Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

जे गर्नुपर्छ, नेपालीले नै गर्नुपर्छ

०१ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

शाश्वत शर्मा - -
नेपाली कांग्रेसमा बीपी पुत्र शशांक कोइराला पनि छन्, जो पटक पटक चुनाव जित्छन् र बीपीका सिद्धान्त नीतिको हत्या हेरिरहन्छन् । शशांकलाई नजिकबाट चिन्नेहरु उनलाई अनेक उपनामले चिन्छन् । आफ्नो बोली र आचरणमा कहिल्यै सन्तुलन राख्न नसक्ने अस्थिर नेता हुन् यी बीपी पुत्र ।
यिनले आगामी राष्ट्रपतिको निर्वाचनलाई मध्यनजर राखेर नै होला नेपाललाई हिन्दुराष्ट्र बनाइनु पर्छ भनेर एकपटक फेरि तुरुपको एक्का फ्याँकेका छन् । नवलपरासीको आफ्नै निर्वाचन क्षेत्रमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उनले नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भनेर अठोट लिएको खुलासा गरेका हुन् । उनले भनेका छन् ‘जनमत संग्रह गरेर भए पनि नेपाललाई हिन्दुराष्ट्रमा परिणत गर्नुपर्छ ।’ उनले यस्तो कुरा संविधानसभाका बेलामा, ०७४ को निर्वाचनताका पनि बोलेका थिए । उनका बोलीमा एकरुपता छैन, बोलीमा अडिन पनि सक्दैनन् ।
यतिबेला कांग्रेसका हातमा सबै कुरा हुँदा प्रचण्डलाई प्रधानमन्त्री नदिंदा सबैकुरा गुमाउन पुगेको छ । यस्तो अभर परेका बेलामा प्रतिपक्षमा समेत बस्न नसकेर सत्तालाई समर्थन गरेर जबरजस्ती प्रतिपक्षमा बस्नुपरेको छ । कांग्रेसको च्याँखे राष्ट्रपतिमा छ, सभापति देउवा, महामन्त्री गगन थापा, नेता शशांक कोइरालाहरु अनेक प्रयास गरिरहेका छन् । यसको छिनोफानो फागुन १३ मा उमेदवारी दिने र प्रस्तावक समर्थकमा को बस्नेछ, त्यसमा र्भिर हुनेछ । स्मरणीय छ, कांग्रेसले बीपीको सिद्धान्तलाई फालेर आफ्नो विधानमा नै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता राखिसकेको छ । यस्तो कांग्रेसले हिन्दुराष्ट्र ल्याउने रे ?
कांग्रेस जनताको आँखमा छारो हालेर सत्ताको खेल खेलिरहेको छ । बेला बेलामा चाहिने नचाहिने अखाद्य बस्तु खाएर अस्पताल जानुपर्ने र होलबडी चेकअप गर्नुपर्ने यी बीपी पुत्रको भनाई र विचारलाई गम्भीर रुपमा लिन नहुने भन्छन् कतिपय विश्लेषकहरु । कतै संविधान कार्यान्वयन गर्नुपर्छ, यही संविधानको विकास गरेर अघि बढ्नुपर्छ भन्ने, कतै हिन्दुराष्ट्र हुनुपर्छ भनेर मुद्दा उछाल्ने यी बीपी पुत्रलाई बीपीको सिद्धान्तको समेत हेक्का छैन । बीपीको सिद्धान्त र बैचारिक धरातलमा अस्थिर यिनका कुराले कुनै पनि हिन्दुवादीलाई उत्साहित पारेको छैन । राष्ट्रपति विद्या भण्डारीले केही वर्षमा यो पद आलंकारिक होइन भनेर प्रमाणित गरिसकेकाले पनि कांग्रेसलाई राष्ट्रपति पद नभइभएको छैन । यसकारण पनि हिन्दुवादी र राजावादीले शशांकजस्ता मौसमअनुसारको कुरा गर्ने नेताको पछाडि विश्वास गर्ने कुनै जरुरत छैन । केही विश्लेषकहरु केही समयपछि यिनैलाई कांग्रेसी नेतृत्व सुम्पने सम्भाबना बताउँछन् भने राप्रपाले मनिषा कोइरालालाई आफ्नो दलको अध्यक्ष घोषणा गर्नसक्ने बताइरहेका छन् । गत मंसिर ४ मा सम्पन्न चुनावमा मनिषा कोइरालाले राप्रपाका लािग मत माँगेर त्यसको छनक दिइसकेकी छिन् । यी दुबै कोइराला बीपीका उत्तराधिकारी हुन् । यी दुबैमा आशंका गर्ने ठाउँ बढी छन् । सुशील कोइरालाको मृत्युलाई स्वभाविक भनेर तत्कालै वक्तव्यबाजी गरेका शशांक कोइराला र यसअघि पटक पटक कांग्रेसको पक्षमा मत माँगेकी मनिषा कोइरालाहरु अहिले त्यसै कित्ता परिवर्तन गरेका होइनन्, यिनीहरु योजनाअनुरुप नै अगाडि आएका हुन् भन्ने विश्लेषकहरु पनि छन् । यिनले हिन्दुराष्ट्र र राजतन्त्रका लागि अगाडि बढ्छन् भनेर विश्वास गरिहाल्नु उत्तेजित हुनुमात्र हुनेछ । यहाँ यति धेरै हिन्दु र राजतन्त्रवादी संस्थाहरु छन् कि तिनीहरु नामअनुसारको भन्दा पनि हिन्दु र राजतन्त्र विरोधी क्रियाकलापसँग सम्वद्ध देखिएका पनि छन् । राप्रपाका तत्कालीन प्रभावशाली नेता, जो मकवानपुरका हुन्, मकवानपुरमा एउटा चर्च उद्घाटन गरेको समाचारलाई सम्झिने हो भने व्यक्तिगत लाभका लागि यहाँ जोसुकैले जे पनि गर्नसक्ने रहेछन् भन्नुपर्ने हुनसक्छ । जो राजतन्त्र र हिन्दुवादको नारा लगाउँछन्, तिनीहरु यही संविधानको सपथ खाएर चुनावमा गए, सरकारमा गए, संसदमा गएर पनि खासै भूमिका नामअनुसारको देखिन्न । समयअनुसार चल्ने र परिस्थितिअनुसार लाभलाई शिरोधार्य गर्ने यस्ता कथित नेता र पात्रहरु नेपाल र नेपालीका लागि उपयोगी हुनै सक्दैनन् ।
त्यसो त भारत उडिसाका गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वीत आउँदा फागुन ४ गते महाशिवरात्रिको अवसरमा काठमाडौं आउँदैछन् । यो समाचारले हिन्दु र राजावादी एकथरिलाई निकै हौस्याएको छ । ती शंकराचार्यले नेपालमा रहँदा बडे बडे नेताहरुलाई भेट्ने, विभिन्न कार्यक्रममा सरिक हुने कुराले ती अवोध नेपालीहरु अलि बढी नै रोमाञ्चित भएका छन् । तर ढुक्क होऔं, यी शंकराचार्यबाट पनि केही हुनेवाला छैन । यिनले पनि नेपाल, हिन्दुराष्ट्र हुनुपर्छ घन्छन् अनि भारततिरै फर्कन्छन् । जस्तो कि पटक पटक भनिदै र सुनिदै आएका छौं, जे गर्ने हो, त्यो नेपालीले आफै गर्ने हो । पात्र, समय परिस्थिति अनि रणनीतिक चालबाजी फगत पानीका फोका हुन् । शंकराचार्यहरुलाई देवत्वकरण गर्न जरुरी छैन । नेपालीहरु भारतमा मोदी प्रधानमन्त्री बन्नासाथ नेपालमा राजतन्त्र फर्कन्छ भन्थे, ८ वर्ष भइसक्यो मोदीसत्तामा आएको, राजतन्त्र फर्केन । आदित्यनाथले पनि केही गरेनन् । नेपाली आपैmले गरे केही हुनेछ, अन्यथा...?