एमसीसीअन्तर्गत अमेरिकी सेना नेपाल आउने हल्ला निराधार भएको अमेरिकी राजदूत डिन थम्पसनले स्पष्ट पार्नुभएको छ । पुस २७ गते सञ्चारकर्मीहरूसँग एक विशेष छलफल गर्ने क्रममा उठेको एक प्रश्नमा महामहिम राजदूत डिनले ‘एमसीसी परियोजना नेपालीको लागि नेपालले नै रोजेको र यसको कार्यान्वयन पनि नेपालले नै गर्ने भएकोले अमेरिकी सेना नेपाल आउने कुनै सम्भावना नै छैन ।’ भन्दै ‘एमसीसी परियोजनामा काम गर्न आउने अमेरिकी नागरिकहरूको सुरक्षाका लागि अमेरिकी सेना आउने भन्ने हल्ला समेत सरासर निराधार हो । म स्पष्ट पार्न चाहन्छु, जसरी नेपालस्थित हाम्रा दूताबासका कर्मचारीहरू र यहाँ कार्यरत् अमेरिकी पीस कोरअन्तर्गत यहाँ कार्यरत् अमेरिकी नागरिकहरूको सुरक्षा नेपाल सरकारले गरिरहेको छ, एमसीसीको सुरक्षा पनि नेपाल सरकारले नै गर्छ ।’
‘एमसीसीअन्तर्गत नुवाकोटको रातमाटे, काठमाडौंको लप्सिफेदीमा निर्माण गर्न लागिएको विद्युत सबस्टेशनबारे स्थानीयले विरोध गरेको र दाङमा बन्न लागको सडकका लागि स्थानीय प्रशासनको जानकारी विना नै सयौं रूख काटिएको भन्ने खबर बारे एमसिए नेपालका अधिकारीहरूले सम्बन्धित ठाउँमा गएर ती घटनाहरूबारे सत्यतथ्य बुझिरहेका छन् । अनावश्यक रूपमा वातावरण विनास गर्ने काम हामीलाई कदापी स्वीकार्य छैन । स्थानीयसँगै सरसल्लाह गरेर काम अघि बढाउने हाम्रो नीति हो । समस्या समाधान गर्न एमसीएले लागिपरेको छ ।’
महामहिम राजदूत थम्पसनले ‘एसपीपीमा सहभागी नहुने नेपालको निर्णयलाई अमेरिकाले शतप्रतिशत सम्मान गरेको छ । उक्त निर्णयले दुई देशबीचको मैत्री सम्बन्धमा कुनै असर पार्नेछैन । नेपालले आफ्नो आर्थिक, राजनीतिक वा अन्य कुनै पनि नीति लिँदा नेपालीको सर्वोत्तम हित, आर्थिक उन्नतिका साथै विकासका लागि ध्यान दिनुपर्ने हुन्छ, त्यसमा अमेरिकाले हस्तक्षेप गर्ने सवाल नै रहदैन ।’