राजन कार्की - - - -
नेपालीले पर्याप्त रूपमा बोल्न पाएका छन् । नागरिक नेताले त सभ्यता र मर्यादा नाघेर पनि बोल्ने गरेका छन् । यसबाहेक नागरिकले मतदान गर्ने अधिकार पाएका छन् । मतदान गर्न विकल्प छैन, यसकारण ३१ वर्ष अघि जुन नेता थिए, आन्दोलनपछि जो शासक बनेका थिए, तिनै राजनीतिमा छन् र तिनैलाई मतदान गर्न जनता बाध्य छन् । नोभोट भन्ने व्यवस्था छैन । मतदान गर्दा तिनै डामिएका र घृणा गरिएका पात्रहरू चुनाव जित्छन् र विधि निर्माता बन्छन् । अनि तिनै विधि मिचेर देशलाई भ्रष्टाचारको दह, दलदल बनाइरहेछन् ।
देशको भाग्य र भविष्य बदल्छु भन्नेहरू यिनीहरू नै थिए । यिनले आफू बदलिए, आफन्तलाई सम्पन्न बनाए । गरीब मुलुक झन झन गरीब हुँदै गएको छ । समृद्ध नेपाल र सुखी नेपाली बनाउने यिनका कुरा फोस्रा भाषणमा सिमित रहेका छन् । अझै पनि यिनैलाई नागरिकले मत दिनुपर्छ, शासक मान्नुपर्ने र यिनले भनेको लोकतन्त्रलाई आँखा चिम्लेर समर्थन गर्नुपर्ने । भनिन्छ, नेपाललाई सतीको सराप परेको छ । त्यो सरापबाट राष्ट्रले मुक्ति पाउने कहिले ? मुक्त पार्ने कसले ? राजा छैनन्, राजतन्त्र छैन, नेता छन्, लोकतन्त्र छन् तर यी शोषणको पर्याय बनेका छन्, नैतिक धरातलमा उभिन सकेका छैनन् । समस्या यहीँनेर छ, समाधानका लागि अग्रसरता छैन । यसकारण नागरिक अब अर्को परिवर्तनको आशा गरिरहेछन्, परिवर्तन ल्याउने शक्ति टाढा टाढासम्म देखिदैन । कालोबादमा चाँदीको घेरा हुनुपर्ने, छैन ।
पार्टीहरूको अधिवेशन देखियो । एमालेमा उही पुरानो गोरूले कोरली गाई ओटेको दृश्य चितवनमा देखियो । काठमाडौंमा राप्रपामा एउटा सभापतिको परिवर्तन भयो, नेपाली कांग्रेसमा दुई महामन्त्रीको । माओवादी सम्मेलन गर्दैछ, केही फरक पर्नेवाला छैन । अर्थात् परिवर्तनको १५ वर्षको असफलतापछि पनि उही पुरानै नेतृत्व । बुढाहरू उग्राइरहेछन्– उही थोते दाँत देखाएर । अग्रगमन, परिवर्तन, समृद्ध नेपाल, सुखी नेपाली । आमनागरिकले देख्ने सपना हो, नेतृत्वले देखाउने सोम शर्माले झैं सपना नै हो । कहिले पूरा नहुने सपना देखेर हेरेर र सुस्केरा हालेर कहिलेसम्म लोकतन्त्रको नारा फलाकीरहने ?
इन्द्रजात्रामा लाखे नाच र लोकतन्त्रमा बाँदरको हातमा नरिवलजस्तो दृश्य नेपालको राजनीतिक वर्तमान हो ।
हामी बाँदरबाट मान्छे त भयौं, मान्छेमा हुनुपर्ने विवेकलाई बिर्सेर बाँदर प्रवृत्तिको विकास गरिरहेका छौं । नागरिकमा चेत छ, त्यो चेत विवेकशील बन्न सकेको छैन । त्यसैले राजनीतिक नेतृत्वले रत्नपार्कमा चटकेले झैं लोकतान्त्रिक शासन प्रणालीमा चटक देखाइरहेका छन् र नागरिक हेरेर ताली पिटिरहेका छन् । हुन त नागरिक छरिएका छन्, ताली पिट्ने जमात ठूलो छ । ती ताली पिट्ने पार्टीका कार्यकर्ता हुन्, जो विवेकलाई बन्दकी राखेर स्वार्थको घोडा चढेर बुर्कुसी मारिरहेका छन् । यस्तो देशमा के को अग्रगमन, के को समृद्धि ?
१९४७ मा भारत स्वतन्त्र हुँदा महात्मा गान्धी युगनायक थिए । उनले चाहेको भए देश हाँक्नसक्थे । आफूलाई सम्मानको शिखरमा विश्राम दिए, त्यसैले उनी भारतका वापु बनेका छन् ।
१९४५ देखि १९७६ सम्म चीनमा माओ महान थिए, देवदूत थिए । उनलाई लाग्यो सांस्कृतिक क्रान्तिमा जनतामाथि अत्याचार भयो । उनले घुँडा टेकेर जनतासँग माफी माँगे । त्यसैले माओ महान मानिन्छन् । यद्यपि देङ्ले खुला कम्युनिजमको नीति लिएपछि देङ्का अनुयायी सी चिनफिङ् आधुनिक चीनका विश्वनेता बनेका छन् ।
विश्वशक्ति अमेरिकामा डोनाल्ड ट्रम्प अमेरिका फस्ट भन्दैथिए, उनका अहंकारलाई अमेरिकीले मन पराएनन्, उनलाई ह्वाइट हाउसबाट सडकमा मिल्काइदिए अमेरिकीले ।
परिवर्तन यस्तो हुन्छ । नेतृत्व त्यस्तो हुन्छ । २०६३ सालमा वसन्त परिवर्तन आयो, नेपालको बगैंचामा फुलेको फूल पनि झ¥यो । यस्तो पनि परिवर्तन हुन्छ ? लोकतन्त्र कति मीठो शब्दको परिवर्तन भयो, यो परिवर्तनलाई नेतृत्वले बपौति बनाइदिए । १५ वर्ष अघि जुन पार्टी थिए, आज पनि तिनै छन्, जुन जुन नेता थिए, आज पनि तिनै छन् । तिनीहरू न नीति, न व्यक्ति, न चरित्र बदल्न चाहन्छन् । उही भ्रष्ट मनोवृत्ति आज पनि कायम छ । सिङ्गो लोकतन्त्र अनीति, अत्याचार, भ्रष्टाचारमा चुर्लुम्मै डुबाइएको छ । यस्ता नेताहरू समाजवाद भन्छन्, सर्वहारावाद भन्छन्, लोकतन्त्र कार्यान्वयन भयो भन्छन्, यथार्थमा बर्बादतन्त्रमात्र कार्यान्वयन भइरहेको छ । बर्बादी कसरी लोकतन्त्र हुनसक्छ, कसरी समृद्धतिरको अग्रसरता हुनसक्छ ? नेता भ्रम छरिरहेका छन्, नागरिक भ्रमित भइरहेका छन् । कहिलेसम्म यस्तो हुन्छ, राष्ट्र असफल राष्ट्रको निकट पुगिसक्यो ।
उज्यालो र अन्धकार मान्छे आफै हो, यी उदाहरणबाट हाम्रा नेताले शिक्षा लिएनन्, परिणाम नेताहरू बादशाह बनेका छन्, मतदाता कमाराको भन्दा गएगुज्रेको जीवनयापन गर्न बाध्य पारिएका छन् । जनाधिकार र समाजवादजस्तो हीरालाई हाम्रो नेतृत्वले कीरा बनाइदिए । चेतना रहोस्, ५ जेठा राष्ट्रहरू मध्येको नेपाल, २०६२ सालमा दिल्लीको १२ बुँदे सम्झौतामा के पछारियो माओको रेडबुक र समाजवादको सिरान हालेर सुतेको नेपाल १४ वर्षमै खङ्गङ्गै सुकेर डङ्रङ्गै लड्ने अवस्थामा पुगिसक्यो । नेपाललाई चीन र अमेरिकाले दपेटेर भात खाउँ कि थाल खाउँ बनाइरहेछ । भारत नेपालको यो छटपटीलाई रमाइलो मानेर हेरिरहेको देखिन्छ । नेपालमा लोकतान्त्रिक समाजवाद र वैज्ञानिक कम्युनिजम छेपारा हुन् कि छेराउटी ? मौसमअनुसारको ट्यूनिक फेरेको फे¥यै छ । राष्ट्रमा कस्तो सकस हो यो ?
जनतलो जिम्मेवारी त दिएकै हो, जिम्मेवारी लिनेले जवाफदेही नबनिदिएपछि, नैतिकता बेचेर जिब्रोको स्वाद बनाइदिएपछि जनताको पनि केही नलाग्ने रहेछ ।
जुन व्यक्ति राष्ट्रलाई प्रेरणा दिन्छ, राष्ट्रहितमा काम गर्न प्रेरित गर्छ, त्यो असली नेता हो । जुन व्यक्ति लेण्डुप, मिरजाफर प्रवृत्तिको बीउ रोप्छ, त्यस्ताबाट विस्मार्कको राष्ट्रवाद खोज्नु मूर्खता हो । नेपालीले सून र पित्तल छुट्याउन सकेनन्, भूल यही गर्नाले आज राष्ट्र र जनताले महगो मूल्य चुकाइरहेका छन् । लोकतन्त्र मानवीय सभ्यता र संस्कृति हो । त्यो सभ्यता र संस्कृति नेपाली राजनीतिमा स्थापित गर्ने प्रयत्न कुनै नेताले गरेनन् । सडकदेखि पार्टीसम्म, संचेतनदेखि संसदसम्म, अड्डादेखि अदालतसम्म सुधारका आवाज उठ्छन् र पानीका फोका फुटेजसरी फुट्छन् । जबसम्म शासक प्रशासकहरू स्वार्थभन्दा देश ठूलो ठान्न सक्दैनन्, तिनीहरू भनेका सुकुलगुण्डाहरू नै हुन् । किनभने म्याद नाघेको औषधि र इमान छाडेको नेता विष बर्गमा पर्छन् । विषको धर्म समाप्त पार्नु हो । वर्तमान नेतृत्व विष समान बन्नाले देश मरिरहेछ, जनता मरिरहेका छन् । विधिको शासन र लोकतन्त्र सडकमा बेवारिसे बन्न पुगेको छ ।
जेठो राष्ट्र नेपालको कन्तबिजोग भयो । सम्हाल्ने कसले ?
इतिहासविदलाई थाहा छ, जनताको समर्थन र लोकप्रियताको गलत प्रयोग गरेका कारणले खु्रश्चेव अन्ततः नूनखानीमा लखेटिएका थिए । १५ वर्ष भयो नेपाली जनताको भर विश्वास, समर्थन र जनबल जनमतलाई वर्तमान नेतृत्वले सदुपयोग गर्न सकेका छैनन् । यी ख्रुश्चेवका आधुनिक अवतारहरूलाई जनताले लखेट्ने कहिले ? जबसम्म आफ्नो मतको मूल्य जनताले खोज्ने छैनन्, तबसम्म यो छाडा साँडे प्रवृत्तिको अन्त हुनेछैन । राजनेताको प्रादुर्भाव पनि हुनेछैन । यो कस्तो देश हो, नेता जनताको करको तलव खाने माष्टरलाई राजनीति गर्न प्रेरित गर्छ । विश्वविद्यालयहरूमा पार्टीका कार्यकर्तालाई प्रशासक बनाउँछ, भर्तिकेन्द्र खोल्छ । युवालाई विदेश निकासी गर्छ र लेवी काट्छ । गुण्डालाई पार्टीमा, चुनावमा नेता बनाउँछ र विधि निर्मातातहमा पु¥याउँछ । अझ कमिशन खोर र कर मारालाई मन्त्री बनाउँछ, कुनै कारवाही नै गर्दैन । देशमा ठूला ठूला भ्रष्टाचारका काण्डमा आफै मुछिन्छ र दण्डहीनता बढाउँछ । यस्तो देशमा लोकतन्त्र ? लोकतन्त्र भनेको विधिको शासन हो, उच्च नैतिकवानले शासन गर्ने हो भन्ने विषय नै पार्टीहरूले बुझेका छैनन् । वर्तमानका पार्टीहरूका लागि लोकतन्त्र भनेको चुनाव जित्नु र सत्तामा कब्जा गर्नु मात्र हो भन्ने छ । यस्तो नेतृत्वले लोकतन्त्र र लोकलाई रसातलमात्र पु¥याउँछ ।
जब लोकतन्त्रमा पार्टी हुन्छ, पार्टीमा विधि, नीति र सिद्धान्त नाममात्रको हुनछ, राजनीतिक अपराधमात्र हुन्छ, पार्टीले अपराधीको संरक्षण गर्छ, त्यहाँ अपराधीले फूलमाला लगाएर लोकतन्त्रलाई तमासा बनाउँछ । नेपाली राजनीतिमा यही भइरहेको छ । नेपालको लोकतन्त्रमा पार्टी साह्रै खुशी छ, दुःखी छन् त लोक छन् । लोक नेतालाई ‘चोर’ भन्न थाल्नु स्वभाविक हो ।
नयाँ ऋतु आउँछ, नयाँ पात पलाउँछन् र वृक्ष फुल्छ, फल्छ र ढकमक्क देखिन्छ, छहारी दिन सक्षम हुन्छ । १५ वर्षे लोकतन्त्र ऐंजेरूभन्दा बढी केही भएन । यसको सम्पूर्ण जिम्मेवारी नेतातन्त्रलाई जान्छ, जुन नेतृत्वले सक्षमता देखाउनै सकेन । यसकारण त– आम जनताको मुहारमा पीडामात्र देखिन्छ । छटपटी मात्र देखिन्छ । परिवर्तनपछिका केही समय ठूलै चमत्कार गर्छु भन्थे नेताहरू, बिस्तारै बिस्तारै बदनाम हुँदै गए । जनयुद्ध र जनआन्दोलनका बेलाका नेताहरू जनताका नजरमा देवताबाट ‘चोर’मा परिणत भइसकेका छन् । यसबाट थाहा हुन्छ, लोकतन्त्रको आवरणमा असुरहरू कसरी जाज्वल्यमान भएका छन् ।
लोकतन्त्रको इन्द्राशन त डगमगायो । महाभारतकालमा श्रीकृष्ण थिए र शिशुपालको वध गरेर अत्याचारको अन्त गरे । वर्तमान नेपालमा पापाचारको अन्त गर्न कता छन् श्रीकृष्ण ?