Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पूर्व पश्चिम बहुउद्देश्यीय नहर परियोजना सम्बन्धी अवधारणा

१२ बिहिबार , माघ २०७९२ बर्ष अगाडि

साध्यबहादुर भण्डारी - -

पानीको महत्वः– २
पानीको उपयोग जीवनचक्र बहुआयामिक छ । खानेपानी, सिँचाई, जलविद्युत, पर्यावरणीय चक्र, वातावरण संरक्षण, जलमार्ग, आमोद प्रमोद र जमीनको स्वच्छताको लागि पानीको अत्यन्तै ठूलो महत्व छ । पृथ्वीमा अरु धेरै कुराहरूको विकल्पहरू छन् तर पानीको विकल्प पानी मात्रै हो । हामी सिँचाईमा पेट्रोलियम पदार्थ प्रयोग गर्न सक्दैनौँ । खानेपानीको लागि पानी बाहेक अन्य कुनै विकल्प छैन । पर्यावरणीय चक्रलाई स्वच्छता राख्नको लागि पानीको नै सबैभन्दा ठूलो महत्व छ । नेपालको जलचक्र विश्वमा नै नमुना योग्य छ । नेपाललाई बाह्रै महिना हराभरा राख्नको लागि हिमनदीको ठूलो महत्व छ । जुन हिमनदीमा पानीलाई निरन्तरता दिनको लागि मनसुनको वर्षाको अत्यन्तै महत्व छ । नेपाललाई पानीको महत्वको चर्चा गर्दा मनसुन सुरु भएदेखि अन्त्य नभएसम्म पानीका विशाल स्रोतहरू बन्दछन् । त्यो लगभग १०० दिनसम्म कायम रहन्छ भने २६५ दिन चाहिँ हामीलाई पर्याप्त पानीको स्रोतको अभाव देखिन्छ । त्यसकारण हामीले अव पानी सम्बन्धी अवधारणाहरू बनाउँदा वर्षाको पानीलाई उपयोग पनि गर्ने र सञ्चित पनि गर्ने साथै हिउँद तथा सुख्खा याममा त्यस्तो सञ्चित पानीलाई समुचित उपयोग गर्ने नीति बनाउन अत्यन्तै जरुरी छ । अहिलेसम्म पानी सम्बन्धी हाम्रो नीति जलविद्युतमा मात्र केन्द्रित रहेकोले त्यसैसँग मात्र हेरेर जोड्ने पुरातन चिन्तन हावी रहेको देखिन्छ । त्यसैले अव नेपालको अमूल्य सम्पदा जलस्रोतलाई उपयोग गर्ने बारेमा बहुपक्षीय, बहुआयामिक र बहुउद्देश्यीय योजनाहरू बनाउनु पर्दछ । त्यसो भयो भने मात्रै हामीले सहि ढंगले जलस्रोतको उपयोग गर्न सक्दछौँ । सोही कारणले पूर्व पश्चिम बहुउद्देश्यीय नदी जडान प्रणालीलाई निम्नानुसार उपयोग गर्न सकिने गरेर आँकलन गर्न सकिन्छ ।
० जल यातायात (पानी जहाज सञ्चालन गर्ने)
० बाह्रै महिना सिंचाई सुविधा उपलब्ध गराउन सकिने (तराइ र पहाडको जमीनमा)
३) भूमिगत जलभरण प्रणालीको विकास भई चुरे, त्यसको असपासको क्षेत्र, नेपालको तराई र भारतको युपी विहार र पश्चिम बंगालमा समेत व्यापक पर्यावरणीय संरक्षण र हरियाली वातावरण निर्माण हुने ।
० नदी, बाढी तथा पहिरो नियन्त्रण भई धेरै जमीन उकास आउने ।
० विद्युतीकरण (जलविद्युत, वायुउर्जा र सौर्य विद्युत)
० खानेपानी
० मत्स्यपालन 
० वन्यजन्तुलाई पानी सहजीकरण
० जलचर प्राणीको संरक्षण
० रिभर डाइभर्सनमा कमी
० रेल्वे निर्माण र नदीको व्यवस्थापनमा सहयोगी
० निर्माण सामग्रीको उत्पादन
० विद्युतीय रेल लाइन तथा सडकको लागि चाहिने सम्पूर्ण निर्माण सामग्रीको व्यवस्थापन
० वातावरण र पर्यावरण संरक्षण
चुरे पहाडको अस्तित्वः
हाम्रो नेपालको दक्षिणी भेगको तराई सुरु हुनुभन्दा अगाडि पूर्वदेखि पश्चिमसम्म लमतन्न परेर दक्षिण महाभारत पर्वत श्रृङ्खलाको काखमा चुरे पर्वत श्रृङ्खला अवस्थित छ । यो पर्वत नेपालको सबै भन्दा कान्छो पहाड हो । जुन १०० मि. देखि १००० मि. सम्म अग्लो रहेको छ । यो २ करोड देखि ४ करोड वर्ष भित्र बनेको नयाँ पहाड हो । तराईलाई चाहिने सबै पानी चुरे श्रृङ्खला भएर नै निस्कन्छ । नेपालमा ३ प्रकारका नदी प्रणालीहरू छन् । हिमालबाट निस्कने हिमनदी, महाभारत श्रृङ्खलाबाट निस्कने पहाडी नदी र चुरेबाट निस्कने खहरे नदी । यी नदीहरू मध्ये हिमनदी र पहाडी नदीबाट निस्कने पानी कहिल्यै पनि सुक्दैनन् तर चुरेबाट निस्कने खहरे नदी मनसुन कम हुनासाथ सुक्दछन् । अर्को विशेष कुरो हिमनदी र पहाडी नदीबाट आएका पानी चुरे पहाड भित्र सञ्चित भएर रहेका हुन्छन् । त्यसैले चुरेलाई तराइको पानी टंकी पनि भनिन्छ । नेपाल हिमाल, पहाड र तराई तीन तरेली भएर बनेको छ । १००० मि. भन्दा माथि र ३००० मि. सम्मको क्षेत्रलाई महाभारत पर्वत श्रृङ्खला भनिन्छ भने त्यस भन्दा माथी हिम श्रृङ्खला भित्र पर्दछ । सबै नदीहरू चुरे भएर तराईमा निस्कने भएकोले राष्ट्रिपति चुरे संरक्षण आयोजना पनि नदी प्रणालीमै आधारित भएर बनेको छ । चुरेको माटो, ढुङ्गा, गिटी, वालुवा फुस्को प्रकारको भएकोले वर्षाको समयमा अत्याधिक धेरै मात्रामा पहिरो आई गिटी, वालुवा बगाउने गरेको छ र कतिपय ठाउँमा त खेतीपाती गरिरहेको जमिन भन्दा माथिबाट खोला बगेको हामी देख्दछौँ । नेपालको समृद्धिको लागि तराईको सिँचाई अत्यन्तै महत्वपूर्ण कुरा हो । नेपालमा अन्नको अभाव देख्नुमा पर्याप्त जमिन भएर पनि यसमा सिँचाई नहुनु नै प्रमुख कारण रहेको छ । वर्षेनी एकातिर चुरेको भु–स्वखलनको कारणले तराइको जमीनहरू बगरमा परिणत हुँदै जाने र अर्को तिर अन्नको अभावनमा प्रति वर्ष खाद्य समाग्री तरकारी, फलफुल जस्ता उपभोग्य वस्तु मात्रै २ खरब भन्दा बढी आयात हुँदै आएको छ । अन्नको भण्डारमा बसेर अन्नको अभाव मुलुकले झेलिरहेको छ । त्यस्तै जनसंख्याको एउटा ठूलो हिस्सा कुल्ली र दरवानको रुपमा भारतमा र सस्तो श्रम बेचेर खाडी तथा अन्य मूलुकहरूमा श्रम पलायन भएर जीवन निर्वाह गर्ने ७५÷८० लाख जनसंख्याले पारिवारिक संकट झेलिरहेका छन् र जो विदेशमा रहन्छन् । यो हाम्रो मुलुकमा देखापरेको कारुणीक र लज्जास्पद स्थिती हो भन्ने लाग्छ । त्यसैले गर्दा चुरेको संरक्षणमा नै नेपाली जनताहरूको प्राण अल्झिएको छ । अब हामीले बहुउद्देश्यीय नहर प्रणालीलाई विकास गर्दा २ खण्डमा विकास गर्न सबै भन्दा उपयुक्त र बुद्धिमानी ठहर हुन्छ । जसका विशेष कारणहरू छन् ।
सम्भाव्यताः
क) मेचिदेखि गण्डकसम्मः सम्भाव्यताको दृष्टिकोणबाट हेर्दा पूर्वको मेचीदेखि गण्डकसम्मको क्षेत्रमा पहिलो खण्डको कार्यक्रम सहजै सम्पन्न गर्न सकिने देखिएको छ । मेची नदी समुन्द्र सतहबाट ११० मिटर उचाइमा अवस्थित छ, कोशी चतरा १२० मि. उचाइमा अवस्थित छ, बाग्मती १२२ मि. उचाईमा रहेको छ भने त्यहाँबाट सिधै पर्साको विरुवागुठी÷महादेवपट्टि १२५ मि. मा रहेको छ, गण्डक (नारायणी नदी) १२७ मि. उचाइमा रहेको छ, उक्त नहरलाई गण्डक नदी मा पु¥याउनको लागि पथलैया क्षेत्रबाट विरुवागुठी हुँदै निर्मलवस्ती÷सुवर्णपुरबाट ठोरीको एउटा सानो १५० मि. जति अग्लो ढिस्को फोरेर चितवन माडीको रिउ नदीमा सहजै मिसिने देखिन्छ । त्यस अवस्थामा सरदर १२५ मि. को लेभलमा मेचीदेखि गण्डक नदीसम्मको क्षेत्रमा १०० मी. चौडाईको र ७÷८ मिटरसम्मको गहिराइमा यो नहर तयार हुन सक्दछ । पानीको बहावलाई मध्यनजर राखी त्यस पानीको लेभल ३.५ देखि ४ मि. गहिराई कायम गर्दा ३००० मेट्रिक टन अथवा १५० कन्टेनर सामान बोक्ने भेसल जहाज एकदम आरामसँग आवतजावत गर्न सक्दछ । १०० मिटर चौडाईबाट एकसाथ ५ वटा जहाज पूर्वबाट पश्चिम, पश्चिमबाट पूर्व जाने व्यवस्था गर्न सकिन्छ । भेसल जहाजको चौडाई ७.५ मिटरसम्मको हुन सक्दछ । त्यस अवस्थामा मेचीदेखि गण्डक नदीसम्म पुरै क्षेत्रमा जहाजबाट सामान ढुवानी र यात्रुहरूलाई आवतजावतको सुविधा पु¥याउन सकिन्छ । यो एकदमै सम्भावना बोकेको क्षेत्र हो । त्यसमा आवश्यक पानीको आपूर्ति गर्नका लागि मेची नदीदेखि गण्डक नदीसम्मका सानातिना खोलानालादेखि त्यस बीचमा पर्ने सबै नदिहरूलाई हामी उपरोक्त नहर प्रणालीमा संयोजन गर्न सक्दछाँै र हिउँदको महिनामा हुन सक्ने पानी आपूर्तिको अभावको अवस्थालाई मध्यनजर राख्दै सप्तकोशी नदीका स्रोत नदीहरूमा जस्तैः अरुण, तमोर, दुधकोशी, सुनकोशी, भोटेकोशी, इन्द्रावती, तामाकोशी आदि नदीहरूमा बेसीका खेतीयोग्य जमीनहरूलाई संरक्षण हुने गरी मझौला प्रकारका जलाशययुक्त आयोजनाहरू निर्माण गर्न सकिन्छ । यो प्रकृयाबाट सुख्खा मौसममा हुन सक्ने विद्युतको अभावलाई पनि पुरा गर्दछ भने वर्षाको पानी सञ्चित गरी हिउँद र सुख्खामा उक्त नहर प्रणालीमा छोड्न सकिन्छ । वर्षाको पानीलाई नियन्त्रण गर्न नसक्दा पहिरो जाने र करोडौँ मेट्रिक टन माटो, ढुङ्गा, गिटी, वालुवा बगाएर तराईमा मात्र होइन भारतको युपी, विहार र पश्चिम बंगाल हुँदै बंगालको खाडीमा थुपार्ने गरेको छ । सो नहर प्रणालीको विकास गरिसकेपछि ती माटो, ढुंगा, गिट्टी, बालुवाहरू चुरे पर्वत श्रृङ्खलामा नै संरक्षित हुनेछन् । पूर्णतः तराई क्षेत्रमा बाढी नियन्त्रण हुन्छ र पहिला बाढी लागेको हजारौ हेक्टर जमिनहरू खेती योग्य जमिनमा परिणत हुनेछन् । यो विभिन्न ठाउँहरूमा सानो तिनो घुम्तिहरू घुमाउनु पर्ने भएकोले मेचीदेखि गण्डकसम्मको दुरी करिब ४७३ कि. मि. लामो रहन सक्छ । यसको मुख्य स्रोतको रुपमा कोशी नदी नै हो र सहायक स्रोतको रुपमा कमलानदी तथा बाग्मती नदीलाई लिन सकिन्छ ।
ख) महाकालीदेखि गण्डकसम्मः दोस्रो खण्डमा महाकालीदेखि गण्डकसम्मको क्षेत्रलाई लिन सकिन्छ । महाकाली नदी समुन्द्र सतहबाट २२० मि. उचाइमा रहेको छ त्यस्तै कर्णाली २०४ मि. उचाइमा रहेको छ, बबई १८७ मि., सिक्टा वा पश्चिम रापती १७१ मि., कपिलवस्तु १३२ मि. र गण्डक १२७ मि. मा आएर टुङ्गिन्छ । यसबाट हामी के निष्कर्ष निकाल्न सक्छौँ भने नेपालको तराइको जमीन पश्चिमबाट पानीढलो हुँदै पूर्वमा गएर टुङ्गिन्छ तर हाम्रो विशिष्टता के छ भने विगतमा हामीले कोशी, गण्डकी, महाकाली, कर्णाली सबै नदीहरू बारे एक÷एक ढंगले भारतसँग सम्झौता गरेर टुङ्ग्याइसकेका छौँ । अहिले हामी उपरोक्त सन्धी सम्झौता खारेज गरेर हामी हाम्रो आयोजना अगाडि बढाउन सक्ने अवस्थामा छैनौं । त्यसैले गर्दा भोलि भारतसँग गरिएका सम्झौताहरूको पुनरावलोकन गर्ने र माथिल्लो तटीय क्षेत्रका जनताको पानी उपयोग पहिला गर्न पाउने विश्वव्यापी सार्वभौम अधिकारलाई सुनिश्चित गर्दै हामीले बहुउद्देश्यीय नहर प्रणालीलाई अगाडि बढाउन सक्छौँ । त्यसो गर्दा पश्चिममा ब्रह्मदेव मण्डीदेखि गण्डक नदीसम्म हामीले सहजै र सूचारु ढंगले पानी जहाज चलाउन सक्दछौँ ।