Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

फर्केला राजतन्त्र ?

०५ सोमबार , माघ २०७१११ बर्ष अगाडि

स्याल कराउनु र बाख्रा हराउनु एक्कैपटक भएको छ। दोस्रो संविधानसभा असफल हुनु, विपक्षीहरु राजतन्त्र फर्काउने साजिस भइरहेको छ भनेर कुर्लिनु, हिन्दूराष्ट्रका लागि सिंगो देश नै सडकमा उत्रिएको स्थितिमा वीपी पुत्र प्रकाश कोइरालाले ६–७ महिनामै राजतन्त्र फर्कन्छ भन्ने भविष्यवाणी गरिदिएका छन्। के हुने हो, के? भन्ने अन्यौल भइरहेको बेलामा प्रकाश कोइरालाको भनाई पनि समाजमा चर्चाको विषय बनेको छ। यस्तो बेहाल भन्दा त त्यही ठिक भन्नेहरु बढेर गएका छन्। पूर्वराजा चितवनदेखि झापा पुग्दा सबै दलका कार्यकर्ताले फूलमालाले स्वागत गरेको दृश्य र राजावादी जनताले 'राजा आउ देश बचाउ' भनेर लगाएको नाराबाजीले पनि महत्व पाउन थालेका देखिन्छ।
प्रकाश कोइराला वीपी पुत्र हुन्। उनले भनेका छन्: ६,७ महिनामा राजतन्त्र फर्किन्छ। कसरी भन्ने जिज्ञासामा उनको दावी छ– अव भद्रगोल बढ्छ, सैनिक शासन आउन सक्छ। सिमाना मिचिदा वा देशमाथि हस्तक्षेप हुँदासमेत संविधानअनुसारको आदेश पर्खेर बस्ने नेपाली सेनाले राजनीतिमा हात हाल्छ भनेर प्रकाश कोइरालाले कसरी भने? राजतन्त्रले हुर्काएका रुकमांगद कटवाल प्रधानसेनापति हुँदा त राजावादी दुलाबाट निस्किएनन् र राजालाई एक्लै पारेर राजतन्त्र सिध्याए। यस्तो सेनाले सत्ता हातमा लिने? प्रकाश कोइराला कांग्रेसबाट टाढा छन्, राजावादी बनेका छन् तर राजतन्त्रका लागि उनी यस्तै पानी कुरा गरिरहन्छन्। अरुले चपाइदिए निल्ने कुरा गरेर प्रकाश कोइराला राजनीति गरिरहेका छन्। उनको राजनीतिक विश्वास र शक्ति केही देखिदैन। तर उनका विचार धेरैले सुन्ने गर्छन्।
उनले ज्ञानेन्द्रलाई होइन, हृदयन्द्र र हिमानी गद्दीमा बस्ने घोषणा गरेका छन्। ज्ञानेन्द्रवादी प्रकाश कोइरालाले किन यस्तो कुरा गरे, यसमा चाहिं आशंका गर्न सकिन्छ। एकजना भारतीय जनता पार्टीका नेताले केही महिनाअघि गोप्य कुराकानीमा ग्रिवाणी अर्थात श्रृतीको छोरीलाई बेबी क्वीन बनाउँदा कस्तो हुन्छ? भनेर जिज्ञासा राखेको विषयलाई प्रकाश कोइरालाले ट्वीस्ट गरेका छन्। त्यसपछि नेपाली राजनीतिमा धेरै पानी बगिसक्यो, दिल्लीको भाजपा सरकारसमेत नेपाली राजनीतिलाई कता मोड्ने, कता जोड्ने भनेर अनभिज्ञ रहेका रिपोर्ट आइरहेका छन्। ऊँट किस तरफ करवट लेती है– प्रतिक्षा सबै गरिरहेका देखिन्छन्। आखिर छिमेकी जो प्रभावशाली छ। प्रकाश कोइरालाले सुशीललाई असक्षम भन्दै केपी ओली कुशल प्रशासक बन्नसक्ने भविष्यवाणी गर्दै पहिला राष्ट्रपति शासन लागू हुने बताएका छन्। वीपीका अर्का पुत्र सशांक कांग्रेसमा निरन्तर सभासद छन्। उनी राजतन्त्र आवश्यक ठान्छन् तर उनको हाइट कांग्रेसलाई हाँक्ने उत्तराधिकारीको रुपमा भइसकेको छैन। सुजाता र शेखर हावादारी नेता भएकाले सुशीलपछि कांग्रेस कोइराला परिवारबाट मुक्त हुने सम्भाबना देखिदैछ। प्रकाश कोइरालाले संविधान बन्दै बन्दैन भनेर ठोकुवा गरेका छन्। उनका अनुसार हिन्दूराष्ट्रसहितको ०४७ सालकै संविधान आउँछ।  यो मुलुकमा राजतन्त्र आउँछ, लेखेर राख्नोस् तपाई। कसैले रोक्न सक्दैन। हिन्दुस्तानले पनि रोक्न सक्दैन।