महंगो पढाइ, न्यून तलबः बेरोजगार बन्दैछन् नर्स । सेवा पनि हुने, तलब पनि पाइने भनेर नर्स पढ्नेहरू नेपालमा व्यापक शोषण हुन थालेपछि यतिबेला विदेश जाने चक्करमा लागेका छन् ।
काम पाउन भनसुन गर्नुपर्ने, त्यसमा पनि ३ महिना इन्टर्नसीमा दलाउने अनि थोरै तलव दिने वा कामबाट निकालिदिने । ऋण लिएर नर्सिङ पढ्ने युवतीहरू यतिबेला निकै तनावमा देखिन्छन् ।
धेरै दिए ८ हजार । १२ घण्टा जोताएर । नर्सका लागि बोलिदिने कोही नभएपछि बाध्य भएर नर्सहरूले सार्वजनिक विरोधको हतियार उठाएका छन् । कतिपय नर्सहरू डिप्रेसनमा गएका छन् । कतिपय भाषा कक्षा पढेर युरोप, अष्ट्रेलियातिर जान थालेका छन् । जानै तैयारीमा जुटेका छन् । नर्सिङ् पढेका जनशक्तिको व्यवस्थापन गर्न सरकार उदासीन छ, तिनलाई पनि विदेशीन सरकार बाध्य पारिरहेको छ ।
पीसीएल नर्सिङ पढ्न तीनवर्षको समयमा ६ देखि ८ लाख खर्च लाग्छ । बीएस्सी नर्सिङको लागि चार वर्षको समय र १४ देखि १७ लाखसम्म खर्च गर्नुपर्छ । पढ्ने समयमा लाग्ने अन्य खर्च पनि थुप्रै हुन्छ । यसरी पढेर पनि स्वदेशमा रोजगारी नपाएपछि, श्रम शोषणबाट प्रताडित नर्सहरू चिन्तित छन् ।
देशमा वर्षेनी ७ हजारभन्दा बढी नर्स उत्पादन हुनेगर्छ । स्वदेशमा रोजगारी नपाएपछि विदेशीन बाध्य हुनेगरेका छन् । नर्सिङ काउन्सिलबाट यही फागुनसम्म ३५ हजार ७ सय २७ गरी नर्स जनशक्ति ६७ हजार भन्दा बढी रहेको छ । विदेश गएका र कतिपय नर्सको तथ्याङ्क यसमा सामेल छैन । नर्सिङ काउन्सिलका एक पदाधिकारीका अनुसार २० हजार नर्स विदेशीएका छन् । अहिले नै २५ हजार बेरोजगार रहेका छन् ।