Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

पाचौं कम्युनिष्ट सफल होलान्?

२५ सोमबार , आश्विन २०७२१० बर्ष अगाडि

०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा एमाओवादी मेजर पार्टी बनेको थियो। यही आधारमा उनले गिरिजाप्रसादलाई बिस्थापन गरेर प्रधानमन्त्री बनेका हुन्। तर उनले प्रधानसेनापति माओवादी राख्छु भनेर गरेको निर्णय राष्ट्रपतिलाई अस्वीकार्य भएपछि नैतिकताको आधारमा राजीनामा दिएका थिए। यसरी प्रचण्डलाई सिंहदरवार फापेन। काठमाडौं र रौतहटबाट चुनाव हारेका पात्र थिए, एमालेका माधवकुमार नेपाल। प्रचण्डले उनलाई मनोनित सभासद बनाएर प्रधानमन्त्रीको कुर्सीमा बसाले। तिनै माधवकुमार नेपाललाई हटाउन प्रचण्डले आमहड्तालसमेत गरेको दृश्य देखियो। आमहड्तालमा प्रचण्ड रेखा थापासँग नाचेको सबैलाई सम्झना छ। माधव नेपाल बल्ल बल्ल हटे, एमालेकै झलनाथ खनालालाई प्रचण्डले सत्तामा पुर्‍याए। झलनाथ यति कुख्यात भए कि एमालेले नै टाउकोमात्र किन एमाले, माओवादीमै गए हुन्छ समेत भने। माधव र झलनाथ दुबैलाई भारतको गोटीको आरोपसमेत लाग्यो।
झलनाथपछि डा.बाबुराम भट्टराईले १८ महिना १८ दिन प्रधानमन्त्री चलाए। उनले झण्डै उत्तर र दक्षिणतिर नेपाललाई मर्ज गराइदिएका। विप्पा सन्धि गरे, सारा एयरपोर्टको व्यवस्थापन भारतलाई दिनलाग्दा यिनी नराम्ररी बदनाम भएर गए। भारतको बनारसमा भएको एक सम्मेलनमा भारतले दिएको सुझावका आधारमा प्रचण्डले पार्टीको हेटौंडा महाधिवेशनबाट प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकारको प्रस्ताव पारित गराएर खिलराज रेग्मीको सरकार बनाउने भूमिका खेले। चुनाव भयो, चुनाव स्वयं प्रचण्डका लागि बुमेर्‍याङ बन्यो।  
नेपाली कांग्रेस ठूलो पार्टीका रुपमा चुनाव जितेर आयो। एमाले, राप्रपाले साथ दियो र सुशील कोइरालाले सरकार बनाए। असोज ३ गते संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री बन्नु थियो, असोज २४ को निर्वाचनले एमालेका अध्यक्ष केपी ओली बहुमतीय प्रधानमन्त्री बन्न पुगेका छन्। अर्थात एमाओवादीका प्रचण्ड र बाबुराम, एमालेका माधवकुमार, झलनाथ र केपी ओली प्रधानमन्त्री बने। केपी ओली जनआन्दोलनको परिवर्तनपछिका पाँचौ कम्युनिष्ट प्रधानमन्त्री हुन्। यो अवधिमा कांग्रेसका सुशील कोइराला प्रधानमन्त्री बनेका हुन्, असफलताका साथ उनको पतन भइसकेको छ। अव अग्नि परीक्षा सुरु भएको छ– पाँचौं कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीको। र, सबैतिर प्रश्न छ– केपी ओलीले देशका जल्दाबल्दा समस्या समाधान गर्न सक्लान्?
ओलीका प्राथमिकता के छन्?
राजनीतिक सहमति निर्माण, संविधानको कार्यान्वयन, भूकम्पपछिको पुननिर्माण, जनताका असन्तुष्टिको संवोधन, नाकावन्दीको असहजतालाई सहज बनाउनु, सबैको साथ र समर्थन जुट्ने निर्णयहरु गर्नु ओलीका प्राथमिकता र चुनौति दुबै हुन्। केपी ओली आफैले यी चुनौतिहरुलाई सामना गर्न सबैसँग मिलेर मिलाएर अघि बढ्छु पनि भनेका छन्। देश निकै दर्दनाक स्थितिमा पुगिसकेको छ। देशले त्राण पाउनु भनेको ओलीको सफलता हो। जनताले ठूलै आशा राखेका छन् ओलीबाट, जनतालाई आश्वस्त पार ओलीजी।