Dharma Ratna Shrestha - -काठमाडौं । चीनका लागि प्रस्तावित राजद्यूत विष्णुपुकार श्रेष्ठले चीनका लागि राजदूत प्रस्तावित भएपछि भनेका छन्– ‘चीनलाई दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)को पूर्ण सदस्यता दिलाउन आवाज उठाँउछु ।’ राजदूतको काम यही हो ? राजदूतको काम, कर्तव्य र महत्व नबुझेका व्यक्ति किन र कसरी राजदूत नियुक्त हुन्छन् भन्ने यो ताजा उदाहरण हो ।
यस्ता व्यक्तिलाई नातापाता, व्यभिचार, लेनदेन र कोटाका आधारमा राजदूत बनाउनेहरूले मुलुकलाई बर्बाद बनाउने भए । यतिमात्र होइन, यस्ता प्रस्तावित राजदूतलाई पार्टीको फोनको आधारमा अनुमोदन गर्ने संसदीय समितिले यस्ता व्यक्तिमा कुन विशेषता देखे र आँखा चिम्लेर अनुमोदन गरेका होलान् ?
जसलाई राजदूतको सीमा र जानकारी नै छैन, ऊ राजदूत बन्ने ?
पहिले केपी ओलीको सरकारले नियुक्त गरेका २२ राजदूतहरूलाई यो गठबन्धन सरकारले फिर्ता बोलायो । यो सरकारले धमाधम गठबन्धनका सहयोगीहरूलाई भागबण्डा लगाएर राजदूत नियुक्त गरिरहेको छ । निर्वाचन आउँदैछ । गठबन्धन भत्किन पनि सक्छ । अर्को सरकार बन्यो भने उसले फेरि अहिलेको सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने पक्का छ । नेपालको परराष्ट्रनीतिमा विचलन, परराष्ट्र सम्बन्ध बलियो बनाउनु पर्ने राजदूतहरू यस्ता खाले । बर्बाद पार्ने भए नेपालको विश्व सम्बन्ध र विश्व समुदायमा नेपालको अग्लो व्यक्तित्व ।
राजदूत बन्न बनाउन लायक बुद्धिजीवीहरूको कुनै कमी छैन । राम्रालाई भन्दा हाम्रालाई राजदूत बनाउनु पर्ने नेताहरूको सोचले राष्ट्र कमजोर हुँदै गएको छ । यसमा चिन्ता र चासो राख्नुपर्ने स्वार्थ प्रेरित नागरिक समाज पटक्कै बोल्दैन ।