फणिन्द्रराज पन्त–
एकसिंगे गैंडासहित २०४ वन्यजन्तु मरेछन् र यी वन्यजन्तु मरेका हुन् कि मारिएका ? माल पाएर चाल नपाएपछि के गर्ने ? दुर्लभ वन्यजन्तु भनेका नेपालका सम्पदा हुन् तर बिनासलीला जारी छ ।
चोरी सिकारीबाट पनि मारिएका छन्, मानवीय लापरबाहीबाट पनि वन्यजन्तुको मृत्यु भएको छ । १२ वन्यजन्तु मर्नुको कारण नखुलेको निकुञ्जले बताएको छ । ठूलो संख्याको यो विनासबारे राष्ट्रिय स्तरमा सरोकार र चासो कहिले राखिन्छ ? छानबिन किन हुन्न ?
सूचनाअनुसार संरक्षित वन्यजन्तुको सूचीमा सुचिकृत दुर्लभ एकसिंगे गैंडा ३७ वटा मरेका छन् । चोरी सिकारी, मानवीय कमजोरीले पनि गैंडा मरेका छन् । मारिएका छन् । यो गम्भीर विषय हो ।
राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ६ वटा बाघ विभिन्न कारणले मरेका छन् । १० वटा अर्ना पनि मरेका छन् । जरायो र बँदेल १०÷१० र सरकारी घरपालुवा दुई हात्ती मरेका छन् भने भालु, चितुवा, गौरीगाई, निलगाई, गिद्ध लगायतका वन्यजन्तु एक÷एक वटा मरेका छन् । घडीयाल गोही चार, लगुना पाँच, मगर गोही तीन, रतुवा पाँच, अजिंगर दुई लगायत साना प्रजातीका जनावर पनि मरेका छन् । निकुञ्जले उद्धारका कुरा बढाइचढाइ गरेको छ । वन्यजन्तुको संरक्षण कसरी गर्न सकिन्छ, के के चाहिन्छ, सुरक्षा प्रवन्ध र हेरचाहमा के कति कमजोरी भए भन्ने बारेको स्वर सानो छ ।
निकुञ्जका अनुसार वन्यजन्तुको चोरी शिकारीको मुद्धामा गत आवमा ५४९ जनालाई पक्राउ गरेको छ । सात जना व्यक्ति संरक्षित वन्यजन्तुको चोरी शिकारीमा संलग्न थिए । गैंडा, बाघ, हात्ती लगायत २७ प्रजातीका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ । पक्राउ परेकालाई के कारवाही भयो, आइन्दा वन्यजन्तुको सुरक्षामा के कस्तो नीति अपनाइयो, केही पनि बोलिएको छैन ।
त्यस्तै, बाघको छाला बिक्री खरिदको कसुरमा विगत १६ वर्ष देखि फरार तनहुँ जिल्ला देवघाट गाउँपालिका चुन्दुली बस्ने विष्णु बहादुर गुरूङलाई पक्राउ गरिएको हो । सबैभन्दा ठूलो समस्या वन फडानी, सिकारी, वन्यजन्तु व्यापारी हुन् । जबसम्म कडाभन्दा कडा कारवाही गरिन्न, वन्यजन्तुको विनास भइरहने छ ।