
गुरूङ प्रष्ट थिए, नीर्भिकता उनको नैर्सर्गिक गुण थियो र खरो रूपमा आफ्ना मनका कुरा जनसमक्ष पु¥याउन सक्ने उनको वैयक्तिक कला थियो । उनले आफू संयोजक भएको नेपालको बसाइँसराइ अध्ययनको प्रतिवेदन बुझाउँदा एक पटक उनी चर्चिचभन्दा पनि चर्चित भएका थिए । उनको रायसुझावको गाँठी कुरा नेपाल–भारतमा सीमा बाँध्ने विषयमा आधारित थियो । त्यसपछि नेपालका प्रायः बौद्धिक खेतलाहरूले यिनको खुबै आलोचना गरे । त्यस घडी उनको सुझावलाई आगो लगाउनेहरूमध्येले बोलेका थिए, “हर्क गुरूङलाई झुन्डयाउनु पर्छ ।“ उनका विरोधमा जति नै आँधीहुरी आए तापनि उनी कसैसँग गलेनन् र उनले भने ’’भविष्यले मेरो विचारको महत्व टड्कारो बुझाउने छ ।’’
गुरूङको परिकल्पना जोडिन जाँदा नेपालमा पाँच विकास क्षेत्रको स्थापना भएको थियो । उनले नेपालजस्तो सानो मुलुकमा पचहत्तर जिल्ला हुनु हुँदैन यसलाई पच्चीस जिल्लामा बाँध्नु पर्छ भनेका थिए । तर उनका कुराको विचारविमर्श हुनै सकेन ।
गुरूङको सक्रिय जीवन अध्ययन, अन्वेषण, अध्यापन, प्राध्यापन र राजनीतिमा नै समर्पित रहृयो । उनी नेपाली माटोमा एउटा अलौकि नागरिक थिए । त्यसैले यी राष्ट्रिय पञ्चायत र राष्ट्रिय योजना आयोगका सदस्यमा मनोनीत भए । साथै यी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र शिक्षा, यातायात, पर्यटन तथा उद्योगवाणिज्य राज्यमन्त्रीमा पनि नियुक्त भएका थिए । यिनको कदरस्वरूप यी नेपाल श्रीपद्का अतिरिक्त दोस्रा दर्जाका त्रिशक्तिपट्ट र गोरखादक्षिण बाहुबाट पनि विभूषित भए । साथै विद्यावारिधि गरेबापत उनी महेन्द्र विद्याभूषणबाट अलङ्कृत भए ।
गुरूङ मन्त्री भएका बेला गलैंचाकाण्डमा यिनलाई पनि अनाहक फसाइएको थियो । अनि यिनले मन्त्री पदबाट मात्र होइन राष्ट्रिय पञ्चायत सदस्यसमेतबाट पनि राजिनामा दिए । त्यसै बेला यिनले राजा वीरेन्द्रलाई समाचार पठाएका थिए– “हर्क गुरूङ भारी बोकेर खान्छ, तर घुस खाँदैन ।“ वास्तवमा यी त्यस्तै हक्की, प्रष्ट र इमान्दार थिए ।
गुरूङले एसिया पेसिफिक डेभलपमेन्ट सेन्टरको प्रमुखको उमेद्वारीका लागि आवेदन दिँदा थाइल्यान्डका प्राज्ञले त्यसै पदमा दिएको आफ्नो उमेद्वारी तत्कालै फिर्ता लिएका थिए । किनभने उनले हर्क गुरूङजस्ता महाप्राज्ञले उक्त ओहोदा ग्रहण गर्नु पर्छ भन्ने मान्यता राखेका थिए ।त्यसैले गुरूङ त्यस संस्थामा निर्वाचित भएर मलेसियामा पाँच वर्ष बसेका थिए ।
गुरूङले नेपालका प्रायः सबै जिल्लाका साथै एसिया, युरोप, अफ्रिका र अमेरिकाका विभिन्न ठाउँको भ्रमण गरेर व्यापक अनुभव बटुले । अनि यिनले आफ्नो अनुभव, ज्ञान र सीप नेपाली माटोमा रोप्न खोजे । तर उनलाई काम गर्न बाधाविरोध मात्रै भइरहृयो । यति हुदाहुँदै पनि उनी डटेर आफ्ना यात्रामा लम्किरहे । उनले झन्नै दुई सयवटा फूटकर लेखहरू र एक दर्जन किताबहरू लेखे । उनका लेख र कृतिहरू प्रायः अङ्ग्रेजी भाषामा नै प्रकाशित भए । तर उनी गुरूङ (तमू) भाषाका चाहिं आदिकवि थिए ।
गुरूङ एउटा राष्ट्रवादी प्रतिभा थिए । उनको मन, वचन र कर्ममा नेपालको राष्ट्रियता टाँस्सिएको थियो । उनले नेपालको जनजीवन र भौगोलिक स्थितिलाई धेरै नजिकबाट अध्ययन गरेका थिए । यसै प्रसङ्गमा उनले (नरेन्द्रराज प्रसाईलाई पत्र) लेखेका थिए– “देशको तीव्रतर विकासका लागि वाहृय दानको निर्भरता घटाई अधिकांश जनतालाई विकास भनेको एउटा कष्टदायक र कठीन प्रकृया हो भनी महसुस गराई नेपालीले पसीना नबगाएसम्म नेपालको विकास सम्भव छैन ।’
गुरूङ समाजशास्त्रीका रूपमा सुपरिचित थिए । उनी पर्वतारोहणका विषयका पनि त्यत्तिकै ज्ञाता मानिन्थे । उनको सोखको विषय फोटाग्राफी थियो । साथै उनी चित्रकलामा पनि पारङ्गत थिए । उनको चित्रकलाका गुरू बालकृष्ण सम थिए । उनले बनाएका चित्रहरूमध्ये डाँफे र मुनालका चित्रहरूचाहिं हुलाक टिकट पनि बनाइएको थियो । उनी तास, जुवा, चुरोटलाई आफ्नो समय साथी मान्थे भने जाँडरक्सीको सेवन पनि उनको सहायक समयप्रवृत्ति देखिन्थ्यो । उनले जीवनको उत्तर्रार्थमा जनजाती विषयका अध्ययन, चिन्तन र विश्लेषणमा अधिकांश समय दिन थालेका थिए । तर उनी साम्प्रदायिक थिएनन् । मुलुकलाई सङ्घीयताको भीरमा पु¥याउने कुरामा उनले मत दिएका थिएनन् तर उनी भन्थे ’‘राज्यको शक्ति पूर्ण विकेन्द्रीकरण हुनु पर्छ ।’
गुरूङ १९९५ साल पुस २१ गते लम्जुङको तराँचेमा माइसेवोका कोखबाट जन्मे । साथै उनी २०६४ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा स्वर्गीय भए । हर्क गुरूङ एक जना आदर्श थिए । उनका आदर्श व्यक्तित्वबारे उनले नरेन्द्रराज प्रसाईका डायरीमा लेखेका थिए– ‘माओत्सेतुङ, मार्टिन लुथरकिङ र जयप्रकाश नारायणलाई म मेरो जीवनका आदर्श मान्छु ।’ साथै उनी टङ्कप्रसाद आचार्यलाई खुवै श्रद्धा गर्थे । उनका मन नपर्ने विषयचाहिँ चाकरी, चाप्लुसी र चुकली थियो । यी अर्काको जरा खन्ने मान्छेलाई दानव भन्थे ।
सौजन्य ः नरेन्द्रराज प्रसाई