Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

विषादीयुक्त तरकारी रोक्न सक्छौं

१६ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ - - 
काठमाडौं । रूस युक्रेन युद्धका कारण विश्वमै खाद्य संकट पर्ने लक्ष्णण देखिएका छन् । प्रक्षेपणहरू भइरहेका छन् । यही यथार्थलाई ध्यानमा राखेर भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन नेपालमा भइरहेको निर्यातमा रोक लगाएको छ । गहुँ, चिनी र चिनीजन्य कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय भएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले नै जनाएको हो । भारतलाई बुझ्नेहरू भन्छन्– भारतले चामल निकासीमा पनि बन्देज लगाउनेछ । यस सम्बन्धमा नेपालले कुनै प्रतिक्रिया जनाएको छैन, मौन बसेको छ । नेपालमा हुनसक्ने खाद्यान्न अभाव कसरी आपूर्ति गर्ने भन्ने विषयमा पनि नेपाल मौन छ ।
नेपालले यही मौकामा आत्मनिर्भर हुने नीति अपनाउनु उचित हुनेछ । खासगरी खाद्यान्न उत्पादनमा जोड दिने, तरकारी तथा फलफूल भारतबाट आयात भइरहेको छ, त्यसलाई रोक्न सरकारले किसानलाई प्रोत्साहन दिनुपर्छ । भारतबाट जे जति फलफूल र तरकारी आयात भइरहेको छ, तिनमा विषादीको मात्रा बढी रहेको प्रमाणित भइसकेको छ । नेपालमा विषादी जाँच गरेर मात्रा तोक्ने सरकारले भारतबाट आयात हुने तरकारी, फलफूलमा विषादीको प्रयोग मापन गर्ने गरेको छैन । भारत रिसाउँछ भनेर खुशी पार्न जेजस्तो सामान आए पनि आउन दिने र नेपाली उपभोक्तालाई विषादी खान बाद्य पार्ने नीति नेपाल सरकारको देखिन्छ ।
हिम्मत छ भने नेपाल सरकारले जुनसुकै खाद्य सामान होस्, विषादी परीक्षण गरेर मात्राभन्दा बढी प्रयोग भएका त्यस्ता सामानलाई रोक लगाउनु पर्छ । सकिन्छ भने त पुरै मात्रामा फलफूल र तरकारी आयातमा रोक लगाएर जनमानसलाई आत्मनिर्भर हुनका लागि वातावरण बनाइदिनुपर्छ । उत्पादन र निकासी भनेपछि पटक्कै ध्यान नदिने सरकार मात्र आयात, आयातमुखी अर्थतन्त्र चलाइरहेको छ । रेमिटान्स अर्थतन्त्रका कारणले समस्यामा परिसकेको देशलाई कसरी उकास्ने भन्नेतिर सरकारले विज्ञ, विशेषज्ञ र सामाजिक ज्ञानीहरूसँग विशेष छलफल गर्नुपर्ने हो । छलफलबाट आएका निष्कर्षअनुसार नीति बनाएर बजेटमा समेत व्यवस्था गर्नुपर्नेमा नीति तथा कार्यक्रममा समेत कर्मकाण्डी छलफल गराएर बजेट ल्याउन हतार गरिएको छ । स्वयम् गभर्नर कुनै सामान आश्चर्यजनक परिमाणमा आयात हुन्छ, खपत कहाँ हुन्छ थाहा छैन भनिरहेका छन् । अर्थमन्त्री गभर्नरसँग बोलचाल पनि गर्दैनन्, यस्ता अर्थमन्त्रीबाट देशको अर्थतन्त्र कसरी समालिन सक्छ । यही हालत हो भने नेपालमा विकराल खाद्य संकट पर्ने दिन नगिचिदै गएको अनुभूत गर्न सकिन्छ ।