भुटानसँग नेपालको सीमा जोडिएको छैन तर भारतले ट्रकमा हाली हाली शरणार्थीलाई नेपालको सीमामा ल्याएर छाडिदियो । वर्मासँग पनि नेपालको सीमा जोडिएको छैन, यतिबेला बर्मेली शरणार्थी रोहिंग्या नेपालमा समस्या बनेका छन् ।
सुरक्षा निकाय भन्छ– ७ भन्दा बढी देशका शरणार्थी छन् नेपालमा । भारतका त कति छन्, कति ? बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानदेखि इरान, इराकसम्मका शरणार्थी नेपालमा थुप्रिएका छन् । यी शरणार्थी सबै भारत भएर नेपाल पसेका हुन् । नेपालसँग सीमा जोडिएका कुनै पनि मुलुकका शरणार्थी ठूलो समस्या होइनन्, समस्या भारतले खडा गरिदिने गरेको देखिन्छ ।
जुन हालत १९९० मा भुटानी शरणार्थीको थियो, त्यही हालत रोहिंग्याहरुको देखिन थालेको छ ।
शरणार्थीहरुले विद्रोह सुरु गरेका छन् । शरणार्थीको दर्जा खोजेका छन् । राष्ट्रसंघका प्रतिनिधि कार्यालयमा धर्ना दिन थालेका छन् । आखिर भार पर्ने नेपाल सरकारमाथि नै हो । यिनीहरुले मुस्लिमका अधिकारका बारेमा पनि कुरा झिकेका छन् र आक्रोसित मुद्रामा देखिन्छन् । सुरुमा केही व्यक्ति आएका थिए, केही वर्षमै यिनका सन्तान बढेर हूल बनिसकेको अवस्था छ । भारतले नाकावन्दी लगाएका बेलामा धार्मिक दङ्गा भड्काउन खोजिएको थियो । निकै ठूलो धनजनको क्षति भयो । भारतमा जस्ता हिन्दु मुसलमा दङ्गा नेपालमा नपसोस् भनेर सचेत हुनुपर्छ । किनकि नेपालमा धार्मिक सहिष्णुता छ । नेपालमा रहेको धार्मिक सहिष्णुता र संयमता खलबलिन नदिन, दुस्प्रभाव छिर्न नदिन विशेष सुरक्षा व्यवस्था मिलाउनु उचित हुनेछ ।