काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार नेपाल विदेशी लगानीकर्ताको लगानीयोग्य मुलुकको सूचीमै पर्दैन । नेपाल उद्योग परिसंघ (सिएनआई) ले आयोजना गरेको ‘मेक इन नेपाल’ समिटमा गभर्नर अधिकारीले यस्तो खुलासा गरेका हुन् ।
अहिलेसम्म मन्त्री, प्रधानमन्त्री, नेताहरु नेपाल लगानीयोग्य मुलुक रहेको र वैदेशिक लगानीका लागि आह्वान गरिएको बताउँदै आएका थिए ।
नेपाल किन लगानी सूचीमा परेन भन्ने सम्बन्धमा गभर्नरको भनाइ छ– नेपालको लगानी वातावरण, अस्थिर कर प्रणाली र अस्थिर नीतिले गर्दा लगानीको सूचीमा नपरेको हो । ‘लगानीकर्ताले कुनै पनि देशमा लगानी गर्नु पूर्व विशेष सेवा खोजेको हुन्छ, त्यसैले प्रत्यक्ष वैदेशिक लगानीमा लगानीकर्ताले खोजेअनुसार विशेष सेवा प्रवाह गर्नुपर्छ ।’ जुन नेपालमा छैन । गभर्नरका अनुसार विदेशी लगानीकर्ताको लगानी सूचीमै नपर्ने भएकाले नेपाल आउने लगानी सानातिना हुने गरेको र ठूला तथा महत्वपूर्ण लगानी नआएको हो । ‘लगानीकर्ताले खोजेको सेवा विशेष हुनुपर्छ । त्यसैले प्रत्यक्ष वैदेशिक लगानीमा लगानीकर्ताले खोजेअनुसार विशेष सेवा प्रवाह गर्नुपर्छ । आईबीएनले सन् २०१७ र १९ मा आयोजना गरेको लगानी समिटले नेपाललाई लगानीको मामिलामा धेरै अघि बढाएको छ । लगानीकर्ताले लगानी गरेपछि भोलिको १० वर्षपछि कर र राज्यको नीति कस्तो होला भनेर खोज्छन् ।’
गभर्नरले भनेका छन्– ‘विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न सहजीकरण गर्नुपर्छ । एकलविन्दु सेवा केन्द्र छ । त्यहाँबाट सबै काम सम्पन्न गर्नुपर्छ । नेपाल लगानी बोर्डले सन् २०१७ र १९ मा आयोजना गरेको ‘लगानी सम्मेलन’ले विदेशी लगानीकर्ता माझ नेपालमा लगानीको ढोका खोलेको थियो, त्यसमा विचार गरौं ।