाँ वर्ष २०८० मा प्रेरणा मिल्ने नेता डा.कोइरालाले बताएका छन् ।
शुभकामना कार्यक्रममा बोल्दै नेता डा.कोइरालाले नयाँ वर्षको उल्लासमय समयसंगै देशमा विद्यमान चुनौतीलाई सम्बोधन गर्न सबै राजनीतिक दल र तिनका नेतामा विवेकको प्रयोग गर्दै साझा सङ्कल्प गर्ने अठोट कायम होस् भन्ने कामना व्यक्त गरेका थिए ।