सुदूर पश्चिमको समाचार आएको छ, ४० वर्षीया महिलाले छोराको चाहनामा पटक–पटक गर्भपतन गराएकी छिन् । चार छोरीलाई जन्माइसकेकी उनले फेरि पनि गर्भपतन गर्न बाध्य भएकी छिन् ।
हुन त यो समस्या मुलुकै भरिको हो । राजधानीमा समेत भ्रुण जाँच गर्ने र छोरी भए गर्भपतन गराउने प्रचलन बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकले पनि यो कुरा पुष्टि हुन्छ । राजनीति र देशैभरिका ठूला सहरहरुमा गल्लीपिच्छे ‘यहाँ सुरक्षित गर्भपतन गरिन्छ’ भन्ने बोर्डले गर्भपतन कतिसम्म महामारीको रुपमा फैलिसकेको छ भन्ने बुझ्न सकिन्छ ।
कानुनतः १२ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । हाडनाता करणी, शिशु र आमाको ज्यान जान सक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ सातासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ । यही कानुनको दुरुपयोग गरेर डाक्टर, स्वास्थ्यकर्मीदेखि आम रुपमा गर्भ पहिचान गर्ने, गर्भपतन गर्ने क्रम महामारीको रुपमा बढेर गएको हो ।
लिङ्ग पहिचान आफैमा कानुनको उल्लंघन हो । तर स्वास्थ्यकर्मीले खाएको सपथ बिर्सेर अथवा लोभमा फसेर यस्ता कर्म गर्ने गर्छन् । जसका कारणले गर्भपतन समस्या बढेर गएको छ ।
अन्धविश्वास बढी रहेको पहाडी र तराई भेगमा भू्रण हत्याको मुख्य कारण छोरीप्रति गरिने परम्परागत रुपमा रहेको विभेद र सामाजिक व्यवस्थाको बोझ नै हो ।