केही महिनायता शून्य रहेको कोरोना भाईरस फेरी देखिन थालेको छ । पछिल्ला दिनहरुमा सुदूरपश्चिम प्रदेशमा भाइरसको सङ्क्रमण पुनः देखिन थालेको हो ।
पछिल्लो २४ घन्टामा छ जनामा कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गर्दा सङ्क्रमण दर बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ ।
सरकारले कोभिड–१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको छ । स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने बताइएको छ । कोरोनाको सङ्क्रमण भएकाले सङ्क्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लगाउन पाइन्छ ।
कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा छ लाख ३९ हजार चारसय ८८ को नमूना परीक्षण भइसकेको छ । यीमध्ये ६१ हजार आठ सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।