काठमाडौं । बैंकहरूमा पैसा छैन । ऋण पाइदैन । बैंकहरू निक्षेपकर्तालाई पैसा नझिक्न र बढी ब्याज दिन्छौं, अरू पैसा जम्मा गर्नोस् भन्न थालेका छन् । बैंकहरूलाई डर छ कि निक्षेपकर्ताहरूले पैसा झिकिदिए भने कसरी दैनिकी चलाउने ?
नेपाल राष्ट्र बैंकले तरलता अभाब भएकोले निक्षेप ब्याजदर वृद्धि गरेर बैंकमा पैसा आकर्षित गर्न सुझाव दिएको छ । ऋणपत्र बेचेर पैसा संकटलन गर्दै बैंकहरूमा पठाउने कार्य गरिरहेको छ । राष्ट्र बैंकको बैङ्क नीति असफल भएको छ ।
रेमिटान्सको घट्दो दर, आयातको बढ्दो स्थिति, निर्यातको झर्दो अवस्थाले कहालीलाग्दो आर्थिक सङ्कट सुरू भइसकेको छ । यो स्थितिमा निर्यातमूलक उद्योगलाई प्रोत्साहन दिन र आयोजनाहरूमा जोडतोडले काम गराउने हो भने तरलताको अभाव कम भएर जानेछ । यसबाहेक भारतले ठूला जलविद्युत आयोजना होल्ड गर्न हालैका दिनमा द्वीपक्षीय वार्ता गरेर माग गरेको छ । यतिमात्र होइन, बंगलादेशमा नेपाली विद्युत निर्यात गर्ने सम्बन्धमा भने भारतले निर्णय दिएको छैन ।
यसकारण सरकारले तत्काल ठूला जलविद्युत आयोजनामा १० देखि ५ सय कित्ता शेयर ग्यारेण्टी गरेर आइपिओ खुलाउने हो भने ३ खर्बभन्दा बढी रकम जम्मा हुनसक्छ । बैंक ब्याजदर बढाउन सुझाउने होइन, राष्ट्रिय उत्पादन र निकासीमूलक यस्ता उद्यममा आमनागरिकलाई जोड्ने हो भने आर्थिक अभाव महिना दिनमै सल्टिनेछ, बैंकहरूले आत्तिनु पर्नेछैन, राष्ट्र बैंक कहालिनु पर्ने छैन । यसका लागि सरकारले अर्थविदहरूसँग तत्काल छलफल गरेर बैंक ब्याजदर न्यायोचित कायम गरेर नागरिक सरकार साझेदारीमा अघि बढ्नु आत्मनिर्भरताको मार्ग हुनेछ ।े