Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मलको हाहाकार किन ?

०६ सोमबार , असार २०७९२ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ - -
०४६ सालपछिको बहुदल स्थापनापछि भएका उद्योगधन्दा निजीकरण भए । ०६३ सालपछि उद्योगधन्दा बेचिए, एउटा पनि उद्योग खोलिएन । लोकतन्त्रमा भ्रष्टाचारको जति चर्चा भयो, उद्यम–रोजगारीको विषय छायाँमा प¥यो ।
यसकारण त १५ वर्षदेखि किसानले बाली लगाउने बेलामा मल पाउँदैनन् । हरेक वर्ष बजेट छुट्याइन्छ, ठेकेदार नियुक्त हुन्छन् । ठेकेदारले पेश्की पनि लिन्छन् तर मल ल्याउँदैनन् । मल ल्याउने पैसाको दुरुपयोग हुन्छ, अन्तै लगानी गरेर ठेकेदारले कमाउँछन् । जिम्मेवार व्यक्तिहरुले कमिशन खान्छन्, मुद्दा लुकाउँछन् ।
बिगत ३२ वर्षदेखि यही क्रम चलिरहेको छ । कृषिप्रधान देश दाल, चामलमात्र होइन, गुन्द्रुकसमेत चीनबाट आयात गरेर खानुपर्ने अवस्थामा आइपुग्यो ।
ठूला नेता, सर्वहाराका नेता, किसान नेता, मजदूरका नेता, उद्योगीसमेत पालैपालो सत्तामा पुगेका छन् । सत्ताधिकारी बनेका छन् । जब सडकमा हुन्छन्, क्रान्तिकारी कुरा गरेर थाक्दैनन् । सत्तामा पुगेपछि भ्रष्टाचारमा पौडीखेलेर बस्छन् ।
मल किन आएन, मल कारखाना किन खुलेन, जिम्मेवारी कोही लिंदैनन् ।
यस्ता नेतालाई हामी मत दिन्छौं, जनताप्रतिको जवाफदेहीता सुम्पन्छौं । यिनीहरुप्रति गुनासो गर्छौं । जब चुनाव आउँछ फेरि यिनैलाई मत दिएर नेता बनाउँछौं । आषाढ ४ गते धादिङको धार्केमा २ ट्रक मल किसानले खोसे । किसानलाई थाहा भयो कि ट्रकमा मल आउँदैछ । किसानले सडक जाम गरे, ट्रक रोके अनि जसले जतिसक्छ मल काँधमा हालेर लगे । जनताका सामु प्रहरीको के जोड चल्थ्यो ?
जनताले खोसेको मल नक्कली प्रज्ञापनपत्र बनाएर राजस्व छली गरेको रहेछ । प्रहरीले पिछा गर्दै आएकोमा प्रहरीभन्दा जनता चलाख भए, मल लुटे ।
जनतालाई अवैध मल ल्याएको कुरो कसै न कसैले त बतायो । सशस्त्र प्रहरी बलको सुरक्षामा मल राजधानी आउँदै थियो, लुटियो । ट्रक जफत गर्न परेन, अवैध ल्याएको विषयमा जवाफ दिन पनि परेन । कालोबजारीयाको कस्तो चलाखी ?
राजस्व अनुसन्धानका प्रवक्ता दिवस आचार्यले सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेको दुईवटा ट्रकबाट किसानले मल खोसेको सूचना पाएको बताए । अनुसन्धान गर्दैछौं भनेका छन् । सशस्त्रले किसानलाई कुटेको थियो । बाली लगाउने बेलामा पाएको मल कुटाइ खाएर पनि किसानले लिएर गए । प्रहरी दमन महिलामाथि पनि भएको थियो । जनताका सामु सशस्त्रको यो ज्यादतिले काम गरेन । किसानले मल लगिसके भनेपछि थप प्रहरी फोर्स घटनास्थल पुगेको थियो ।
गहुँ, सिमेन्ट भनेर मल ल्याएको रहस्य खुलेको छ । भनिन्छ, ठूलै पार्टी नेताले कालोबजारी गर्न मल ल्याएका हुन् । राजस्वले ती नेताको पोल खोल्न सक्ला ?