शिक्षा मन्त्रालयमा विद्यार्थीको घुइँचो थामिनसक्नु देखिन्छ । प्लस टु सकेका र अवसरको खोजी गरिरहेका विद्यार्थीहरू शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिन विहानैदेखि लाम लागेका भेटिन्छन् । उनीहरूलाई किन विदेश जाने भनेर सोध्यो भने नेपालमा पढाइ नै हुँदैन, पढेपछि अवसर पनि छैन । जागीर खान सोर्सफोर्स चाहिन्छ भनेर निराशा व्यक्त गर्छन् ।
यद्यपि एनओसी शाखाले विद्यार्थीको चापलाई मध्यनजर गर्दै सेवा प्रवाहलाई सहज र छिटो बनाउदै लगेको दाबी गरेको छ । अनलाइनबाट आवेदन दिने, रूजु गर्ने र एनओसी पाउने समय सम्बन्धित विद्यार्थीलाई जानकारी गराउन थालेपछि लाइन लाग्नुपर्ने अवस्था घटेको शाखाले दाबी गरेको छ । तथापि अनलाइन भन्दा जानु नै ठिक भनेर विद्यार्थीहरू अनलाइन पनि भर्छन्, आफै एनओसी लिन पनि जाने गरेका छन् ।
एनओसी शाखा प्रमुख बासुदेव वस्तीले एनओसी लिन आउने विद्यार्थीलाई सहज सेवा दिन सम्भव भएसम्मको कोशिस भइरहेको बताउदै सेवाग्राहीको सहजताको लागि निशुल्क वाइफाइ सेवाको व्यवस्थासमेत गरिदिएको बताएका छन् । बिगत ९ महिनामै झण्डै खर्व रकम विद्यार्थीले सटही सुविधा लिएर विदेशी विश्वविद्यालयमा पठाइसकेका छन् । गुणस्तरीय शिक्षा र अवसर नपाएकै कारण युवाहरू स्वदेशमा बस्न रूचाउन छाढेका छन् ।