Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

अर्को पल्ट सहिद भै दिउला

०१ शुक्रबार , आश्विन २०७२११ बर्ष अगाडि

म यो मुलकको
सार्वभौम सत्ताको मालिक
राजकिय सत्ताको मालिक
नेपाली जनता,

के भयो त
मलेसियामा ज्यान गुमाउदैछु,
अरवको मरुभूमिलाई
आफ्नो रगतले
आफ्नो पसिनाले
भिजाउदै छु ,
तर म मालिक हुँ

अब म सामन्ती अवशेषको
शासित हैन,
आफ्नो तानाशाह आफै चुन्छु
हरेक हक लडेर लिन्छु
सबै कुराको समाधान
सडक रोकेर
अर्काको टाउको ठोकेर,
शान्तिपूर्ण तोडफोडले गर्छु
म राजकियसत्ताको मालिक हुँ

मलाई अब झुक्याउन सक्दैनौ
मेरो चेतनास्तर बढेको छ
मेचीमा, कन्काईमा र कोशीमा
कमलामा, बाग्मतीमा र नारायणीमा
गण्डकी, कर्णाली र महाकालीमा
धेरै पानी बगीसकेको छ
हो मेरो चेतनास्तर बढेको छ

मलाई थाहा छ,
संघर्ष नगरी, नरोई
आमाले पनि
दुध चुसाउदिनन
म जान्दछु , संघर्ष विनाको प्राप्ती
दिनेको षड्यन्त्र हो
नरोई दुध चुसाउने आमा
आमा हैन षड्यन्त्रकारी हो

उनको यो माया चोखो हैन
भविष्यमा मलाई
गुलाम बनाउने षड्यन्त्र हो
मलाई उल्लु बनाउन नखोज
मेरा महान नेताले सिकाई सकेका छन
संघर्षको महिमा बताई सकेका छन
नमागी ख्वाउने आमा
पक्कै षडयन्त्रकारी हो
म यो षडयन्त्रमा अव फस्दिन

सामर्थ्य हुन्जेल लडेर लिन्छु
मुलुकका शोषकको
उद्योग व्यवसायमा
कल कारखानामा
खेतीपातीमा
कतै पनि आफ्नो शोषण हुन दिन्न

बरु विदेशबाट बाकसमा
बन्द भएर आउन मञ्जुर छ
किनभने म सार्वभौमसत्ताको मालिक हुँ
म किन नेपालमा कसैको कामदार बनौ
यहाँ पसिना वगाउदा
मेरो इज्जत जान्छ
म रेमिट्यान्स पठाउन सक्दिन
मेरा महान नेताले मेरो प्रशंसा गर्दैनन

मैले चिन्ता लिनै पर्दैन
पाखुरीमा बल,
मुटुमा हिम्मत कायम छ
हरेक कुरा संघर्षले लिनेछु
जुन दिन कमजोर बनुँला
अर्को पल्ट सहिद भै दिउला

स्वयम्भुनाथ कार्की
विराटनगर १