धर्मरत्न श्रेष्ठ - - -
१९८३ डिसेम्बर ७, राजा वीरेन्द्रको अमेरिका भ्रमण । राष्ट्रपति डोनाल्ड रेगनले न्यानो स्वागत गरे, आतिथ्य दिए र भने– ‘नेपाल विश्वको अर्को भागमा रहेको अमेरिकाको क्षिमेकी हो ।’ नेपालको दोस्रो दौत्य सम्बन्ध भएको मुलुक अमेरिकासँगको त्यो न्यानो सम्बन्ध वर्तमान अवस्थामा चिसिन पुगेको छ । उपविदेशमन्त्री लुले नेपालसँगको सम्बन्धमा पुनरावलोकन गर्छु भन्नुपर्ने र सुन्नुपर्ने दुर्भाग्यपूर्ण दिन पनि आयो ।
यो लोकतान्त्रिक पद्धति हाँक्ने नेताहरूले कूटनीति र परराष्ट्रनीतिलाई अतिराजनीतिकरण गर्नुको प्रतिफल हो । नेपाल कूटनीतिक दुर्घटनामा पर्न गयो ।
एमसिसीको सुरूविन्दुदेखि छलफल हुनुपर्छ । नेपालले माग्ने, नेपालले गिजोल्ने र अमेरिकामात्र होइन, विश्वसामु नेपालको व्यक्तित्व अविश्वसनीय बनाउने जिम्मेवार को को हुन् ? किन कुनै नेता वा पार्टी बोल बोल मछली मुखभरि पानी गरेर बसेका छन् । जनतालाई स्पष्ट रूपमा बुझाउने जिम्मेवारी कसको हो ? यी नेताहरूका कारणले राजनीतिक, आर्थिक, सामरिक र सामाजिक दुस्परिणाम भोग्नुपर्ने कारण विचारणीय छन् ।
हो, एमसिसी नेपालका लागि निल्नु न ओकल्नुको विषय बन्यो । यसकारण पनि एमसिसीबारे विशेष छानबिन आयोग गठन गर्नुपर्छ, सर्वदलीय छलफल गरेर एउटा टुङ्गोमा पुग्नु जरूरी छ । ७५ वर्षको नेपाल–अमेरिका सम्बन्ध एउटा ५० अर्वको परियोजनामा अल्झेर आत्महत्या हुनसक्दैन । नेपालको विकास निर्माणमा अमेरिकी सहयोग हिजो पनि जरूरी थियो, भोलि पनि जरूरी छ । सतहमा अमेरिकाले धम्क्यायो भन्ने र चीनले अपारदर्शी हिसावले कम्युनिष्टहरूलाई अमेरिकाको विरोधमा उभ्यायो भनेर प्रचार हुनु दुर्भाग्यपूर्ण हो । नेपालका लागि उत्तरको चीन र दक्षिणको भारत उत्तिकै महत्वपूर्ण क्षिमेकी हुन् । अमेरिका र अन्य मित्रराष्ट्रहरूसमेत नेपालका लागि आत्मीय छन्, आत्मीय हुनुपर्छ । यही नै आधुनिक कूटनीतिको व्याख्या हो । नेपालले बुझ्नैपर्ने सत्य के हो भने कूटनीतिमा कुनै पनि कुरा निशुल्क हुँदैन । निशुल्क हुँदैन भने पनि नेपालले आफ्नो अस्तित्व र स्वाधीनताको रक्षा आफैले गर्नुपर्छ । सशक्त कूटनीतिक क्षमता नेपालले देखाउनै पर्छ । कूटनीतिलाई खेलाँची गर्दा आज नेपाल–अमेरिका सम्बन्ध बढी गिजोलिन पुगेको देखिन्छ । कुटनीति र परराष्ट्रनीति किन सवल हुनुपर्ने रहेछ, राजदूत नियुक्त गर्दा राजनीतिक भागबण्डामा गर्दा कतिसम्म राष्ट्रिय हानी हुनेरहेछ भन्ने कुरा यतिबेला नेताहरूले बुझेको हुनुपर्छ । सानो कालखण्डमा सत्तामा पुगेकाहरूको गल्तीले मुलुक र जनताले कति ठूलो मूल्य चुकाउनु पर्ने दिन पनि आउने रहेछ भन्ने पाठ नेपालले अहिले सिक्नुपर्छ ।