धर्मरत्न श्रेष्ठ - - -
१. कुनै पनि उमेदवार अथवा प्रचारकले रिचार्ज कार्ड दिन्छन्, पेट्रोल, साडी, साइकल जे बाँडेपनि लिएहुन्छ । मासुभात खुवाए खाए हुन्छ । लिए खाए बापत भोट दिनु पर्दैन किनभने हामीले तिरेको करको भ्रष्टाचार गरेको सम्पत्ति बाँडेको हो ।
मुख्य कुरो भोट भ्रष्टलाई नदिउँ । हाम्रोलाई होइन, राम्रोलाई भोट दिउँ ।
२. चुनाव भ्रष्ट, नेताका नातापाता, व्यभिचारवाला र भद्र उमेदवारबीच हुँदैछ । अहिलेको चुनावमा धेरैजसो उमेदवार पार्टी अध्यक्षको कोठा कोठाबाट टिकट बितरण भएका छन् । जनताले बुझेका छन्, विवेक प्रयोग गरौं ।
३. कतिपय पालिकाका अध्यक्ष, मेयरले सुत्केरी भत्ता, गृहिणीभत्ता, बालबालिकालाई भत्तासम्मका आश्वासन दिएका छन् । सपना बाँडिरहेका छन् । सपनाको पछाडि नलागौं, सही उमेदवारलाई जिताउन नसके अर्को ५ वर्ष भ्रष्टाचारको दलदलमा फसिनेछ । हिंसा र अनियमितताको भार जनताले नै बोक्नुपर्नेछ ।
४. हिजो एक राजा थिए, आज ठूला साना राजारजौटा र तिनका पिछलग्गु हुक्के, छाते, आशेपासेसमेत राजा बनेका छन् । दुई कौडीको काम नभएका त्यस्ता राजा रजौटाहरुको विलासी जीवन देश र जनतालाई ठगेर भएको हो । आज आर्थिक अराजकता बढेको छ । टाट पल्टिन लागेको हल्ला बढेको छ । यो सबै यस्तै भ्रष्ट तत्वहरुको कारणले गर्दा भएको हो । साधनस्रोतले सम्पन्न देशलाई दरिद्र, मगन्ते, दास बनाउने यिनै नेताहरु हुन् । चिनौं, सही प्रतिनिधि छानौं ।
५. गतहप्ता होण्डुरसका पूर्वराष्ट्रपति हर्नाण्डिजलाई उनकै देशबाट थुतेर न्यूयोर्क पु¥याइयो र मुद्दा चलाइएको छ । लागूपदार्थदेखि आतंकसम्मका आरोप लगाइएको छ । सन २०१७ देखि २२ जनवरीसम्म तिनै प्रिय थिए, आज तिनैमाथि यस्तो आरोप । यो घटना १९८९ को पनामा हमला र नोरियगालाई सैनिकले पक्राउ गरेर लगेको घटनासँग मेल खान्छ । सुरक्षा र राष्ट्रिय स्वार्थका लागि शक्तिले जे पनि गर्न गराउन सक्ने देखिन्छ । यस घटनाले नेपाली नेतालाई तर्साएको देखिन्छ ।
६. यसकारण पनि नेपाली मतदाताहरुले खाना, नाना, छाना, चिनजान, नातापाता, आश्वासन अथवा भ्रमपूर्ण सपनामा फसेर प्रतिनिधि छान्नु हुन्न । देश नहेर्ने र विदेशतिर लम्पसार पर्नेहरुको हालत नोरियगा अथवा होण्डुरसबाट जान्नुबेश ।
७. २०६३ सालको परिवर्तनपछि लोकतन्त्र आयो । लोकतान्त्रिक संविधान पनि जारी भयो । आमचुनाव भएको ५ वर्ष हुनलाग्यो, स्थानीय चुनाव भएको ५ वर्ष वितेको छ । यो अवधिमा लोकतन्त्रभन्दा बढी निरंकूशता अधिनायकवाद देखियो । यो निरंकूशता, अधिनायकवाद जुका बनेर देश र जनतालाई चुसिरहेकै छ ।
८. ठूला पार्टी र नेताहरु हामी नै हाकिम हौं, कार्यकर्ता र जनताले हाम्रो फर्मान मान्नुपर्छ भन्ने मानसिकता राखेका छन् । यस्ता मुखियाहरुलाई जनताले सवक सिकाउनुपर्छ, तिमीहरु जनताका सेवक हौ भनेर तिनको कर्तव्य बुझाउनुपर्छ ।
९. अब निरंकूशता, अधिनायक र स्वेच्छाचारीलाई चड्कन च्यूरा हान्नेबेला आयो । जनताले चड्कन दिने मतादेशको लाठोले हो । हानौं बदमासहरुलाई ।
१०. नेता खराव भएकैले जनतामा चुनावप्रति नैराश्यता बढेको छ । चुनाव चाडपर्वजस्ता हुनसकेन । जनतामा हौसला छैन । तिनै चोरहरुले जित्ने त हो नि भन्ने नकारात्मक भावना बढेको छ । कार्यकर्तामा देखिएको चासो जनतामा कसरी देखिने होला, यस सम्बन्धमा निर्वाचन आयोगको बजेटले पनि काम गरेको देखिदैन ।
११. बिगत ५ वर्ष सुशासन भएन, सकसमात्र पाए जनता । कसरी सुशासन दिने हो ? भनेर जनताले प्रश्न गरेका छैनन्, उमेदवारले जवाफ पनि दिन परेन । यो साह्रै खराव परिस्थिति हो । यस्तो चालाले अग्रगमन आउनेवाला देखिदैन । बहस जरुरी छ । आगामी केही दिन सेवाग्राहीलाई सुशासन कसरी दिने भनेर चुनावका प्रतिस्पर्धीहरुलाई सोध्नैपर्छ, तिनले प्रतिवद्धता व्यक्त गर्नैपर्छ । जवाफदेहीता जनताले नै सिकाउनुपर्ने भयो । अन्यथा फेरि उही गैरजिम्मेवारपारा देखिने छ ।
१२. एमालेलाई हराउन अब एनजीओ, आइएनजीओहरु पनि अगाडि आए । ओरेक भन्ने संस्थाले महिलावादी बनेर वकालत गर्न थालेको छ । किन चुनावकै बेलामा अनेक लफडा झिक्छन् । अरु बेला चुप लाग्ने, चुनावका बेलामा अनेक आरोप लगाएर एउटा पार्टीले अर्को पार्टीलाई हराउन अनेक अक्किल झिक्नु जायज होइन । यो त एकले अर्कोलाई खुइल्याउने षडयन्त्रमात्र हो । जे जति मुद्दाहरु छन्, हिजो उठ्न सकेनन्, निदान निस्किएनन् । चुनाव होस्, चुनावपछि फेरि बहस गरेर जो दोषी छ, उसलाई कठघरामा उभ्याउन सकिन्छ । यतिबेलाको मुख्य मुद्दा भनेको शान्तिपूर्ण, स्वच्छ र स्वस्थ रुपमा चुनाव सम्पन्न गराउनु होइन र ?