Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

यस्ता नेतालाई कसरी प्रधानमन्त्री भन्न सकिन्छ ?

२४ सोमबार , माघ २०७८३ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ - - - 
जुन नेता राष्ट्रनिर्माता चिन्दैन, विदेशी नेतालाई माला चढाएर शीर झुकाउन पुग्छ, त्यस्ता नेतालाई प्रधानमन्त्री भन्नुपरेको छ । यो लोकतन्त्र र नेपाली जनताका लागि दुर्भाग्यजनक दृष्टान्त हो । यस्ता नेताले देशरक्षा गर्छ, देशको सुरक्षा गर्छ, राष्ट्रवाद र राष्ट्रघात छुट्याउन सक्छ भनेर विश्वास गर्नु यस्ता नेतालाई चुनाव जिताउने र प्रधानमन्त्री बन्ने अवसर दिने हामी मूर्ख हौं ।
पाँचपल्ट प्रधानमन्त्री बनिसकेका शेरबहादुर देउवालाई राष्ट्रनिर्मातालाई माला चढाउन सकिन्न भन्न र विदेशी वापुलाई माला चढाएर श्रद्धाञ्जली चढाउन जानैपर्ने बाध्यता के हुनसक्छ ? नेपाली कांग्रेसमा वीपी वादी छन्, राष्ट्रवादी र प्रजातन्त्रवादी पनि छन् । राष्ट्रवाद र प्रजातन्त्र साथसाथै अघि बढाउनु पर्छ, देशलाई प्रजातान्त्रिक तरिकाले समृद्ध र शान्तिपूर्ण बनाउनु पर्छ भन्नेहरू पनि छन् । तर आफ्नै पार्टी अध्यक्षले बोलेका गलत विचारलाई गलत भन्नसक्ने ताकत कसैमा देखिएन ।
शेरबहादुर देउवा देशका प्रधानमन्त्री हुन् । जो राष्ट्रनिर्मातालाई अपमान गर्छ, त्यस्ता व्यक्तिलाई नेता मानेर मन्त्री हुने, शासक बन्नेहरू पनि दयाका पात्र हुन् । केही मन्त्री, नेता, राष्ट्रपतिले राष्ट्रनिर्माता मानेको अवस्थामा प्रधानमन्त्री माला चढाउन सकिन्न भन्छन् भने किन ? भनेर सोध्न साहस र ल्याकत त कसैमा चाहियो नि ? नेपाल निर्माता को हो ? कसको साहसले नेपाल बन्यो, नेपाल स्वतन्त्र रह्यो र हामीले नेपाली भनेर गर्व गर्न पाएका छौं भनेर प्रधानमन्त्रीलाई प्रश्न गर्ने कसले ?
व्यक्तिगत कुण्ठा अथवा रिसरागको कुरा छैन । राजतन्त्रवादी बन्ने कि नबन्ने भन्ने पनि प्रश्न होइन । जनताले जे चाहे त्यो हुने हो । जनताले राष्ट्रनिर्माता मानेका छन् भने जनताका प्रतिनिधिलाई राष्ट्रनिर्माता मान्न किन आपत्ति ? इतिहास मेटेर मेटिन्न । इतिहास तोडमोड गरेर पनि तोडमोड हुँदैन । सत्य यही हो कि पृथ्वीनारायण शाहले हाम्रा पुर्षालाई साथ लिएर नेपाल निर्माण गरेका हुन् । उनले चाहेको भए गोर्खा पनि बनाउन सक्थे । तर हामी सबैलाई नेपाल दिए, नेपाली बनाए । यो ऐतिहासिक गौरवमा गौरव गर्न नसक्ने व्यक्ति आज हाम्रा प्रधानमन्त्री बनेका छन् ।
कस्तो व्यक्ति नेता, मन्त्री, प्रधानमन्त्री, संवैधानिक पदमा योग्य हुनसक्छन् भन्ने विषयमा स्पष्ट हुनुपर्ने बेला भयो । यसका लागि राष्ट्रियनीति निर्माण गर्नैपर्छ । कुनै पनि नेता, पार्टी त्यो नीतिको बर्खिलाप जान नसक्ने र गएमा तत्काल कडा कारवाही हुनुपर्ने प्रावधानमा समेत सर्वसम्मति हुनुपर्ने बेला आयो । किनभने आजकल विदेशी चलखेल बढी नै हुनथालेको छ । शक्तिराष्ट्रहरूको मल्लयुद्धको अखडा नेपाल हुनथालेको छ । नेपाल भूराजनीतिक महत्वको भएकैले शक्तिराष्ट्रहरू यसरी खुलेर आएका हुन् । नेपालले आफ्नो अस्तित्व रक्षा गर्ने हो भने अब आफूलाई फोकल प्वाइन्टको रूपमा विकसित गर्नैपर्छ । ताकि कुनै पनि राष्ट्रसँग टाँस्सिएको अर्थ नलागोस् । यसका लागि सर्वसम्मतिले राष्ट्रिय नीति निर्माण हुनुपर्छ । यही राष्ट्रिय नीतिलाई लागू गराउन कानुन, अदालत र नियामक निकायहरू शक्तिशाली हुनैपर्छ । यसका लागि राजनीतिक सिफारिसका व्यक्ति होइन, योग्य व्यक्तिहरूलाई जिम्मेवारी दिनुपर्छ । तवमात्र राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय गौरव कायम रहनसक्छ ।