Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सधैं राजनीतिक अप्रिल फूल

२० सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

शिवप्रसाद सिग्देल, बरिष्ठ अधिवक्ता - - - 
अप्रिल आयो यो वर्ष पनि, गयो ।
अप्रिल १ लाई झुक्याउने, छकाउने दिनका लागि पनि प्रयोग गरिन्छ ।
नेपालीका लागि हरेक दिन अप्रिल फूल हो । हरेक दिन हाम्रा आँखामा भ्रम छरिएको छ, झुक्याइएको छ । यो निरन्तरता ०४६ अघि थियो, ०६३ अघि थियो र ०६३ पछि पनि जारी छ ।
हाम्रा लागि के परिवर्तन, के लोकतन्त्र, के बहुदल, के अग्रगमन । हरेक दिन अप्रिल फूल पारिएको छ लोकतान्त्रिक नामधारी नेताहरूले । नेपाली यति सोझा छन् कि पत्याइदिन्छन् । हरेक चुनाव अघि झुक्याउँछन्, हरेक चुनावपछि संसद र सरकारबाट झुक्याउँछन् ।यो अप्रिल फूल नभए के हो । अन्यथा नेपालको अग्रगमन धेरै अगाडि बढिसक्थ्यो । अब त अर्थतन्त्र नै धरासायी हुने अवस्थामा पुगेको छ । तैपनि लोकतन्त्रले रामराज्य दिन्छ भनेर भ्रमित भइरहेका छौं ।
बाठा, साह्रै बाठा छन् नेताहरू, जो सचेत भनिएका जनतालाई झोले बनाउँछन् र अप्रिल फूलमा झैं मूर्ख बनाउँछन् । हामी मूर्ख भएर नै वीर भएका त होइनौं, शंकै लाग्छ ।
यसपाली पनि मुर्ख भइयो । २०७९ चैत १८ गते, २०२३ को अप्रिल फूल मनाउने दिन रहेछ । धेरै साथीले मूर्ख बनाए, मलाई हाँसो उठ्यो ।
किनभने हामी हरेक दिन मूर्ख भइरहेका छौं । राजनीतिबाट, नेताबाट, शासक र प्रशासकबाट । नियम, कानुन सबै सबैतिर मुर्ख बनाउने घटनाहरू भइरहेका छौं । हामी जो, हरेक दिन मूर्ख भइरहेका छौं, हाम्रा लागि हरेक दिन अप्रिल १, हरेक दिन अप्रिल फूल, हामीभन्दा मूर्ख अरू को होलान् ?
हामी त्यस्ता मूर्ख जो हरेक दिन नेताबाट घात प्रतिघात सहिरहेका छौं र पनि चुनावमा तिनै नेतालाई भोट दिन्छौं । हामीमा गल्ती गर्नेलाई दण्ड र राम्रो काम गर्नेलाई स्यावासी दिने संस्कार नै छैन । राजनीतिले व्यभिचार गर्न सिकायो, हामी हरेक दिन व्यभिचारका सिकार भइरहेका छौं । हाम्रो सोचमा, व्यवहारमा, चालचलनमा व्यभिचारमात्र बढ्दो छ, हल्कदो छ । विरूवामा ऐंजेरू पलाएजसरी हामीभित्र व्यभिचार बढ्दै बढ्दै गएको छ । जबसम्म हामी सही र गलत छुट्याएर पनि त्यसअनुरूपको निर्णय गर्न सक्दैनौं, हाम्रा लागि हरेक दिन अप्रिल फूल हौं, हामी मूर्ख हौं ।
मान्छे हुनका लागि विवेक चाहिन्छ । नेपालीमा विवेकको कमी छैन । चेतना चाहिन्छ, चेतनाको कमी पनि छैन । फेरि किन हामी मूर्ख भइरहेका छौं ? हामी सचेत भएर पनि अचेत छौं, चेतना भएर पनि चेत खुलेको छैन, विवेक भए पनि विवेकी हुनसकेनौं । नाङहरू देखिरहेका छौं, नाङ्गो भन्न सक्दैनौं र नाङ्गाहरूको प्रशंसा गर्दै पछि लागिरहेका छौं । आखिर हामीमा यस्तो संस्कार पलायो कसरी, आयो कसरी ? हामी वेष्ट मिनिस्टर प्रणाली अँगालेर, अनेक ठूला ठूला परिवर्तनहरू गरेर अघि बढ्दा पनि भेडा संस्कारबाट मान्छे संस्कारमा आउन सकेका छैनौं । यहीकारण हो, हामी हरेक दिन अप्रिल फूल अर्थात मूर्ख बनिरहेका छौं ।
जीवनकाल नै अप्रिलफूलमय बन्यो हामी नेपालीको । जनकपुरमा हरेक वर्ष महामूर्ख दिवस मनाइन्छ । यसवर्ष पनि विद्वानहरूले जनकपुरबाट महामूर्खको उपाधि लिएर फर्केका छन् । मुर्ख लाई मूर्खको उपाधि किन दिइन्छ ? यसको कुनै अर्थ र औचित्य रहला र ?
किनभने हामी हरेक दिन महामूर्ख बनिरहेका छौं भने प्रतिस्पर्धा नै किन गराइरहेको होला ? सत्ताधारी, प्रतिपक्षी र नागरिक समाजसमेत भ्रमित भएर  बाँदर नाथ देखाइरहेका छन्, हामी बाँदर भक्तिमा रमाइरहेका छौं । गिदीमा लिदी भरिएको भनेको यही हो । अझै हामी विवेकशील नबन्ने ?