धर्मरत्न श्रेष्ठ - - -
नेपाली कांग्रेस पार्टी सबै अट्ने र सबैलाई जोड्ने पार्टीका रूपमा रहेन । दिल्ली सम्झौतापछि नेपाली कांग्रेस भनेको कम्युनिष्टको सिद्धान्तको संरक्षक बनेको छ । यसकारण राष्ट्रियता, स्वाधीनता र सुशासन नेपाली कांग्रेसको एजेण्डा होइनजस्तो लाग्छ । २४ लाख खोप हराएको विषयमा छानवीन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भनेर नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले माँग गरेका छन् । कोभिडको खोप गायब पार्ने महाअपराधी हुन्, कारवही हुनैपर्छ भन्छन् । तर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा चुप्पी साधेर बसेका छन् ।
मन्त्री रेणु यादव ०६३ सालमा गौरमा २७ माओवादीलाई मारेझैं सिके राउतलाई मारिन्छ भनेर आतङ्क फैलाउँछिन्, प्रधानमन्त्री सुनिरहन्छन् ।
पाँचौंपल्ट प्रधानमन्त्री भएका हुन् शेरबहादुर देउवा । ७८ वर्षका देउवाका सामु इतिहास बनाउनेभन्दा बढी कुनै उद्देश्य नहुनुपर्ने हो । प्रजातन्त्रलाई संस्थागत गर्ने गुरूत्तर दायित्व हुनुपर्ने हो । किन देउवा मन्त्रीजस्ता, सहयोगी दलका अध्यक्ष प्रचण्ड निर्णायकजस्ता देखिन्छन् । देउवाको उद्देश्य नेपाली कांग्रेसलाई प्रजातान्त्रिक प्रमाणित गर्नु नभएर प्रचण्ड र माधव नेपालको राजनीतिलाई एमालेको प्रलयबाट बचाउने नौकाजस्तो पो देखिन्छ । यो कम्युनिष्टसँगको अपवित्र गठबन्धनले नेपाली कांग्रेस र प्रजातन्त्रको जग उखेल्न ९ रेक्टरको भूकम्प गइरहेको देउवा किन देख्दैनन् ?
पद्धति परिवर्तन भयो, देश र जनताको जीवनमा परिवर्तन आउन नसक्नुको कारण कुशासन हो । कुशासन नेपाली कांग्रेसले बोकेर बढेको हो । अब यस्ता पुराना दलहरूबाट देशको रक्षा र सुरक्षा हुनसक्ने विश्वास घटेर गएको छ । देशमा वैकल्पिक शक्तिको खाँचो टड्कारो देखिन्छ, भारतमा आम आदमी पार्टीजस्तो वैकल्पिक पार्टीका लागि युवाहरूले किन सोचिरहेका छैनन् ?
वर्तमान ठूला दल र ठूला नेताहरू यतिविधि खराव भइसके कि परिवर्तनको १५ वर्षमा देशलाई असफलताको भीरमा पु¥याइसके । यही स्थिति रहने र वैकल्पिक शक्ति अगाडि नआउने हो भने असफलताको भीरबाट राष्ट्र गुल्टिन सक्छ ।
अहिले देखिएको दृश्य भनेको एकले अर्कोलाई खुइल्याउने, एकले अर्कोलाई दुत्कार्ने, बदनाम गर्ने हो । राजनीतिमा योभन्दा ठूलो गरीबी के हुनसक्छ ? यिनीहरूबाट देशको भाग्य र भविष्य अन्धकार भइसक्यो, युवाहरू केही सोचौं, विकल्प सोचौं ।