गृहमन्त्रीले कैलाली हिंसामा भारतीय घूसपैठ भएको त्यसै भनेका होइनन्, उनीसँग प्रमाण थियो र भने। तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफै अग्रसर भएर नेपाललाई सहयोग गर्ने वचन दिएपछि त्यो घूसपैठ बारे एमाले पार्टीको मुखबुजो लाग्यो। किनकि भारतले चाहेमात्र केपी ओली प्रधानमन्त्री बन्नसक्ने हुन्। उनी अनुकूल वातावरण प्रतिकूल नबनोस् भन्ने चाहन्थे, राज्य प्रहरीको बली चढाएर एमालेले संविधानबिरोधीको चालबाजी भनेर भारतीय बन्चरो प्रहारलाई सह्यो। एमाओवादी अथवा कांग्रेसले पनि थप यो मुद्दालाई उछाल्न चाहेन। हुन त जनजातिसँग मिलेका क्रान्तिकारीबाटकाभ्रे र धादिङका 'बलवान'हरु पनि कैलाली पुर्याइएका थिए। थारु आन्दोलनमा सन्देह अनेक छन्। यस्तै सन्देह मधेस आन्दोलनमा पनि रहेको छ।
सुरक्षास्रोत भन्छ– भारतीय अपराधीसमूहका सदस्यहरु मधेस र राजधानीमा पनि बाक्लै उपस्थिति देखाउन थालेका छन्। तिनका बारेमा सुरक्षाकर्मी सचेत छन्। तर, कुनै पनि अनहोनी हुनसक्ने खतरा नकार्न सकिन्न। खासगरी सीमावर्ती क्षेत्रमा अपराधमा संलग्नहरु र मधेसकै भूमिगत सशस्त्र समूह पनि एकाएक चम्किन थालेका छन्। मधेसवादी र सशस्त्रसमूहवीच सहकार्य हुन थालेको छ। सीके राउतका बिखण्डनवादीसमूह पनि चुप लागेर बसेका छैनन्। यसकारण साम्प्रदायिक र धार्मिक दङ्गा फैलिनसक्ने आँकलन गरेर गृहमन्त्रालयले देशभरिका सैनिक गणहरुलाईसमेत अलर्टमा राखेको स्थिति छ। मानाैं संविधान होइन, कुनै बम बिस्फोट हुँदैछ। संविधान आउने भएपछि स्वागतको माहौल बन्ला भनेको त भय र त्रास पो फैलिन थाल्यो। तथापि राजनीतिक नेताहरु सत्ता र शक्तिको अभिष्ठ पूरा गर्न देशको कानुनव्यवस्थालाई नै धरापमा पार्न अग्रसर भएका छन्। अधिकाधिक सहमति खोजेर त्यही प्रकारको वातावरण बनाउन प्रयास गरेको भए संविधान आउने खुशीले देशैलाई तरङि्गत पार्नसक्थ्यो। ठूला ३ दलले दूरदर्शिता र सक्षम नेतृत्व देखाउन सकेनन्।


