काठमाडौं । बिगत ५ वर्षमा के सिकियो, आगामी ५ वर्ष कसरी अगाडि बढ्ने, के के काम गर्ने, जनताका अपेक्षालाई कसरी संवोधन गर्ने भन्ने कुनै पनि विषयले निर्वाचन प्रचार प्रसारमा स्थान पाएन । घोषणापत्रमा असम्भव आश्वासनहरू देखियो, ससाना जनअपेक्षालाई संवोधन गर्ने विषय नै परेनन् ।
निर्वाचन प्रचार प्रसारमा गालीगलौज व्यापक सुनियो । गठबन्धन र प्रतिपक्षीबीच असंसदीय तरिकाले अपमान गरेको देख्दा लाग्यो ०४६ सालपछिको दुर्घटना र ०६५ सालपछिको अभ्यासले पनि राजनीतिक दलहरूमा परिपक्वता आएकै रहेनछ । एकथरि संविधान बचायौं भन्छन्, अग्रगमन भन्छन्, अर्कोथरि गठबन्धनभित्र मितेरी साइनो हो, चुनाव परिणामपछि भत्किन्छ भन्छन् । गठबन्धनवाला अर्को ५ वर्षसम्म गठबन्धन कायम रहन्छ, समृद्धि ल्याइन्छ भन्छन्, एमाले कांग्रेससँग मिलेर आगामी सरकार बन्न पनि सक्छ भनिरहेका छन् । अर्थात्, एकल बहुमतको सम्भाबना रहेन, आगामी दिनमा पनि नेपालले पाउने मिलिजुली सरकार नै हो ।
अचम्म त के देखियो भने चुनाव जित्न र जिताउनका लागि भोट दिनोस् म प्रधानमन्त्री बन्छु, मन्त्री बनाइदिन्छु भनेर जनतालाई भ्रम छर्न पनि भ्याए । सचेत बर्ग भन्छन्– चुनाव प्रचारकै बेलामा प्रधानमन्त्री मन्त्री बाँडिसके, चुनाव परिणामपछि के बाँड्छन्, के खान्छन्, के ख्वाउँछन् होला ?
देशलाई पिरोलेको भ्रष्टाचारले हो । अनैतिकता र बेइमानीले हो । कुशासनका कारण जनताले साना साना काम पनि घूस नख्वाई गराउन सक्ने अवस्था छैन । यो स्थितिमा सुशासन दिने, इमानदारी बन्ने र जनताप्रति जवाफदेही हुन्छु भन्ने एकजना पनि नेता वा दल निस्किएनन् । मात्र यो र त्यो गरिदिन्छु भनेर जनादेश लिन मासुभात ख्वाउने र पैसा बाँड्नेहरू पनि देखिए । अर्थात् लोकतन्त्र यो निर्वाचनमा पनि सशक्त र पाको भएको अनुभूत हुनसकेन । धनपति र बाहुबलीकै खेलो देखियो ।
यति दयनीय अवस्था भनेको चुनावमा समेत भित्रभित्रै घूसपैठ गराउने विदेशीले चलखेल बढी गरेको अवस्था हो । इतिहासमै पराधीन नरहेको हाम्रो यो मुलुकले स्वतन्त्रता गुमाउला कि भन्ने खतरा पनि देखियो । समानता र बिसंगति हटाउने प्रतिवद्धता कतै कहीँ देखिएन ।
राजनीतिमा अपराधिकरण पन्पियो, नेताको सम्मान नेताले गुमाए । नैतिकता र इमानको राजनीतिक आधार मजबुत भएन । जनताको दुःख कष्ट हटाउने अठोट आएन । महान नेता एकजना पनि देखिएनन् । चुनाव जित्नका लागि जस्तोसुकै अपवित्र गठबन्धन गर्ने र आश्वासन दिने काममात्र देखियो । जनता भनेको राष्ट्र हो । राष्ट्र बनाउने अर्जुनदृष्टिसहितको खाका, योजना एउटा पार्टी वा नेताले सार्वजनिक गर्न सकेनन् ।
जनता र सत्ताका बीचमा रहेको मियो हो नागरिक समाज, बुद्धिजीवी, मिडिया । यिनले पनि सशक्त भूमिका खेल्नुभन्दा पार्टीका पछि लाग्नु र अतिशयोक्ति प्रचारमै भुलेको अवस्था दुर्भाग्यजनक नै रह्यो ।
स्वतन्त्र र अनुभवी व्यक्तिहरू भन्छन्– कस्तो निर्वाचन प्रचार र नेताका अनुहार र तिनका आश्वासन सुनियो–देखियो, फोहरी राजनीतिले सबै नीति सिध्यायो । मूल नीति नै सिद्धिनु भनेको राजनीतिमा टाट पल्टिनु हो ।
हुनसक्छ, जनताले केही गर्नुपर्छ, राजनीति व्यवसाय होइन भन्ने स्वच्छ युवा सोच भएका व्यक्तिलाई चुनाव जिताए भने सुधारको सुरूआत हुनसक्छ । यसकारण परिणाम सबैको प्रतिक्षाको विषय भएको छ ।