धर्मरत्न श्रेष्ठ - -
ठूला पार्टी गठबन्धनका ५ दल र एमालेले लोकतन्त्रका नाममा जुन तमासा देखाएका छन्, त्यो अपाच्य छ । प्रत्यक्ष र समानुपातिक दुबै चुनाव प्रणालीमा यी ठूला दलले लोकतन्त्रका सबै सीमा मिचेका छन्, लज्जा पनि लज्जित हुनेगरी ।
त्यसै पनि पत्नी, बहिनी, सासु, ससुरा, दाई, देवर, छोरी बुहारीलाई उमेदवार बनाएका दलहरूले नौ दम्पत्तिलाई नै चुनावी मैदानमा उतारेका छन् । त्यसमाथि समानुपातिकमा पनि सिमान्तकृत, महिला, दलितलगायतका अधिकार खोसेर ठूला दलका ठूलै नेताहरूले संसदमा जाने सुरक्षित राजमार्ग बनाएका छन् । सिधै देखिन्छ, अनुभव गर्न सकिन्छ, नेपाली राजनीति परिवारवादमा आधारित भयो ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रत्यक्ष उमेदवार, श्रीमती आरजु देउवा समानुपातिकमा । गृहमन्त्री बालकृष्ण खाण प्रत्यक्ष उमेदवार, श्रीमती मञ्जु खाण समानुपातिकमा । शिक्षामन्त्री देवेन्द्र पौडेल प्रत्यक्ष चुनाव लड्दै छन्, श्रीमती सुशीला श्रेष्ठ समानुपातिकमा । खेलकुद मन्त्री महेश्वर गहतराज चुनाव लड्दै छन्, उनकी श्रीमती पार्वती गहतराज प्रदेशको समानुपातिकमा ।
यतिमात्र होइन, माओवादीका प्रभावशाली नेता वर्षमान पुन र उनकी श्रीमती ओनसरी घर्ती दुबै प्रत्यक्षमा चुनाव लड्दैछन् । एमालेका रघुवीर महासेठ र उनकी पत्नी जुली महतो पनि चुनावी मैदानमा छन् । जसपाका नेता अशोक राई र पत्नी सुशीला श्रेष्ठ पनि प्रत्यक्ष र समानुपातिकका उमेदवार हुन् । ज्यानमारा मुद्दामा जेल जीवन बिताएका रेशम चौधरी र उनकी श्रीमती रञ्जिता श्रेष्ठले पनि चुनाव लड्दै छन् । यद्यपि रेशम चौधरीको उमेदवारी निर्वाचन आयोगले खारेज गरेको छ । माओवादी नेता खगराज भट्ट र श्रीमती मञ्जु बम समानुपातिकमा छन् ।
५ लाख, ७ लाख, ९ लाख क्याडर भएको पार्टीमा यसरी बुढापुरानाले मात्र ओगट्ने हो भने युवाको पालो कहिले आउने ? प्रत्यक्षमा पनि प्रभावशालीकै राइँदाइँ, समानुपातिकमा पनि ठूलै नेताको भाग नपुग्ने हो भने १२६ जातिको नेपालमा १५–२० जातिको र ठूला नेताहरूको मात्र हैकम चलिरहने भो । अरूले पालो कहिले पाउने, राज्यसँग बाँकी जातजातिले जोडिने कहिले ? लोकतन्त्र उदार हुनुपर्ने हो, लोकतन्त्रकोमात्र होइन, संविधानको मर्म र मर्यादासमेत कुल्चदा लोकतन्त्र र संविधानलाई बहुसंख्यक नेपालीले अपनत्व ग्रहण गर्नै सक्दैनन् । त्यसै पनि संविधानप्रति आपत्ति उठिरहेको छ, यसप्रकारको चुनावले त लोकतन्त्र केही नेताहरूको मौजाजस्ता हुनपुगेको देखिन्छ ।
न समानता रह्यो, न सामाजिक न्याय ? श्री ३ राणा शासनको नयाँ शैलीको चुनावले लोकनेताहरूको अनुहारमा दोषमात्र देखियो । लोकतन्त्रलाई चलाउन चाहिने लोकलज्जा र इमान सम्म पनि देखिएन । १५ वर्षपछि पनि नेताहरूले उही सामन्तीपन देखाएका छन् ।