सीमाविद बुद्धिनारायण श्रेष्ठद्वारा लेखिएको पुस्तक गोरखा एक्सप्रेसले एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको छ । यो पुस्तक विश्वका थुप्रै भाषामा एकसाथ प्रकाशित भएको पुस्तक हो ।
कार्यक्रमको आयोजक गोरखा एक्सप्रेसका सम्पादकले उपस्थिति बौद्धिक समुदायलाई स्वागत गर्दै भन्नुभयो– सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु । पञ्चायतकालमा प्रजातन्त्रको कुरा थियो । प्रजातन्त्रकालमा जनयुद्धको ज्वारभाटा उठ्यो । रोल्पा डोल्पाका मुद्दा उठे । मान्छेका रगतका लाभा बगे, लाप्सा बगे । परिवर्तन भयो । परिवर्तनको १५ वर्षमा पनि घाउ आलै छ । घाउमाथि शक्ति अतिक्रमणका, सीमा अतिक्रमणका घाउ थपिए । हामी अन्यौलमा थियौं, अन्यौलमा छौं ।
सीमा मानिसको हुन्छ । सीमा मान्छे बाँच्ने देशको हुन्छ । बाँच्न मान्छे देश खोज्छ, जब देश भत्किन्छ, मान्छे अस्तित्व रक्षाका लागि भड्किन्छ । १९७५ मा संसदका ३२ मध्ये ३१ सांसदले भारतमा मिल्नुपर्छ भनेर संसदमै प्रस्ताव पारित गरे । एक्ला केसी प्रधान सिक्किम स्वतन्त्र रहनुपर्छ भनेर चिच्याइरहे, कसैले सुनेनन् । सिक्कम भारत भयो, सुनाखरी सुसाएको र सुक्क सुक्क गरेको आवाज अझै सुनिन्छ । लेण्डुप मरेर गए, देश मारेर गए । आज हामी त्यही केसी प्रधान जसरी निसहाय हुने त होइन ? हाम्रा सामु यक्ष प्रश्न खडा छ । हिजो अफगानिस्तानमा जे देखियो, आज तेश्रो विश्वयुद्धको संघारमा पुगेको रूस र युक्रेनको युद्ध देखिरहेका छौं । सहरको, देशको मान्छेको कहालीलाग्दो बर्बादी हेरिरहेका छौं । तर्सिरहेका छौं ।
शान्ति र सुव्यवस्थाका लागि, सुशासन र समृद्धिका लागि, नेतृत्व सक्षम हुनुपर्छ । नेतृत्व असक्षम भए सच्याउन जनता जाग्नुपर्छ । मान्छे, संवैधानिक पद्धति, शासन प्रणाली र देशको सीमा सुरक्षित हुनुपर्छ । नेपाललाई युक्रेन बनाइदिने धम्की दक्षिणतिरबाट आइसक्यो । उत्तर नेपाली भूमिमा चीनविरोधी गतिविधि नहोस् भन्न आजै आउँदैछ । पश्चिमालाई हाम्रा प्रतिनिधि–संसदले निम्त्याइसक्यो । नेपाल जोखिम छ, नेपालीमाथि खतरा छ । यो संचेतन हुनैपर्ने ऐतिहासिक समयमा छौं हामी ।
नेतृत्वका कारण दुर्घटनाका निकट छौं । विधि र विधान, सीमा र सुरक्षा गम्भीर खतरनामा परिसक्यो । परिवर्तन सफल भन्नेहरू देश असफल भइरहेको देख्दैनन् ।
सवाल मेचीदेखि महाकालीको छ । लिपुलेक, कालापानीका व्यथा झन बल्झिएका छन् ।
यता पञ्चशील र असंलग्नता घाइते भयो । उता छिमेकी र शक्तिराष्ट्र ऐठन बनेका छन् । चाहिने अक्किल हो, ढाडमा हाड र माटोमा उभिने साहस हो । साहस मैनबत्ती पग्लेजसरी पग्लिदै गएको देख्दा लाग्छ हामी ठूलै भूकम्पमाथि खडा छौं ।
त्यसैले अस्ताउँदो स्वाभिमान हाम्रो चासो हुनुपर्छ ।
हुन त भाले नबासे पनि उज्यालो त हुन्छ हुन्छ ।
यो कार्यक्रम माटोबादीहरूको विवेकपूर्ण आवाज हो । बोल्न, बोलीमा बोली मिसाउन हामी जम्मा भएका छौं । यो आवाज बढ्दै जानेछ, माटोविरोधीको मुटु कमाउने गरी बढ्नेछ । उपस्थित सबै माटोवादीहरूमा पुनः हार्दिक स्वागत गर्छु ।
सीमाविद बुद्धिनारायण श्रेष्ठद्वारा नेपालको सीमा मिचिएको विषयमा प्रमाणसहित लेखिएको पुस्तकर ‘हिस्टोरिकल बाउन्ड्री म्याप्स अफ नेपाल’ को चैत्र ११ गते राजधानीमा एक समारोहका बीच विमोचन गरिएको हो । गोरखा एक्सप्रेस साप्ताहिकको आयोजनामा पुस्तक लेखक सीमाविद बुद्धिनारायण श्रेष्ठ, साहित्यकार तुलसी दिवस, साप्ताहिक गोरखा एक्सप्रेसका सम्पादक राजन कार्की, राजनीतिक विष्लेषक सुरेन्द्र केसी र लेखक तथा अन्वेशक डा प्रेमसिंह बस्नेतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको हो ।
लेखक तथा सीमाविद श्रेष्ठले उक्त पुस्तक भारतले नेपालको सीमा क्षेत्र मिचेको प्रमाणसहितको दस्तावेज भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘यो पुस्तकमा दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरा सोह्रैआना नेपालको हो भन्ने ९० वटा नक्सासहितको प्रमाण पेश गरेको छु ।’ उहाँका अनुसार पुस्तकमा लिम्पियाधुरा शिर भएर बग्ने काली नै सीमाना हो भन्ने कुरा तत्थहरूबाट स्पष्ट हुने बताउनुभयो। भारतले सन् १९६२ मा चीनसँगको युद्धका बेला ओगटेको र सोही समयदेखि अहिलेसम्म नछाडेको उहाँले बताउनुभयो । सो क्षेत्रमा ३७२ वर्ग किलोमिटर नेपालको भूभाग मिचिएको उहाँको अध्ययनको निष्कर्ष रहेको छ ।
नेपालको सबैभन्दा बढी क्षेत्रफल मिचिएको र पेचिलो बनेको विषय यही हो गत वर्ष सरकारले सो भूभाग समेटेर नेपालको चुच्चे नक्सा सार्वजनिक गरेको थियो । यस्तै अर्को सीमा विवाद नवलपरासीको सुस्तामा छ । त्यहाँ १४५ वर्ष किलोमिटर नेपालको भूभाग मिचिएको श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले यी दुई ठाउँँसहित नेपालका ७१ स्थानमा भारतसँगको सीमा विवाद रहेको र चीनसँग पनि यदाकदा विवाद आएको बताउनुभयो ।
उहाँले यस समस्याको समाधानको अचुक उपाए भनेको छलफलद्वारा निकास निकाल्ने नै हो भन्दै वार्ताबाट नमिले तेस्रो पक्षको मध्यस्थता स्वीकार गर्नुपर्ने नभए संयुक्त राष्ट्र संघ या अन्तर्राष्ट्रिय अदालतबाट छिनोफानो गर्नुपर्ने कुरा पुस्तकमार्फ सुझाएको बताउनुभयो । तर नेपाल सरकारले अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब दिनुपर्नेमा उहाँको जोड थियो । यही पुस्तकको आधारमा भारतसँग वार्ता गर्ने हो भने भारतीय सेना हटाउन सकिने लेखक श्रेष्ठको दाबी छ ।
डा.सुरेन्द्र केसीले यो पुस्तकको अभिप्राय स्वाधीनताको रक्षा नै भएकोमा खुशी प्रकट गर्दै प्रत्येक व्यक्तिले यो पुस्तक पढ्नुपर्ने र देशको सीमाका बारेमा सचेत हुनुपर्ने भन्नुभयो ।
लेखक तथा अन्वेशक डा प्रेमसिंह वस्नेतले एमसिसीका कारण नेपालको सीमा क्षेत्रको अतिक्रमण ओझेलमा परेको भन्दै मौसमी विरोधको अवस्थाले नेपाल कमजोर बनेको दावी गर्नुभयो । उहाँले भारतीय सेनाका अधिकारीहरू नेपालको मानार्थ उपाधि लिएर पनि सीमाको विषयमा भारतको वकालत गरिरहेका तर नेपाली सेनाले आफ्नो पक्षबाट सीमाको विषयमा नबोल्नु विडम्बना भएको कडा टिप्पणी गर्नुभयो ।
डा.बस्नेतले श्रेष्ठको पुस्तकमा नेपाल सरकारका लागि एउटा गीता भएको उल्लेख गर्दै पढ्दै गर्दा छिमेकी राष्ट्रले सबै क्षेत्रमा सीमा मिचेकै हो भन्न प्रमाणित हुने गरी प्रकाशित भएको भन्नुभयो । नेपालको सीमा क्षेत्र चीनसँग जोडिएको एक हजार ४३९ किलोमिटर लामो छ भने भारतसँग एक हजार ८८० किलोमिटर लामो रहेको पनि बताउनु भयो । चीनसँग सीमा सम्बन्धी समस्या नरहेको उहाँको दावी थियो ।