हिन्दूराष्ट्र हुनुपर्छ भन्नेहरु (कमलनयनाचार्य) अहिले पनि प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाइरहेका छन्। ज्ञापनपत्र बुझ्ने प्रधानमन्त्री कुनै जवाफ नै दिदैनन् र ज्ञापनपत्र बुझाउनेहरु 'कर्मकाण्ड' सकियो भनेर फर्केका छन्। के हुन्छ ज्ञापनपत्र दिएर? ९० प्रतिशत सभासदको शक्ति रहेका कांग्रेस, एमाले र एमाओवादीले मधेस आन्दोलन, थारु आन्दोलनलाई त संवोधन हुन्छ भनेर स्पष्ट जवाफ दिएका छैनन्, मन्द आवाज उठाउने हिन्दूवादी र आवाजै नउठाउने राजतन्त्रवादीलाई कुनै स्पेस दिन ३ दल तैयार छन् भनेर विश्वास गर्ने कुनै आधार देखिदैन। आजदेखि हुने संशोधन प्रस्तावको छलफललाई ५ दिन र त्यसपछिको ५ दिनमा संविधानको मस्यौदा पारित गर्ने, सभाध्यक्षले प्रमाणित गर्ने र राष्ट्रपतिबाट जारी गराउने योजना तैयार भइसक्यो तीन दलको। अव तीनदलको यो रणनीतिलाई चुनौति दिनसक्ने शक्ति निस्केलाजस्तो देखिदैन। लाद्ने भए ३ दलीय संविधान। यो संविधान चल्छ कि बल्छ, भन्न सकिन्न। तर अधिकतम सहमति खोज्नसमेत ३ दल तैयार नहुनु दुर्भाग्य हो।
३ दल भन्छन्– जति पनि समस्याहरु आउनेछन्, भिन्न मतहरु देखिने छन्, ती सबै विषयहरुमा बिस्तारै संशोधन गरेर सुधार्न सकिन्छ। अहिले संविधान जारी गर्नुको विकल्प छैन। अहिले संविधान जारी नभए जे जति उपलव्धिहरु हासिल भएका छन्,
ती सबै गुम्नेछन्। राजतन्त्रको पुनरावृत्ति हुनसक्छ। खासगरी एमाओवादीले कांग्रेस, एमालेलाई मनाएको छ। विश्वभरि छरिएका नेपाली र विश्वजगतको समेत जिज्ञासा छ– पूर्वराजाको विचार भावी कदमका बारे। तर अहँ, बेला बेलामा दिल्ली जाने, कहिलेकाहीँ बैंकक जाने अनि यसो नेपालका विभिन्न क्षेत्रमा घुम्ने बाहेक पूर्वराजाको 'ठोस एक्शन' देखिएन। जवदेखि पूर्वराजा अन्यायपूर्वक र अवैधानिक रुपमा गद्दीच्यूत गरिए, तवदेखि उनको एकाध अन्तर्वार्ता र एकाध विचार आउनु बाहेक देशका लागि उनको 'खास योजना' के छ त? त्यो थाहा हुनसकेन। अव गणतन्त्रवादीहरु गणतन्त्र ल्याउन पूर्वराजाको पनि सहयोग छ भन्ने, उता राजतन्त्रवादीहरु चैँ अव राजतन्त्र फर्किन्छ भन्ने... यसरी अन्यौल बढ्दैछ। सोम शर्माको सपना र नेपालमा राजतन्त्रको पुनरागमन उस्तै उस्तै विषय बन्दैछ। अव पूर्वराजालाई पनि यस्तो गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई संस्थागत गर्नु छ भने त्यो स्पष्टसँग भन्नुपर्यो। होइन, यो जंजालबाट मुक्त स्वाधीन नेपालको निर्माण गर्नु छ भने अव 'मैदान'मा आउनु पर्यो। ऊ, उता तीन ठूल दलले संविधानको परिमार्जित विधेयकमा (७५ बुँदे) संशोधन प्रस्ताव दर्ता गराएका छन्। त्यसमा राजतन्त्रको 'र' पनि छैन भने हिन्दूधर्मको 'ह' पनि देखिदैन। अझ धर्मनिरपेक्षता कायमै राखेर त्यसलाई स्पष्ट पार्ने भनेर हिन्दूलाई मुर्ख बनाउन खोजिएको छ। त्यस्तै आन्दोलन गरे जे पनि पाइन्छ भन्ने उक्ति लागू गर्दैछन्। बागलुङ अखण्ड रहने भयो भने अहिलेसम्म यो पंक्ति लेखुन्जेलसम्म मधेसी र थरुहटको समस्या माथि गम्भीर भएर सोचिएको छैन। तर हिंसात्मक गतिविधि अझ बढाइयो भने, तिनको समस्या पनि कुनै न कुनै रुपमा संवोधन (आयोग बनाउने भएर पनि) गर्ने नै छन्।
अर्थात, जसले 'आन्दोलन' (गुण्डागर्दी शैलीमा) गर्यो, तिनको मात्र सुनवाई हुने परिपार्टीको 'विकास' गरिएको छ। यस्तोमा ती पूर्वराजाको कुरा यिनले किन सुन्थे र? केही पनि राजतन्त्र चाहिन्छ भनेर आन्दोलन गर्न नआएपछि यी गणतन्त्रवादीहरुलाई पनि के खाँचो? हो, राप्रपा नेपाल र अध्यक्ष कमल थापाहरुले संविानसभामा राजतन्त्र र हिन्दूधर्मका सम्बन्धमा संशोधन दर्ता गराउने कोशिश जरुर गरेका छन्। तर, त्यो 'शान्तिपूर्ण तरिका'लाई यी दुई तिहाईवालाहरुले किन पो मानिरहन्थे र? मतलव, अव यस्तो तालले भएन। ईच्छुक र प्रतिवद्ध नेपालीहरु सडकमा आउनै पर्यो। खाली गणतन्त्रवादीहरुलाई असफल तुल्याएर मात्र खुशी हुनु भएन। माग उठ्नुपर्यो, माग 'राजतन्त्र' चाहियो भनेर सडकमा आवाज बुलन्द गर्नुपर्यो– चौध अञ्चल, पचहत्तर जिल्लामा। होइन भने, यी लोभीपापीहरुले दुई तिहाईबाट १० दिनभित्रै संविधान जारी गर्ने निर्णय गरिसकेका छन्। यिनको यो 'हतारको साजिस'लाई तुहाउन सम्भव छैन। कोठे मन्त्रणा र गफले गणतन्त्र र धर्मनिरपेक्षताको ३ दलीय अभियान सकैले रोक्न सक्दैन। किनकि पश्चिमा आँधिले ३ दललाई लपेटेर अघि बढीसकेको बुझ्न जरुरी छ।
होसियार, अहिले मुस्कुराएर मात्र बस्ने, अनि पछि पछुताउनु पर्ने नहोस्। यति बिघ्न राजावादी र हिन्दूवादीहरु भएको मुलुकमा 'गणतन्त्र र धर्मनिरेक्षता?' कसरी सम्भव भयो? प्रष्ट छ, राजावादी र हिन्दूवादीहरु सहीमार्ग नपाएर रनभुल्लमा छन्। अहिलेका लोभीपापीहरुलाई 'सत्ता परिवर्तन' गर्न यतिबिघ्न हतारो छ कि 'थ्रेस होल्ड'को प्रावधान नै राख्न चाहेनन्। 'फकाउन' पनि कत्ति जानेका? सबैका माग पूरा हुने? तर 'चूपचाप' बसेका र आफूसँग भएका सम्झौता लागू गर्छन् दलहरुले भनेर विश्वासमा परेका अनि अलिअलि बोल्ने 'हिन्दूवादी'हरुको सुनवाई नै नहुने? उठ्नु पर्यो, गगनभेदी नारावाजी गर्नुपर्यो अनिमात्र दलहरुले देख्लान्, सुन्लान्। कोठामा कोच्चिएर बस्नु भनेको आफैभित्र कोक्किनुमात्र हो। चेतना भया।


