प्रेमसागर पौडेल - -
हाम्रा प्रायजसो राजनैतिक दलहरूले नेपाल र नेपालीका विरूध्द घात गर्दै आएका छन् । सरकारमा पुग्नका निम्ति विदेशीसँग मोलमोलाई गर्ने र सरकारमा पुगेपछि देशको नागरिकता, नदीनाला, प्राकृतिक सम्पदा, सुरक्षा ब्यवस्था आदि उनीहरूको हितमा सुम्पने काम हुँदै आएको छ । यस्ता कार्यमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादीहरू र मधेशवादी दलहरू सबैभन्दा बढी जिम्मेवार छन् ।
नेपाली काँग्रेसले कोशी गण्डकीमा भारतीय प्रभाव कायम गर्न सघायो । एमालेले मित्रताका लागि एकदुई एकड जमीन ठुलो कुरा होइन भन्यो र मिचिएका सीमालाई अनुमोदन गर्ने लक्षण देखायो साथै टनकपुरमा भारतीय प्रभाव कायम गर्न सघायो । माओवादीले आफैले भन्ने गरेको जनयुध्द सुरू गरेको बेला छेर्नेगरी भारतीय विस्तारवादको विरोध गर्दै थियो, शान्ति प्रकृयामा आउने क्रममा पचास लाखलाई नेपाली नागरिकता दिनु पर्ने, नेपाली सेनाको आकार घटाउनु पर्ने लगायतका विषय उठाएर विस्तारवादीको एजेण्डा कार्यान्वयन गर्न सरकारलाई वाध्य वनायो । आफू सरकारमा भएको अवस्थामा देश र जनताका पक्षमा भन्दा ब्यक्तिगत स्वार्थ पूर्ति गर्ने तर्फ लाग्यो ।
नेपाली काँग्रेस र नेकपा एमालेलाई साम्राज्यवादी विस्तारवादी पुँजीपति सामन्तको दलाल पार्टी भनेर आरोप लगाउने र आफुलाई जनताको पार्टी भनेर चिनाउन खोजिरहेको अहिलेको एमाओवादी पार्टीले राष्ट्र राष्ट्रियता राष्ट्रिय अखण्डताका लागि कुनै एजेण्डालाई पनि सहीरूपमा उठाएन । राष्ट्रियताको मुद्दालाई दुवै माओवादीले प्रोपगण्डाको रूपमा मात्र चलाए । आज, नेपालको बिखण्डन र बिभाजन गराउन चाहनेहरूको पक्षपोषण गरिरहेछ, जनतालाई उचार पछार गर्ने र राष्ट्रियता कमजोर वनाउने योजनामा सहभागी भइरहेको छ । आजको आवश्यकता भनेको देशको अखण्डता, राष्ट्रिय एकता र विकासलाई मुख्य एजेण्डा बनाएर सबै राजनैतिक दलहरू राष्ट्रिय स्वार्थले प्रेरित हुनु नै हो । न कि सरकारमा जानका लागि राष्ट्रियता र अखण्डताको मोलमोलाई, विदेशी रविदेशी एजेण्डाको भरिया हुनु हो । अरूभन्दा नम्बरी मै हुँ भन्ने खालको दलाल बन्ने जस्तो प्रकारका प्राक्टिस बन्द गरौं ।
वर्तमान राजनीतिक परिदृश्य देखेपछि मलाई भन्नु यत्ति छ– नेपाल देश र नेपालीको स्वार्थ रक्षाका लागि म जस्तोसुकै बलिदानी दिन तयार छु । आज प्रत्येक नेपालीमा यस्तै कसिलो भाव र भावना आवश्यक छ ।
प्रो.इन्डियन, प्रो.चाइनिज वा प्रो.अमेरिकन होइनौं, हामी नेपाली हौं ।
हामी पहिले नेपाली नै हौं, पहिला नेपाली नै हुनुपर्छ, यसैमा हाम्रो भलो छ । नेपाली हुनुमै सुखद भविष्य छ ।
जुनसुकै परिवर्तन अथवा जुनसुकै नेतृत्वको सरकार गठन भए पनि भ्रष्टाचारमा अडेको हाम्रो राज्यब्यवस्था दक्षिण–पश्चिमी वायुबाट साह्रै प्रभावित छ । यसबाट मुक्ति नभएसम्म समृद्धि खोक्रो सपनामात्र हुनेछ । हामी प्रत्येक नेपालीमा विवेकको विकास हुनुपर्छ ।
जुनसुकै ब्यवस्था आएपनि ईण्डो–वेष्टर्नका भनेर चिनिने अनुहारले मात्र प्राथमिकता पाउने किन ? सबै पार्टीका प्रत्येक नेताले बुझ्नै पर्ने, भुल्नै नहुने सत्य के हो भने राजनीतिक सिद्धान्त र जनईच्छा विपरीत दलीय प्रतिषोध लक्षित राजनीति राम्रो भविष्यको संकेत होइन ।