काठमाडौं । डा.रामवरण यादव ८ वर्ष राष्ट्रपति बनेका समाजवादी । धनुषाका जमिन्दार । गरीवलाई उपचार गरिदिउँ भन्ने समाजसेवाको भावना नभएका र राष्ट्रले दाना, छाना र नानासमेत दिनुपर्ने अर्वपति ।
झलनाथ खनाल पूर्व प्रधानमन्त्री । डल्लुमा करोडौंको घरमा बस्ने, सधैं टाइसुटमा ढल्कने तर सर्पपाल्नदेखि उपचारका नाममा पटक पटक गरीब जनताले तिरेको कर, राज्यकोषबाट उपचार खर्च लिइरहने सर्वहारा नेता । भर्खरै खबर आयो, यी दुईे २ करोड ७५ लाख उपचार खर्च बुझेछन् । गरीवले उपचारका नाममा कुनै सुविधा नपाउने, यिनले जापानदेखि भारतसम्म उपचार गर्ने, पटक पटक राज्यबाट खर्च लिइरहने । यस्ता समाजवादी र सर्वहारावादी भएपछि नेपालको लोकतन्त्र न कल्याणकारी हुनसक्छ, न कुनै उद्योगधन्दा नै खुल्छ ।
बुद्धिजीवी रत्नसंसार श्रेष्ठ लेख्छन्– यी निर्लज्जहरू, देशका जुका यिनै हुन् । विपन्न निमुखाले औषधोपचार गर्न पाएका छैनन्, यिनीहरूलाई करोडौं ?
राज्यकोषको दुरूपयोगका सम्बन्धमा कानुनका ज्ञाता, बुद्धिजीवी युवराज संग्रौला लेख्छन्– जनता पानी हुन्, शासक नौका । पानीले नौकालाई तै¥याउँछ तर डुबाउँछ पनि । उसको जीवनमा चुनौती सिर्जना गरियो भने विद्रोह गर्छ ।
नेपालमा एउटा वर्न अस्पतालसम्म खुल्न सकेन । भएका अस्पतालमा भिआइपीका लागि छुट्याइएका अस्पतालका कोठा सधैं ताला मारेर राखिन्छ । अति विरामीहरूले डाइलाइसिसका सुविधा समेत पाएका छैनन् । सामान्य अपरेशनका लागि समेत विरामीहरू वर्षौं रोग पालेर बस्नुपरेको छ । सत्तासीन र प्रभावशालीहरू यसरी राज्यकोष लुटिरहेका छन् । लुट्नु नै लोकतन्त्र हो त ?
राजनीतिले समाजलाई सहज र शासनलाई सुशासित बनाउनुपर्ने हो । ०४६ सालपछि जसरी कुशासन बढ्यो, ०६३ सालको परिवर्तनपछि कुशासन अझ धेरै बढेको छ । आमनागरिकले पाउनै पर्ने आधारभूत सुविधासमेत पाएका छैनन् । तर रामवरण र झलनाथ जस्ता दर्जनौं नेताले हरेक महिना राज्यकोषबाट उपचार खर्च लिइरहेका छन् । यो कस्तो राज्य हो, जसले गरीब जनताले तिरेको राज्यकोषलाई हण्डी बाँडेजसरी बाँडेर सत्ता टिकाइरहेका, चलाइरहेका छन् ? – फणिन्द्र राज पन्त