देवी काफ्ले– - - कोभिडले संसार हल्लायो । कोभिडले मानव सभ्यतालाई नै चुनौति दिंदै विभिन्न चरणमा विभिन्न भेरिएन्टको रूप लियर जगतलाई त्राहिमाम बनाईरहेको छ । संसारका बिकसित मुलुकहरूका वैज्ञानिकहरू कोभिडबाट मानव सभ्यता बचाउनका लागि कोभिड रोकथाम र यसको निदानका लागि जुटिरहेका छन् । तथापि अझै पर्याप्त सफलता हासिल गर्न सकेका छैनन् ।
चेतनास्तर बढी भएका मुलुकहरूमा कोभिड व्यापक फैलिएको छ भने अविकसित र हामी बिकासोन्मुख मुलुकका नागरिक भने यसलाई हल्लाको रूपमा मात्रै हेरिरहेका छौं । यसकारण कोभिड महामारी नै सावित भइसकेको छ । अझै नयाँ नयाँ रूपमा आएको भेरियन्टले कति जनको नोक्सानी गर्ने हो, अनुमान मात्र गर्न सकिन्छ । सरकारमा तैनाथहरू भ्याक्सिनमा कमिसनको चलखेल गरिरहेका छन् । जनता रहे राज्य रहन्छ, जनता नै नभए के राज्य ? के शासन ? यथार्थ यही हो । हाम्रा अगुवा नेतृत्व समुदायले कहिले बुझ्ने ? अझै सम्पूर्ण जनताले खोप पाएका छैनन् । बालबालिकाका लागि त झन् नाजुक अवस्था छ । यता ध्यान कहिले पु¥याउने हुन् ?
नेपालमा साधनस्रोतको कमी छैन । मित्रहरूबाट सहयोगको कमी पनि छैन । किन्ने हैसियत पनि छ । किनिएको पनि छ तर नेपाल भित्रिएका अनेकथरि खोपहरू थन्किएर रहेका छन् । म्याद समाप्त हुँदैछन् । वितरण गर्ने खुबीसमेत सरकारले देखाउन सकेन । यसकारण बृद्धबृद्धा र बालबालिका बढी जोखिममा छन् ।
खुला सिमानाका कारण भारतबाट महामारी नेपाल आउन किन्चित समय लाग्दैन । खुला सिमाना भएकै कारण कुनै नियन्त्रण र नियमन हुन सकेको छैन । भारतमा दिनदिनै यो भाइरसका अनेक भेरियन्ट बढिरहेको छ । खुलासिमानाबाट नेपाल पस्ने देशी विदेशी सबैले भाइरस भित्र्याएको हुनसक्छ । विज्ञहरू त भन्छन्– एमिक्रोन नामक नयाँ भेरियन्ट त समाजमा फैलिसकेको छ । परीक्षण थोरै भइरहेकाले प्रतिशतमा थोरै भए पनि केही समयअघि २ प्रतिशतमा झरेको संक्रमितको संख्या १० प्रतिशत नाघिसकेको छ । यो उकालो लाग्यो र नियन्त्रण गर्न सकिएन भने अर्को महामारी आउने छ । न त सिमा नाकामा कडाई गरिएको छ, न त कुनै ब्यवस्थापन । अझ राजनैतिक दलहरू अधिबेशनका बहानामा मान्छेको हुल बटुल्न तैनाथ छन् । उनीहरूको राजनीतिक प्रतिस्पर्धाले भाइरस समाजसम्म फैलिन पुगेको हो । नेताहरूमा संक्रमण देखिएकाले आइसोलेसनमा छन्, उपचार हुन थालेको छ । आमनागरिकका लागि उपचारको बन्दोबस्त छैन । जसरी हिजो हाहाकार भयो, मर्ने ठेगान भएन, फेरि त्यो दुर्दिन आउनसक्ने अवस्था आइसक्यो । नागरिकलाई नियमकानुन लगाउने ठालुहरू आफैले लापरवाही गरिरहेका छन् । यसकारण फेरि कोभिड आगो सरी फैलिएको छ । यसको मूल कारक को हो ? कहिले एमालेको महाधिबेशन त कहिले कांग्रेसको अनि माओवादी पनि के कम ? भिड जम्मा गरेकै छन् । स्कुल, सिनेमा, बैबाहिक, दाहसंस्कारमा समेत कडाई गर्नेेहरू आफैले जम्मा पारेका भिडलाई के भन्छन् खै ? आप करे तो चमत्कार, और करे तो बलात्कार जस्तो बनाएका छन् वातावरण । नियन्त्रणमा आइसकेको कोभिडको महामारी अहिलेको भयावह अवस्था ल्याउने को हुन् ? तपाईं हामीलाई थाहै छ । अरूको मुख ताकेर होइन, आफै सुरक्षित बसौं । तजबिजी भ्याक्सिन पाईएला नपाइएला आफु सचेत रहौं ।