सुदूरपश्चिमा भीमबलशाली भीम रावल र शेरजस्तै गर्जने शेरबहादुर देउवा दुबै ब्याकफुटमा बजारिन पुगेका छन्। कैलाली नरसंहारकारी घटनाले यी दुबै नेतालाई सुदूरपश्चिमको भीम र शेरबाट स्यालमा झारिदिएको छ। 'थारुलाई रौं पनि दिन्न भन्ने देउवाले घरमै पत्रकार निम्त्याएर मेरै पालामा कमैया मुक्ति दिलाएको बोनस खोज्न थालेका छन् भने थरुहठका बिरोधी र अखण्ड सुदूरपश्चिमका पक्षधर भीम रावल थारुलाई विशेषाधिकार दिनुपर्छ भनेर वकालत गर्न थालेका छन्। यिनको कोरा वकालतले सुदूर आश्वस्त भएको छैन।
आज थारु र थरुहठको सबैभन्दा ठूलो स्वरले समर्थन गर्ने कोही छन् भने देउवा र रावल देखिएका छन्। तथापि यिनीहरु आफ्नो क्षेत्र सुदूरपश्चिम टेक्न सकेका छैनन्। अशान्त र आन्दोलित सुदूरपश्चिमको राजनीतिक शान्तिका लागि केही गर्न सक्ने स्थितिमा छैनन्। सुदूरपश्चिमा सेना परिचालित भएको छ, निरन्तर कर्फ्यू लागिरहेको छ, ७ गतेको नरसंहार र डेढवर्षे वालकको शोकमा छ सुदूरपश्चिम। त्यहाँका जनप्रतिनिधि र अग्ला नेता भने राजधानीमा ह्वीस्की खाएर भाषण चुटिरहेका छन्।


