काठमाडौं । नेपालको रहेको अमेरिकी दूतावासले एमसीसी परियोजनामा भएका स्वस्थ्य बहसहरूमात्र स्वीकार्य हुने बताएको छ ।
शुक्रबार दुतावासले आफ्नो आधिकारीक ट्वीटर ह्यान्डलबाट ट्वीट गर्दै सो कुरा लेखेको छ । दुतावासले आफूहरू एमसीसी परियोजनामा भएका स्वतन्त्र बहसहरू स्विकार गर्न तयार भएको पनि लेखेको छ ।
“हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो,” दुतावासले लेखेको छ,“आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।”
नेपालमा एमसीसी परियोजनाको पक्ष विपक्षमा बहसहरु भइरहेका छन् । सरकारले फागुन ४ गतेको संसद् बैठकमा एमसीसी अनुमोदन गराउने प्रयास गरेको थियो । तर, सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच कुरा नमिल्दा परियोजना टेवल हुन सकेको थिएन । सरकारले शुक्रबार बसेको संसद् बैठकमा पनि परियोजना टेवल गराउने तयारी गरेको थियो ।
एमसीसी परियोजना टेवल गराउने विषय सत्ता गठबन्धनमा एक मत छैन । कांग्रेस परियोजना अनुमोदन गराउने पक्षमा छ भने माओवादी केन्द्र र नेकपा(एस) विपक्षमा छ । जसपामा बाबुराम भट्टराई पक्ष परियोजना पक्षमा छन् भने उपेन्द्र समूह विपक्षमा देखिएको छ ।