Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भुटानले समेत आफ्नो सीमामा पर्खाल ठड्यायो

२४ सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

भारतकै सुरक्षाछातामुनी रहेको भनिएको भुटानले समेत आफ्नो चौहद्दीलाई सुरक्षित पार्न थालेको छ ।
ड्रागन किङ्ग अर्थात राजा जिग्मे केशर नामग्यालले भारतसँग चलाखीपूर्ण कूटनीतिक दक्षताका साथ व्यवहार गरेर आफ्नो सीमालाई पर्खाल नै लगाएर सुरक्षित पार्न सुरू गरेको हो ।
राजा भनेको शोषकमात्र हुँदैनन् । राजा भनेका सबैभन्दा बढी राष्ट्रवादी हुन्छन्, राष्ट्र छ र राजा हुन पाइन्छ भन्ने देशभक्तिपूर्ण सोचकै कारण सानो हिमाली मुलुक भुटानले आफ्नो सीमालाई सुरक्षित पार्ने निर्णयमा पुगेको हो । भुटानको यो निर्णय र काममा भारतले कुनै आपत्ति जनाउन सकेको छैन ।
नेपालमात्र त्यस्तो देश हो, जसले आफ्नो १८ सय ५० किलोमिटर लामो खुसा सीमालाई नियमन गर्नुपर्छ भनेर भारतलाई मनाउन सकेन । भारतकै सहमतिमा गठन भएको इपीजीको रिपोर्ट समेत भारतले बुझ्न मानेन, नेपालले त्यो रिपोर्ट सार्वजनिक गर्न पनि सकेन । नेपालका नेताहरू कति राष्ट्रवादी छन् भन्ने कुरा कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले हजम गरिसक्दा पनि नक्सा समातेर बसेका छन्, भूभाग हकभोगमा ल्याउने बहस नै गर्दैनन् । भारत रिसायो भने खान्की खोसिने भय छ हाम्रा नेताहरूलाई । भारत रिसायो भने चुनाव जित्न सकिन्न, सत्ता र शक्ति नासिन्छ भन्ने डर छ नेताहरूलाई । आफू उभिएको धर्तीको रक्षा गर्न नसक्ने पनि नेता हुन्छन् र ? हाम्रा नेता यस्ता छन् कि नेपालको भूभाग कति हो, सीमा कस्तो छ भन्नेसम्मको ज्ञान पनि छैन । जो आफ्नो साँध सीमाको विषयमा जान्दैनन्, उनीहरू लोकतन्त्रवादी, अग्रगमनकारी भनेर नाक फुलाउँछन् । नेपालका जस्ता नेता कुनै पनि मुलुकमा नहुन् । किनकि १९७५ को सिक्किमको खतरा सधैं राष्ट्रियतामाथि घुमिरहेको हुनेछ ।
भुटानको सीमा स्पष्ट छ । भारतको असमसँग २६७ किलोमिटर, अरूणाचल प्रदेशसँग २१७ किलोमिटर, पश्चिम बंगालसँग १८३ किलोमिटर, सिक्किमसँग ३२ किलोमिटर समेत ६९९ किलोमिटर सीमा जोडिएको भुटानले यसरी फलामे डण्डीमा ढलान गरेर सीमामा सिमेन्टेड पर्खाल बनाउन थालेको छ । ठूलो पर्खाल बनाएपछि अतिक्रमणको समस्या सदाका लागि हल हुनेछ । सीमाको विषयमा चिन्ता लिनुपर्ने छैन, विकासमा लाग्ने र सेवाग्राहीलाई सेवा दिएर सुशासन कायम गर्न सकिन्छ भन्ने भुटानको आत्मविश्वास बढेर गएको छ ।
अति व्यस्त फुन्चोलिङ् क्षेत्र यही पर्खाल निर्माणका कारणले चकमन्न भएको छ । त्यसो त भारतले अगस्त ८, १९४९ मा दुवै देशबीच शान्ति र हस्तक्षेप नगर्ने नाममा गरिएको सन्धि मातहत भुटानको रक्षा र विदेश मन्त्रालयको जिम्मा भारतले लिएको छ । यही सन्धि अन्तर्गत ३३६ मेगावाटको चुखा जलविद्युत आयोजना भारतको सहयोगमा बनाइयो र भुटानले यस योजनाबाट बढीभन्दा बढी लाभ लिएर आर्थिक उन्नति गर्दै गएको छ । भुटानको वर्तमान परक्यापिटा इन्कम १० हजार ४ सय असी डलर छ । नेपाल विश्वमै दोस्रो ठूलो जलविद्युत शक्ति भएको मुलुक भएर पनि अझै लोडसेडिङको समस्या छ, परक्यापिटा इन्कम ४ हजार ६० रहेको छ । विश्वमै नेपाल–भारतबीच १८८० किलोमिटर खुला सिमाना छ । यही खुला सिमानाका कारणले नेपालको उन्नति हुन नसकेको हो ।
माओवादी जनयुद्ध समाप्त भयो । गृहयुद्ध छैन । लोकतन्त्र छ, संविधान छ, संसद र सरकार पनि छ । कानुन व्यवस्था भने खलबलिएको छ । कोही पनि विश्वासयोग्य छैनन् । इमान र नैतिकताको अभाव छ । अव्यवस्थित व्यवस्थाले अराजकता बढेको छ । यसकारण विदेशीले हेप्ने, दख्खल दिने, अनैतिक बन्न बाध्य पार्ने कार्य बढ्दै गएको देखिन्छ । ६६ हजार हेक्टर भूमि अतिक्रमण गरिसकेपछि भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्वाप्पै खाइसक्यो । यति ठूला ठूला क्रान्ति गर्ने पार्टीहरू सत्ता चलाउँछन्, १५ वर्षमा न देश सुरक्षित रह्यो, न नेपालको स्वाधीनता र सार्वभौमिकता नै सुरक्षित रहेको छ । बिस्तारै नेपाल शक्तिराष्ट्रहरूको मल्लयुद्ध गर्ने अखडा बन्दै गएको छ, खतरा बढेको छ ।