‘हर्क गुरूङ’ भारी बोकेर खान्छ, घुस खादैन
हर्कबहादुर गुरूङ दुई कक्षा पढ्न आफ्ना बुबा सुवेदार पारसाई गुरूङको हात समाएर देहरादून पुगेका थिए । अनि त्यहाँको रेजिमेन्टल चिल्ड्रेन स्कुलमा उनलाई कक्षा पाँचसम्म पढाइयो । त्यसपछि उनी पञ्जावको जलन्धरमा पुगेर त्यहाँको किङ जर्ज मिलिटरी कलेजमा ६ कक्षामा भर्ना गरिए । त्यहाँबाट उनले आर्मी स्पेशल परीक्षा उत्तीर्ण गरे । त्यसपछि उनी काठमाडौं आए र त्रिचन्द्र कलेजमा आइए पढ्न थाले । उनका सहपाठी गणेशबहादुर राईका अनुसार ’हर्कबहादुर गुरूङ सानैदेखि फूटबल र हकीका कुशल खेलाडी थिए र गायन तथा गीत लेखनका पनि उमेर अनुसारका विलक्षण प्रतिभा थिए ।’’ त्यही परिवेशमा उनले पटना विश्वविद्यालयबाट प्रथम श्रेणीमा प्रथम भई बीए अनर्स गरे । त्यहाँ उनी एम्ए पढिरहेका बेला उनको भेट प्रधानमन्त्री बीपी कोइरालासँग भयो । गुरूङको चाहना अनुसार कोइरालाले पोष्ट ग्रेजुयट डिप्लोमा पढ्न उनलाई संयुक्त अधिराज्य पठाए । अनि स्कटल्याण्डको एडेनबरा विश्वविद्यालयमा उनको अध्ययन सुचारू हुन थाल्यो । अन्ततः त्यही विश्वविद्यालयबाट उनले भूगोलमा विद्यावारिधि पनि गरे । अनि एक वर्षजति उनले लण्डन विश्वविद्यालयमा प्राध्यापन गरे । नेपाल फर्केपछि उनले आफ्ना मित्र गणेशबहादुर राईलाई भने, “धेरै नेपालीहरू पाँच दिन बेलायत बस्ता साहेब भएर आउँछन् तर म पाँच वर्षबस्ता पनि साहेब हुन सकिन ।“ वास्तवमा उनी ठेट नेपाली थिए, मौलिक नेपाली थिए र नेपाल राष्ट्रलाई नै माया गर्ने सच्चा नेपाली थिए । यही परिवेशमा गुरूङले २०४० सालमा (नरेन्द्रराज प्रसाईलाई) लेखेका थिए– “मलाई विश्वको भन्दा नेपाली राष्ट्रियताको जगेर्नासम्बन्धी नै बढी चासो छ ।“
गुरूङ प्रष्ट थिए, नीर्भिकता उनको नैर्सर्गिक गुण थियो र खरो रूपमा आफ्ना मनका कुरा जनसमक्ष पु¥याउन सक्ने उनको वैयक्तिक कला थियो । उनले आफू संयोजक भएको नेपालको बसाइँसराइ अध्ययनको प्रतिवेदन बुझाउँदा एक पटक उनी चर्चिचभन्दा पनि चर्चित भएका थिए । उनको रायसुझावको गाँठी कुरा नेपाल–भारतमा सीमा बाँध्ने विषयमा आधारित थियो । त्यसपछि नेपालका प्रायः बौद्धिक खेतलाहरूले यिनको खुबै आलोचना गरे । त्यस घडी उनको सुझावलाई आगो लगाउनेहरूमध्येले बोलेका थिए, “हर्क गुरूङलाई झुन्डयाउनु पर्छ ।“ उनका विरोधमा जति नै आँधीहुरी आए तापनि उनी कसैसँग गलेनन् र उनले भने ’’भविष्यले मेरो विचारको महत्व टड्कारो बुझाउने छ ।’’
गुरूङको परिकल्पना जोडिन जाँदा नेपालमा पाँच विकास क्षेत्रको स्थापना भएको थियो । उनले नेपालजस्तो सानो मुलुकमा पचहत्तर जिल्ला हुनु हुँदैन यसलाई पच्चीस जिल्लामा बाँध्नु पर्छ भनेका थिए । तर उनका कुराको विचारविमर्श हुनै सकेन ।
गुरूङको सक्रिय जीवन अध्ययन, अन्वेषण, अध्यापन, प्राध्यापन र राजनीतिमा नै समर्पित रहृयो । उनी नेपाली माटोमा एउटा अलौकि नागरिक थिए । त्यसैले यी राष्ट्रिय पञ्चायत र राष्ट्रिय योजना आयोगका सदस्यमा मनोनीत भए । साथै यी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र शिक्षा, यातायात, पर्यटन तथा उद्योगवाणिज्य राज्यमन्त्रीमा पनि नियुक्त भएका थिए । यिनको कदरस्वरूप यी नेपाल श्रीपद्का अतिरिक्त दोस्रा दर्जाका त्रिशक्तिपट्ट र गोरखादक्षिण बाहुबाट पनि विभूषित भए । साथै विद्यावारिधि गरेबापत उनी महेन्द्र विद्याभूषणबाट अलङ्कृत भए ।
गुरूङ मन्त्री भएका बेला गलैंचाकाण्डमा यिनलाई पनि अनाहक फसाइएको थियो । अनि यिनले मन्त्री पदबाट मात्र होइन राष्ट्रिय पञ्चायत सदस्यसमेतबाट पनि राजिनामा दिए । त्यसै बेला यिनले राजा वीरेन्द्रलाई समाचार पठाएका थिए– “हर्क गुरूङ भारी बोकेर खान्छ, तर घुस खाँदैन ।“ वास्तवमा यी त्यस्तै हक्की, प्रष्ट र इमान्दार थिए ।
गुरूङले एसिया पेसिफिक डेभलपमेन्ट सेन्टरको प्रमुखको उमेद्वारीका लागि आवेदन दिँदा थाइल्यान्डका प्राज्ञले त्यसै पदमा दिएको आफ्नो उमेद्वारी तत्कालै फिर्ता लिएका थिए । किनभने उनले हर्क गुरूङजस्ता महाप्राज्ञले उक्त ओहोदा ग्रहण गर्नु पर्छ भन्ने मान्यता राखेका थिए ।त्यसैले गुरूङ त्यस संस्थामा निर्वाचित भएर मलेसियामा पाँच वर्ष बसेका थिए।
गुरूङले नेपालका प्रायः सबै जिल्लाका साथै एसिया, युरोप, अफ्रिका र अमेरिकाका विभिन्न ठाउँको भ्रमण गरेर व्यापक अनुभव बटुले । अनि यिनले आफ्नो अनुभव, ज्ञान र सीप नेपाली माटोमा रोप्न खोजे । तर उनलाई काम गर्न बाधाविरोध मात्रै भइरहृयो । यति हुदाहुँदै पनि उनी डटेर आफ्ना यात्रामा लम्किरहे । उनले झन्नै दुई सयवटा फूटकर लेखहरू र एक दर्जन किताबहरू लेखे । उनका लेख र कृतिहरू प्रायः अङ्ग्रेजी भाषामा नै प्रकाशित भए । तर उनी गुरूङ (तमू) भाषाका चाहिं आदिकवि थिए ।
गुरूङ एउटा राष्ट्रवादी प्रतिभा थिए । उनको मन, वचन र कर्ममा नेपालको राष्ट्रियता टाँस्सिएको थियो । उनले नेपालको जनजीवन र भौगोलिक स्थितिलाई धेरै नजिकबाट अध्ययन गरेका थिए । यसै प्रसङ्गमा उनले (नरेन्द्रराज प्रसाईलाई पत्र) लेखेका थिए– “देशको तीव्रतर विकासका लागि वाहृय दानको निर्भरता घटाई अधिकांश जनतालाई विकास भनेको एउटा कष्टदायक र कठीन प्रकृया हो भनी महसुस गराई नेपालीले पसीना नबगाएसम्म नेपालको विकास सम्भव छैन ।’
गुरूङ समाजशास्त्रीका रूपमा सुपरिचित थिए । उनी पर्वतारोहणका विषयका पनि त्यत्तिकै ज्ञाता मानिन्थे । उनको सोखको विषय फोटाग्राफी थियो । साथै उनी चित्रकलामा पनि पारङ्गत थिए । उनको चित्रकलाका गुरू बालकृष्ण सम थिए । उनले बनाएका चित्रहरूमध्ये डाँफे र मुनालका चित्रहरूचाहिं हुलाक टिकट पनि बनाइएको थियो । उनी तास, जुवा, चुरोटलाई आफ्नो समय साथी मान्थे भने जाँडरक्सीको सेवन पनि उनको सहायक समयप्रवृत्ति देखिन्थ्यो । उनले जीवनको उत्तर्रार्थमा जनजाती विषयका अध्ययन, चिन्तन र विश्लेषणमा अधिकांश समय दिन थालेका थिए । तर उनी साम्प्रदायिक थिएनन् । मुलुकलाई सङ्घीयताको भीरमा पु¥याउने कुरामा उनले मत दिएका थिएनन् तर उनी भन्थे ’‘राज्यको शक्ति पूर्ण विकेन्द्रीकरण हुनु पर्छ ।’
गुरूङ १९९५ साल पुस २१ गते लम्जुङको तराँचेमा माइसेवोका कोखबाट जन्मे । साथै उनी २०६४ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा स्वर्गीय भए ।
हर्क गुरूङ एक जना आदर्श थिए । उनका आदर्श व्यक्तित्वबारे उनले नरेन्द्रराज प्रसाईका डायरीमा लेखेका थिए– ‘माओत्सेतुङ, मार्टिन लुथरकिङ र जयप्रकाश नारायणलाई म मेरो जीवनका आदर्श मान्छु ।’ साथै उनी टङ्कप्रसाद आचार्यलाई खुवै श्रद्धा गर्थे । उनका मन नपर्ने विषयचाहिँ चाकरी, चाप्लुसी र चुकली थियो । यी अर्काको जरा खन्ने मान्छेलाई दानव भन्थे ।
सौजन्य © नरेन्द्रराज प्रसाई