काठमाडौं । पैसाका लागि ७० वर्षका बुढालाई नक्कली बाउ बनाएर उभ्याउँदै चार तिब्बतीले नेपाली नागरिकता लिएको पर्दाफास भएको छ । नागरिकता राजधानीबाटै लिएको देखिएपछि नक्कली नागरिकता बनाइदिने गिरोहको सेटिङ प्रशासनमा कति कसिलो भइसकेछ भन्ने अनुमान गर्न सकिन्छ ।
बबरमहलका रैनाथे न्यूक्लेस श्रेष्ठ हेर्दा शेर्पा अनुहारका छन् । जिल्ला प्रशासन कार्यालयमा लेखापढी गरेर कमाउ धन्दामा लागेका कृष्णबहादुर कटवालले उनलाई नक्कली बाउ बनाएर तिब्बतीलाई नागरिकता दिलाएका थिए । भनिन्छ, यसअघि धेरै तिबेतियनलाई नक्कली बाबु खडा गरेर नागरिकता दिलाइदिएका थिए । उनले सबै मिलाइसकेको भनेर ७० वर्षे बुढालाई १० हजारको लोभमा फसाएर नक्कली कागजात मिलाएर सक्कली नागरिकता बनाइदिन कटवाल सफल भए । मिङछुङ शेर्पा, बौद्ध ठेगाना उल्लेख भएको नागरिकता बन्यो । पहिले पहिले पनि नक्कली नागरिकताबाट सक्कली नागरिकता जारी गर्न खप्पीस लेखापढीवालाले सेटिङ मिलाए, नागरिकता बनाइदिए ।
समाचारअनुसार मिङछुङ शेर्पाको छोरा बनेर सोनाम छोडेनले २०७९ कात्तिक ४ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए । सोनामको जन्म मिति २०४९ चैत २० गते उल्लेख थियो । गत पुस ३ गते टासी शेर्पाले २०५१ माघ १९ गतेको जन्ममितिमा नागरिकता लिए । त्यसको ९ दिनपछि यशोदा शेर्पाले २०६१ असोज २४ गतेको जन्ममिति राखेर र नाम्से शेर्पाले २०६० बैशाख २१ गतेको जन्ममिति राखेर नागरिकता लिन सफल भए । यसरी ३ महिनामा ४ जनालाई नागरिकता दिलाइसकेका थिए कटवालले ।
यसको सुइँको पाएपछि प्रहरीले नक्कली ग्राहक पठायो । आफू तिब्बती भएको र नागरिकता बनाइदिन प¥यो भनेपछि गिरोह तैयार भयो । नागरिकता लिने बेलामा नक्कली बाबुसहित सबै जालोलाई झ्यापझुप पारेर पक्राउ ग¥यो ।
अनुसन्धान कार्यालयका प्रमु्ख मनोज केसीका अनुसार कटवालले हालसम्म ५०० जनाभन्दा बढीलाई नक्कली नागरिकताका आधारमा नक्कली बाबु खडा गरेर सक्कली नागरिकता बनाइसकेको बयान दिएको बताएका छन् । यसबारेमा थप अनुसन्धान भइरहेको उनको दावी छ । पक्राउ परेर छानबिन भइरहेकाहरुमा ४७ वर्षीय कृष्णबहादुर कटवाल, ७० वर्षीय न्युल्केस श्रेष्ठ, ४९ वर्षीय हिरालाल सिवाकोटी, २५ वर्षीय लोब्साङ ठिन्ले र ३० वर्षीय विजय लामा रहेका छन् ।
५ लाखसम्म लिएर सक्कली नागरिकता बनाइदिने, राजधानीमै नक्कली नागरिकताको यस्तो धन्दा, अचम्म छ ।