देवी काफ्ले– महिला हिंसा समाजको डरलाग्दो दिर्घ रोग हो । देशमा कैयौं पल्ट राजनैतिक परिवर्तन भए पनि महिला हिंसामा कमी आएको छैन । युग परिवर्तन हुन्छ । ब्यवस्था परिवर्तन हुन्छ । राजनैतिक,आर्थिक परिवर्तन हुन्छ । मौसम परिवर्तन हुन्छ । यी सबै परिवर्तनले केही न केही नयाँ परिवर्तित सन्देश लिएर आउँछन् । समय अनुसार मान्छेको प्रबृति पनि फेरिएको छ । नयाँ प्रबिधिहरूका कारण समाज, देश दुनिया बदलियो । यहाँ बदलियन त एउटै कुरा ! महिलामाथिको हिंसा, हिंसाका रूप चैतमासको खडेरीमा सल्किएको आगोजस्तै सल्केको छ ।
महिला हकहित,महिला उत्थान, महिला अधिकार सरकारले कानूनमा ब्यवस्था गरेता पनि त्यसको फितलो कार्यान्वयनका कारण आज हिंसा मौलाइरहेको छ ।
लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको शुरूवात महिला विरूद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीप ऋध्न्ी को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रूपमा विश्वव्यापी रूपमा मनाउँदै आएको पाईन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३० वर्ष भइसकेको छ । उपलब्धि निराशाजनक छ ।
१६ दिने अभियानको शुरूवात नेपालमा वि सं २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरूद्ध हुने हिंसाका सवालमा सचेतनामुलक कार्यक्रमहरू संचालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारले भने २०७५ सालदेखि हरेक वर्ष लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित सवै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो ।
हिंसा बिरूद्धका अभियानले पिडित वर्ग वा सम्भावित हिंसा हुने बर्ग क्षेत्रलाई छोयो कि छोएन ? यता भन्दा धेरै सडकमा घन्काइएका नारातिर,ब्यानरतिर सम्बन्धितहरूको ध्यान गय जस्तो लाग्छ । १६ दिने अभियान पर्वको रूपमा स्थापित भएको देखिन्छ । अधिकारकर्मीहरू तथ्यांक संकलन गरि त्यसको प्रतिवेदन बुझाएर ठूलो उपलब्धि हासिल भएको ठान्छन् । अभियन्ताहरू नाराजुलुस गरेर अभियान सफल पारेर मक्ख पर्छन् तर हिंसा न्यूनिकरण भन्दा ज्यादातर भैरहेको छ ।
सतिप्रथा उन्मुलनका लागि जंगबहादुर राणाले १९१० मै मुलुकी ऐन जारी गरेका थिए अन्त्य हुन १९७७ सालसम्म पर्खनु प¥यो । त्यो पर्खाइ आखिर सुखद भयो सति प्रथा अन्त्य भएर । त्यसपछि पनि महिला माथिका अनेक हिंसाहरू महिलाका काल बनेर आएका छन् । २१औं शताब्दीका मानव भनेर छाती ठोक्ने हामी आज पनि ब्यावहार उहीँ १७ शताब्दी कै लागू गर्छौं । अनि हिंसा कसरी कम होस् ?
पञ्चायत कालमा मारिएका नमितासुनिता देखि लिएर निर्मलाको हत्यारा समेत पक्राउ गर्न नसक्ने जति सरकार आए पनि तिनलाई सक्षम सरकार र परिवर्तित समाजका संवाहक कसरी भनौं । घरेलु हिंसाबाट पिडित, समाजबाट पिडित महिलाहरूको संख्या आज पनि नगन्य छ । अभियन्ताहरूले ती महिलाहरूलाई कति समेट्न सके ? कति महिलालाई सचेतना दिलाए ? अभियानले ल्याएका कुनै दिर्घकालीन समाधानका उपायहरू ती लक्षित वर्गमा पुगे कि पुगेनन् ? कि नारामा मात्रै सिमित रहे ? अभियान, दिवस आउँछ, तारे होटलमा जमघट गरेर प्रतिवेदन हेरिन्छ बस् ।
एसिड आक्रमण,दाइजो, छाउप्रथा, बोक्सी लगायत बलात्कारसम्मका हिंसाले आज महिला बिक्षिप्त छन् । कतिबेला, कहाँ, कोबाट, कसरी कालोबादलले ढाकेसरी कुन अपराधको सिकार हुने हो थाहा छैन । राज्यले संबिधानमा प्रत्यायोजन गरेका अधिकारका बारे नजान्ने, थाहा नपाउने कैयन महिला छन् । सामाजिक संरचनाका कारण हिंसा सहेका महिला कैयन छन् । आवाज उठाउन त के चँुं गर्न सक्दैनन् किनकी हाम्रो समाजका आँखा नै महिलाप्रति दोषि छन् । आजकल हिंसाको बढुवा भएको छ । सभ्य, भब्य र प्रतिष्ठितहरूको हिंसाको रूप फरक छ । राजनैतिक दलहरूबाट नेतृत्वले गर्ने हिंसा फरक छ । जब जब सार्वजनिक कार्यक्रम हुन्छन् पुरूषहरूलाई खादा ओढाउन, माला लगाईदिन अनि ब्याच घोच्दिन महिला चाहिने । मञ्चमा चिया कफि लैजान महिला चाहिने । के यो भिआईपी महिला हिंसा होइन ?
हिंसाका घटना कति छन् ? आजका मिडिया भरिएका छन् । १६ दिने महिला हिंसा बिरूद्धको अभियानमा कोठे कार्यक्रम, सडकमा जुलुस गरेर मात्रै हिंसा न्युनिकरण हुदैन । शिक्षाको अभावमा, जनचेतना नभएका ठाउँका ती महिला सामु उनका हकअधिकारको व्याख्या गरिदेउ । हिंसाबाट बच्ने केही दिर्घकालस्न उपाय सुझाईदेउ । हिंसा बिरूद्ध आवाज उठाउन सिकाइदेउ । नत्र नाराजुलुसमै अभियान सकिन्छ ।
पितृसत्तात्मक रितबाट केही माथि उठेको नाटक भाषणमा ल्याएर मात्रै हुदैन । आज पनि हामीकहाँ सोधिने गरिन्छ महिलालाई के काम गर्छेउ भनेर,जब घरको काम भनिन्छ तब किच्च दाँत देखाएर निच्च थुतुनो फाल्छन् । घरको काम काम हैन ? आफ्नो श्रमको मूल्यांकन गर्न सकुन् । श्रमिक महिलाले जति कठिन काम गरेपनि ज्याला पुरूषको भन्दा कम दिईन्छ । उनीहरूलाई पनि ज्ञान होस् मेरो श्रमको मूल्य कति हो ? यस्ता हिंसा विरूद्धका अभियानले महिलालाई जागरूक पार्न सक्नुपर्छ । अभियानले र दिवसले पु¥याउन नसकेका हजार नाराहरू ती क्षेत्रमा पिल्सिएका महिला केन्द्रित बनाएर जान सकेमा मात्रै महिला हिंसा बिरूद्धको १६ दिने अभियान सफल होला । अझै पनि बेला छ प्रयास त गरौं ।
महिला हिंसा बन्द गर्नका लागि कर्मकाण्डी चरित्र त्याग्नैपर्छ ।