अधिवक्ता गंगा दहाल –
१. वैशाख ३० गते स्थानीय चुनाव हुँदैछ । स्थानीय चुनावमा पार्टीहरूले नै घोषणापत्र जारी गरेका छन् । पार्टीका शीर्ष नेताहरू नै आफ्ना उमेदवारलाई जिताउन सत्तापक्षले राज्यस्रोत र अन्य पार्टीले आफ्नै स्रोतबाट ब्यापक प्रचार गरिरहेका छन् । स्वस्थ, स्वच्छ र स्वतन्त्र निर्वाचन हुनुपर्ने निर्वाचन आयोगको आह्वानलाई बडे बडेका नेताले नै उल्लंघन गरेपछि ठाउँ ठाउँमा भिडन्त र हिंसाका घटना हुनथालेका छन् । मतदातालाई आफूले चाहेको उमेदवारलाई बिना डर, धाक, धम्की स्वतन्त्र रूपमा मतदान गर्न आह्वान गर्नुपर्ने नेताहरू मतदातालाई धम्क्याएका घटना पनि देखिएका छन् ।
२. इसाईहरू चर्चमार्फत चुनावमा जोडिएका छन् । चर्चहरूमा जोडिएका विश्वासीहरूलाई आफूले चर्चले तोकेका उमेदवारलाई मतदान गर्न निर्देश गरिरहेका पनि देखिएका छन् । चुनावी मौकामा धर्मपरिवर्तनको डढेलो डरलाग्दो रूपमा फैलिरहेको छ । कुनै दल वा उमेदवारले यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन् । संविधानले निषेध गरेको संगठित धर्मपरिवर्तन आफ्नो गाउँ नगरपालिकामा रोक्छौ भन्ने प्रतिवद्धता समेत कुनै उमेदवार वा दलले व्यक्त गरेनन् । सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ भन्ने हेक्का कसैले राखेको देखिएन ।
३. बुद्ध नेपालमा जन्मिएका हुन् । बुद्धसककंग सम्बन्धित ४ मुख्य ठाउँहरूमध्ये लुम्बिनी (सिद्धार्थको जन्मस्थल) नेपाल, भारतको बोधगया (ज्ञानप्राप्त), भारतको सारनाथ (पहिलो उपदेश) र भारतकै कुशीनगर (महापरिनिर्वाण) थलो हो । यी चारै थलोलाई जोड्ने योजनाका बारेमा राष्ट्रिय छलफल हुनसकेको छैन ।
४. यही नै बेला आगामी बुद्ध जयन्तीका दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी दर्शन गर्न आउने कार्यक्रमको चर्चा छ । सरकारले स्पष्ट नभने पनि मोदी नेपालको लुम्बिनीमा आउनु भनेको नेपालका लागि उपलब्धिमूलक नै हुनेछ । मोदी लुम्बिनी आउँदा बुद्ध नेपालमा जन्मेको बारे भारतीयले फैलाएको भ्रम निवारण हुनेछ । भारतले यही सत्य स्वीकार गरेको पुष्टिसमेत हुनेछ ।
५. नेताहरू आफ्ना पार्टीका उमेदवारलाई भोट नहाले जान्या छ भन्ने भाषामा मतदाताको सातो लिइरहेका छन् । सत्तानिकट पत्रकार संगठनहरू गठबन्धन उमेदवारलाई मत दिन वक्तव्यबाजी मै उत्रिएको देखियो । केही पेशागत र व्यवसायीक संगठनहरू पार्टीको ह्वीप मानेर छाप हान्नेहरू मतदातामा विवेक खोज्दैछन् । काशी काश्मीर अजव नेपाल अन्त कतै देखिन्न, हाम्रै देशमा देखिन्छ ।
६. ठूला पार्टीका उमेदवारहरू साना साना बालबालिकालाई ¥यालीमा समावेश गराएर नारा लगाउन लगाएको देखिदैछ । बालअधिकारको कुरा गर्ने, मानवाधिकारको कुरा गर्नेहरू दलको दलदलको भासमा छन्, पटक्कै बोल्दैनन् ।
७. यथार्थमा देश बिगार्ने बुद्धिजीवी, नागरिक समाज बढी हुन् । जो विवेकलाई दलको बन्दकी राख्ने गर्छन् अनि दलहरू भ्रष्टाचार गर्न उत्साहित हुन्छन् । देश बिगार्ने अपराधी यथार्थमा दलभन्दा बढी बुद्धिजीवी जिम्मेवार देखिन्छन् ।
८. एमाले महासचिवले दिएको जानकारी अनुसार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवाबीच दैनिकजसो टेलिफोन संवाद हुने गरेको छ । चुनावी सभाहरूमा घोचपेच र कडा प्रहार भइरहेको सुन्ने गरिएको सन्दर्भमा स्वभाविक जिज्ञासा हुनेगर्छ– आखिर यी दुई नेताबीच संवादचाहिं के कस्ता विषयमा हुनेरहेछ ?