काठमाडौं । वैवाहिक अंगीकृत नागरिकता दिने विधेयक पारित गरेपछि प्रचण्ड हौसिएका छन् । उनी सर्लाही पुगे, जनकपुर पुगे र भने अब ५–७ लाख नागरिकले नागरिकता पाउने भएका छन् । हामीले ढोका खोलिदिएका छौं, मधेशको गुनासो संवोधन भएको छ ।
तर यता माओवादी नेता नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक गठबन्धनले पारित गरेकोमा तीब्र रोष प्रकट गरेका छन् । उनको प्रश्न छ– गठबन्धन सरकारले नागरिकता सम्बन्धि विधेयक यसरी ल्याउन मिल्छ, पास गराउन हुन्छ ?
यो घटना माओवादीभित्र वैचारिक, सांस्कृतिक स्खलनको प्रश्न हो । निष्ठा कमजोर हुँदै गएको समस्या हो । तात्कालिक राजनीतिक स्वार्थबाट प्रेरित हुँदै गएको समस्या हो । यसबाट चुनौति र खतरा पैदा भएको छ ।
प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रिय सभामा छलफलमा जानुपर्ने हो, त्यसलाई छलफलमै नलैजाने र जसरी पनि पारित गराएर राष्ट्रपतिकोमा पठाउने गठबन्धनबीच मतैक्य बन्दैछ ।