युरोपेली युनियनलगायत युरोपको चार वटा मुलुकका राजदूतहरु सुदुर पश्चिम गएका छन् ।
उक्त टोली तीन वटा कूटनीतिक नियोगको गाडीमा धनगढी हुँदै हिजो बेलुकी डोटीको बुडर पुगेका हुन् ।
त्यहा पुगेर जर्मन राजदूत थोमस प्रिन्ज, फिनल्याण्डका रिना हेइक्का,फ्रान्सका गिलेस बोर्बाओ र युरोपियन युनियनका राजदूत नोना डेप्रेजले उपमहानगरपालिकाका उपमेयर कन्दकाल रानासँग भेटघाट गरेका थिए ।
तर विदेशीसँग गरिएको भेटघाटबारे प्रदेश सरकार र संघीय सरकारलाई पूर्वजानकारी गराइयो वा गराइएन भन्ने विषय बाहिर आएको छैन ।
फिनल्याण्डको सहयोगमा सुदूर पश्चिममा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (आरभीडब्लुआरएमपी) सञ्चालनमा छ । त्यस्तै हलियाको पुनस्र्थापना तथा जीविकोपार्जन र शसक्तिकरणमा समेत फिनल्याण्ड सरकारले सहयोग गर्दै आएको छ ।
राजदुतहरुको टोलीले जर्मन सरकारका तर्फबाट डडेल्धुरा अस्पताल र सेती प्रादेशिक अस्पतालमा गरिएको सहयोग र त्यसको प्रभावका बारेमा पनि जानकारी लिनेछ । जर्मन सरकारले ग्रेप परियोजना मार्फत सुदूर पश्चिममा सहयोग गर्दै आएको छ ।
युरोपियन युनियनका राजदूत र उसका सदस्य राष्ट्रहरुका राजदूतहरुले यसअघि गत वर्ष कर्णाली प्रदेशको भ्रमण गरेका थिए ।