Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सन्तोष र बेलायतमा नेपाली खाना

१४ सोमबार , कार्तिक २०७९२ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ - -
 नेपाली काविलियतले विश्वमा नेपाललाई चिनाउने हो, नेपालको विशेषता बुझाउने हो र नेपालप्रति सम्मान आर्जन गर्न नेपालीले लाग्नुपर्ने हो । यही कर्तव्यपथमा छन्– सन्तोष साह । सन्तोषले बेलायतमा नेपाली उत्पादनको तयारी खानाको आकर्षण बढाएर नेपाली खाना संस्कृति र संस्कारको प्रचारसमेत गरेका छन् ।
नेपाली खानाका लागि चर्चित सेफ हुन् सन्तोष साह । उनले नेपाली पर्व पर्वमा खाइने क्वाँटीदेखि आलुदम, आलुतामा, दालभात, चनाबोडीदेखि अनेक परिकारका नेपाली खानालाई ब्राण्ड बनाएर बेचिरहेका छन् । सबैभन्दा प्रशंसनीय कार्य भनेको सन्तोष साहले ब्रिटिश संसद हाउस अफ लर्ड्सको एक ऐतिहासिक कक्षमा नेपाली खाना परिवारको प्रदर्शन गर्दै विश्वभरि नेपाललाई चिनाउने काम गरेका छन् । यसपछि जुन जुन परिकारका खाद्य त्यहाँ प्रदर्शन गरिएको थियो, ती सबै प्रकारका परिकार बेलायती बजारमा उपलब्ध हुन थालेका छन् । मूल कुरो त बेलायती र पर्यटनका लागि बेलायत पुगेका विश्वभरिका जमातले नेपाली खानाका परिकारलाई स्वादिष्ट मानेका छन् । यथार्थमा नेपालप्रति आकर्षण बढाउने र नेपालको पर्यटनबारेमा प्रचार गर्ने अवसर पनि सिर्जना गरेका छन् सन्तोष साहले ।
सन्तोष साह बीबीसी माष्टर सेफका उपविजेता पनि हुन् । यतिबेला सन्तोष शाहसंगको सहकार्यमा नेपाली खाद्यान्न प्रयोग गरी तयार गरिएका नेपाली खानाका परिकारहरू बेलायतस्थित अधिकांश नेपाली पसल तथा केही भारतीय पसलहरूमा पनि उपलब्ध रहेको नेपाल फुड्सका ब्रान्ड डाइरेक्टरले बताएका छन् ।
बेलायती संसदको एक ऐतिहासिक कक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सेफ साहले भनेका थिए– नेपाली खानालाई विश्वभरि चिनाउने अभियानकै फलस्वरूप आफूले नेपाली स्वादको रेसिपीहरू तयार गरेको हो । यो तयारी खाना हो । यो खाना बनाउन निकै सजिलो छ । पानी उमाल्नोस्, पुरै प्याकेटको खाने कुरा पानीमा खन्याउनुस् र केहि मिनटपछि तपाईं यसलाई सुपको रूपमा रोटी वा भातसँग खान सक्नुहुन्छ । यी खानामा मासुजन्य वा कुनै पनि किसिमको डेरी उत्पादनहरू प्रयोग नगरिएकाले भेजिटेरियनहरूले विश्वस्त भएर खान सक्ने छन् । 
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले यो उद्यम नेपाली खाना, संस्कृति र व्यापार प्रवद्र्धन गर्ने एक निकै राम्रो प्रयास भएको बताउँदै नेपाल र बेलायतको व्यापार सीमित छ र हामी त्यो अरू बढोस् भन्ने चाहन्छौं भनेका थिए । राजदूत महोदयले नेपाली खाना विश्वभरि पु¥याउन शुभकामना पनि दिए ।
नेपालमा चुनाव हुँदैछ । कुनै पनि पार्टी, नेता वा उमेदवारले किसानलाई जोडेका छैनन्, कृषीलाई जोडेका छैनन् । ठूला ठूला विकासका सपना देखाएर आश्वासन बाँडिरहेका छन् । पार्टी वा व्यक्तिका घोषणापत्रमा जनताको आवाजको संवोधन छैन । जनता के चाहन्छन्, युवा किन विदेशीन बाध्य छन्, विदेशीनेक्रम तीब्र छ, कुनै पनि उमेदवारको लक्ष्य जनताको आवाज संवोधन गर्ने अथवा युवा पलायनलाई रोक्ने उद्देश्यनिहीत छैन । हरेक उमेदवारको लक्ष्य जसरी पनि चुनाव जित्ने छ । यही कारण नेपाल हातमुख जोड्नेदेखि लगाउने लुगासम्ममात्र होइन, आधुनिक उत्पादनहरूमा समेत आयातित मुलुक बन्न पुगेको छ । आत्मनिर्भरता कसरी सिर्जना गर्ने भन्ने विषय नै चुनावको एजेण्डा नभए पछि कसरी देश उँभो लाग्छ ।
यस दृष्टिबाट हेर्दा सन्तोष साहले नेपाली किसानलाई जोड्नु गज्जब कार्य हो ।