स्वयम्भूनाथ कार्की, विराटनगर–१
राप्रपा नेपाल दलको रुपमा स्थापित हुनको निमित्त न त्यसमा आवद्ध कार्यकर्ता न त्यसको नेतृत्व गरेका कमल थापाको नै कुनै विशेष योगदान छ। सुन्दा जति नै अप्रिय लागे पनि यो कटुसत्य हो। परिवर्तनको नाममा, अग्रगमनको नाममा जुन वितण्डा समाजमा मच्चियो त्यो ठिक हैन भन्ने परम्परागत जनता मध्ये केहीले आफ्नो कुरा उठाएको ठानेर त्यसलाई चौथो स्थानमा पुर्याएका हुन। यदि शान्त मनले विवेचना गर्ने हो भने उपलब्ध तथ्यहरुको आधारमा जो कोही पनि यही नतिजामा पुग्ने छन्। राप्रपा नेपालको सत्यकथा यही हो।
यही प्रमुख कारण हो कि मुलुकको वर्तमान कठिन अवस्थालाई चीनबाट आउने भनिएको इन्धनले हल गरेन भने यो राप्रपा नेपाल र कमल थापाको अधोतिको शुरुवात हुनेछ। दुर्भाग्यको कुरा यो छ कि यदि यो इन्धनले समस्या हल गर्यो भने पनि उनको एक्लो जस भने हुने छैन। पञ्चायतकालदेखि नै राजनीतिका चतुर खेलाडी मानिएका कमल थापा यो वेलामा आएर नराम्ररी चुकेका छन्। संविधानसभाको निर्वाचन अघि र पछि, त्यसपछिका संविधानसभाको बैठकहरु, संविधान निर्माण ताका उनले देखाएको गतिविधि र सरकारमा सामेल हुने उनको निर्णय 'उपलब्धी केही नहुने तर सबै गुमाउन सकिने' श्रेणीको छ।
राप्रपा नेपालले जुन सिद्धान्त बोकेको थियो, त्यस आधारमा आँखा चिम्लेर समर्थन दिने जनताले वर्तमानमा आफुलाई धोका भएको अनुभूति गरिरहेका छन्। त्यसै पनि यो सिद्धान्त मान्नेहरुको ठूलो जमातले पहिले देखि नै विश्वास योग्य नभएको आरोप लगाई रहदा केहीलाई पनि समर्थन गर्न लगाउनु फलामको च्यूरा चपाउनु सरह भएको थियो। तै पनि एक भरोसा राखेर गरिएको समर्थनले, समर्थन गर्नेहरुले ठूलो मानसिक ताडना खप्नु परेको छ। 'देख्यौ त हामीले त पहिल्यै भनेको थियौ नि' भन्ने किसिमका बचनवाणहरु सहन गर्न कति कठिन हुन्छन् भन्ने कुरा राजनीति गर्नेहरुले अनुभूति गर्न सक्दैनन्। राप्रपा नेपाललाई निशर्त यसरी समर्थन गर्ने ठूलो जमात राजनीति कर्मीमात्र थिएनन्, सोझासाझा आमनागरिक पनि थिए। त्यसैको आधार हो– राप्रपा नेपालले पाएको ६ लाखभन्दा बढी भारी मत। मत त भारी पाए, जिम्मेवारी चाहिँ कति पूरा गरे?
प्रक्रियामा गएर हार्नु एक कुरा हो, त्यस्तै मुलुकको सविधान मान्नै पर्दछ त्यसैले मान्नु पनि त्यस्तै कुरा हो तर राप्रपा नेपालका ती मतदाताहरुले यो संविधानको स्वामित्व भने स्विकार गरेका छैनन्। यो संविधानले मुलुकको कुनै समस्या हल गर्दैन बरु समस्या झन विकराल हुन्छ भन्ने मान्यता बोकेकाको मतले चौथो दल भएर उपप्रधानमन्त्रीको पदमा आसिन कमल थापाले यसै संविधानले सबै समस्या हल हुन्छ भनेर प्रयत्न गर्नु उनको निमित्त ठिक होला। समस्या हल भयो भने मुलुकको भलो भयो भने ती मतदाताहरु खुसी पनि हुनेछन्। तर उनीहरु जान्दछन् कि यो केवल कमल थापाको अहं मात्र हो समस्याको हल हैन। पछिल्ला दिनहरुमा अन्य दलहरुमा जस्तै राप्रपा नेपालमा कमल थापाको एकल वर्चश्व कायम भएको शुभचिन्तकहरुले प्रत्यक्ष बुझेका छन्। त्यसैले यसलाई राप्रपा नेपालको सफलता असफलता भन्दा पनि कमल थापा र उनका जमातहरुको असफलताको रुपमा नै लिनेछन्। सत्तामा भएको वेलामा वरिपरी झुम्मिने जमात कत्तिको भरोसा लायक हुन्छन् भन्ने कुरा यत्रो लामो राजनैतिक जीवनमा उनले बुझेको नै हुनुपर्दछ। आफ्नो राजनैतिक जीवनको सबैभन्दा कठिन अवस्थामा केवल आफुले बोकेको सिद्धान्तको कारणले मात्र निस्वार्थ सहयोग गर्नेहरु पनि देखे जानेकै होलान्। उनको यो अपरिपक्व निर्णयले भविष्यका निमित्त ती समर्थकहरुको माया गुमाएका छन्। सत्तामा रहुन्जेल उनको आसपास लाग्ने भिडले उनलाई कति थाम्ने छ, बोक्ने छ, त्यो त समयले नै देखाउला।
राप्रपा नेपालमा रहेका दह्रा कार्यकर्ताहरु यसरी र यो मोलमा यतिछिटै सत्ताको स्वाद चाख्न लालयित भएका छैनन्, न यो उनीहरुको चरित्र नै हो। बाहिर जे जस्तो देखिए पनि त्यस्ता कार्यकर्ताहरु कमल थापा र समूहको यो निर्णयबाट वेखुसी नै छन्। यस्तोमा पहिलो गाँसमा परेको ढुँगा सरह केवल इन्धनको सहज आपुर्तिले सबै कुरा सहज हुन्छ भन्ने सोच भएको छ। न राप्रपा नेपालका कार्यकर्ता, न मतदाता नै, अन्य दलका कार्यकर्ता वा मतदाता जस्तो दलका शिर्ष नेताहरुको हरेक कुरा आँखा बन्द गरेर मान्नेवाला नै छनन्। आत्मबोध होस्।
उनीहरुलाई थाहा छ जसरी राप्रपा नेपाल र कमल थापालाई नेपाली राजनीतिमा स्थापित गराउन सफल भए, त्यसरी कसैलाई पनि स्थापित गराउन सफल हुनेछन्। हो करिव दशकसम्मको उनीहरुको मेहेनत भने व्यर्थ्य भएको छ। चीनको इन्धनले जनजीवन सहज भएछ भने कमल थापाले आफ्नो सोचको व्याख्या गरेर सच्चिने मौका पाउने झिनो आशा हुनसक्छ। नत्र भने यो सिद्धान्त मान्नेहरुले संघर्षको सेनापति पद खोस्ने छन्। त्यस अवस्थामा यो सिद्धान्तको राप्रपा नेपालको पराजय नभएर कमल थापा र उनको समूहको मात्र पराजय हुनेछ। त्यसैले चीनको इन्धन कमल थापाको अग्नि परिक्षा हो। यो अग्नि परीक्षामा कमल थापाले कसरी सफल हुने र राप्रपालाई बैतर्णी तार्ने, अहिले नै सोच्दा राम्रो ।


