Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भीष्म किन मौन छन् ?

१३ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

राजन कार्की - - - 
म यही देशमा जन्मे, यही देशमा मर्छु, यो देश मेरो हो भन्ने भीष्म पार्टीहरूको काँधमा राखेर विदेशीले चलाएका वाणहरूको शैयामा सुतिरहेका छन् । उनले बुझेका छन्– देशभक्तलाई यसरी वाणको शैयामा सुत्न बाध्य पार्ने यही देशका सन्तान हुन् तर वीभिषण हुन् । देशलाई हाँक्नेहरूको बुद्धि फिर्ला र गल्ती अनुभव गरेर सम्मानका शव्दहरूसहित आउलान् भनेर नेपालका आधुनिक भीष्म अपमानको वाणको शैयामा प्रतिक्षा गरिरहेका छन् ।
यी भीष्मलाई थाहा छ, उनी उठ्न सक्छन् । वाण फालेर उभिन पनि सक्छन् तर पनि जनता आफैले आफ्नो वर्चस्व कायम गरून्, स्वाभिमान खोजुन भनेर भीष्म जनताको पनि प्रतिक्षा गरिरहेछन्  । २०६३ साल वैशाख ११ गतेदेखिको उनको यो प्रतिक्षा अनवरत जारी छ ।
मानौं, भीष्म अपमान पिएर देशको स्वाभिमान जगाउने मौन तपस्यामा छन्, उनको यो तपस्याको सुरू र अन्त कहाँ छ, ज्योतिषलाई पनि थाहा छैन ।
यी भीष्मको जन्मकुण्डली हेर्ने ज्योतिषले भनेका थिए– यिनको ३ पल्ट राजा हुने योग छ । २००७ साल र २०५८ सालमा यिनी राजा भइसके । तेश्रोपल्ट पनि यिनी राजा हुन्छन् कि हुँदैनन्, यो निश्चित देखिदैन । तर राजनीतिक परिदृश्यहरू जे जसरी कालाबादल बनेका छन्, देश हाँक्छु भन्नेहरू जसरी बहुलठ्ठी पारा देखाइरहेका छन्, लोकतन्त्रको नाममा जसरी लोकको हुर्मत लिने काम भइरहेको छ, यो सब देख्दा लाग्छ, नेपालमा एकपल्ट फेरि राजतन्त्र ब्यूँतन्छ । राजा जनताले आवश्यकता देखुन् भन्ने, जनता राजा अगाडि आउन् भन्ने र लोकतान्त्रिक नेतृत्व लोकतन्त्रलाई सडकमा नाङ्गेझार पारेर बलात्कार गरिरहने । यो अन्यमनस्क परिस्थितिमा वादल गड्गडाएर चट्याङ् परिरहेको छ, मुसलधारे वर्षाको सम्भाबना पनि छ । हुनसक्छ, समयले साइत निर्धारण गरिसकेको छैन । पूर्वाङ्ग भइसक्यो, साइत जुर्ने दिन नजिकिएको आभाष भइरहेछ ।
हो, असक्षमहरू प्राविधिक जनबलमा उफ्री उफ्री कराइरहेका छन् । भीष्म उठ्ने होइन, नागार्जुनबाट पनि निकालिदिन्छौं । जनप्रतिनिधि हुँ भन्नेहरू विदेशी ताकतका शिखण्डी बनिरहेका छन् र शिखण्डी यसैगरी उफ्रिरहेको छ । जो लोकतन्त्र लोकतन्त्र भनिरहेका छन्, यी विदेशीले खेलाएका खेताला हुन् । यिनले लोकतन्त्र बुझेकै छैनन्, त्यसैले लोक भोकले, रोगले मरिरहेका छन्, यिनीहरू खुशीले अट्टहास हाँसिरहेका छन् । कानुन व्यवस्था असरल्ल पारेका छन्, जवाफदेही कोही छैनन्, स्थिति दर्दनाक छ ।
लोकनेता लोकको रोदन देखेर  हाँस्छन् । यो त असुर प्रवृत्ति हो । असुरहरू लोकतन्त्रको गुड्डी हाँक्छन् भने बुझ्नुपर्छ, देशमा लोकतन्त्र छैन, निरङ्कूशताले टाउको उठाइरहेछ ।
लोकनेता लोकलाई अन्यायमा देखेर खुशी हुँदैनन् । लोकनेता लोक मर्दा शोक गर्छन् र लोकलाई बचाउन हदैसम्मको त्याग गर्छन् । हाम्रा लोक नामधारी नेताहरू त लोकलाई दुःख दिएर सुखानुभूति गर्छन्, कस्तो अचम्मको लोकतन्त्र यो ?
जेजस्ता अनियमितता र भ्रष्टाचारका समाचार आइरहेका छन् । जेजस्ता भ्रष्टाचारमा राज्य आफै संरक्षक बनिरहेको छ, त्यो देख्दा सत्ताधारी अथवा संसदवादी सबै रक्तपिपासु ड्य्राकुल्ला लाग्छन्, लोक मर्दा भोज खान्छन् । महाभारतको कथा र नेपालको राजनीतिक परिदृश्य उस्तै लाग्छन् । यी सबै देखेर भीष्म बेला बेलामा, पर्व पर्वमा चिन्ता गर्छन् । पीडाले शब्दको आँसु झार्छन् र आफू अपमानको वाण शैयामा झुलेर आफूप्रति झुत्तिखेल्नेहरूलाई टुलुटुलु हेर्छन्, बुझें बुझें भन्छन् ।
यी नेपालका आधुनिक भीष्मले के बुझे, के देखे र के हेरे, उनको मनको कुरा कोही पनि पत्तो पाउँदैनन् । हो, कांग्रेस राजतन्त्र विरोधी थिएन । अतिवादले गणतन्त्रको पहिलो राष्ट्रपति बन्नोस् भनेपछि कांग्रेसले सिद्धान्त त्याग्यो, नीति र नैतिकता त्याग्यो । २०६३ सालपछि नेपाली कांग्रेस जसरी अतिवादीको टेकोमा अडेस लागेर उभिएको छ, आजको दिनमा पनि सिंहदरवारको सत्तामा बसेर सत्तारस चुसिरहेको छ । कांग्रेसलाई थाहा छैन, ऊ आफै समाजवादको हत्या गरिरहेको छ । नेपाल यस्तो देश हो, जहाँ २००९ सालतिर गौरीशंकर छात्रसमिति पनि थियो, यो समितिका लक्ष्मण घिमिरे, शिवबहादुर खड्का, विपिन कोइराला, भवेन्द्र खड्का, श्रवण कोइराला, हेमन्त कोइराला, भरत बरालहरूले पञ्चायतमात्र होइन, राजतन्त्रै फाल्नुपर्छ भनेर रगतको सहीछाप गरेको इतिहास छ । तर बीपी कोइराला थिए, जसले राजतन्त्र र कांग्रेसको घाँटी जोडिदिए । जीवनको उत्तराद्र्धसम्म पनि बीपी कोइरालाले राजतन्त्रलाई परित्याग गरेनन् । जबकि राजतन्त्रले उनलाई जति कसैलाई पीडा दिएको थिएन । त्यस्ता हुन्छन्, राजनेता भनेका । राजनेताले सुदूर भविष्य हेर्छ, राजनीतिलाई व्यापार बनाउनेहरूले तत्कालको लाभ हेर्छन् । वर्तमान नेपालमा राजनीति होइन, राजनीतिक व्यापार चलिरहेको छ, चम्किरहेको छ ।
पत्रकार मदन शर्माले लेखेअनुसार २०१० सालको जाडोमा वीपी निवासमा वीपी, अचुतराज रेग्मी, पद्यशंकर अधिकारी मकलमा आगो तापिरहेका बेला बीपीले भन्नुभएछ– मैले मुक्तिसेना प्रयोग गरेर राजतन्त्र खतम गरिदिन राति १२ बजे अर्डर दिइसकेको थिएँ । तर कुरो फुस्किएर सुवर्णजीको कानमा पुगेछ र मलाई त्यसो नगर्न आग्रह गरे । 
त्यसपछि बीपी कोइरालाले कहिले पनि राजतन्त्र समाप्त पारेर प्रजातन्त्र सुरक्षित हुने ठानेनन् । निरन्तर राजतन्त्र विरोधीको ढाल भएर उभिरहे, प्रजातन्त्रको वकालत गरिरहे । बीपी आज छैनन् तर समाजवाद र बीपी नेपाली राजनीतिका अमर पात्र हुन्, अमर राजनेता हुन् ।
नभन्दै जनमत संग्रहको परिणाम स्वीकार गर्ने बीपी बितेको सातै वर्षमा अर्थात् ०४६ सालमा दलमाथिको प्रतिवन्ध फुकुवा भयो । हुन त बहुदलका लागि भारतबाट डीपी त्रिपाठी, हरकिसन सिंह, डा.फारूकी, एमजे अकवर, सुब्रमण्यम स्वामीहरूको लस्कर गणेशमान सिंहको चाक्सीवासीमा बोलाउने यिनै थिए । तथापि देशको अमनचैनका लागि राजाले जनतासामु झुकिदिए ।
यसपछि कहालीलाग्दा घटनाहरू भए । दरवार हत्याकाण्ड भयो । ज्ञानेन्द्रलाई राजा बनाउनेले नै आन्दोलन छेडे । विदेशी हस्तक्षेप निम्त्याए र माओवादीलाई समेत जनआन्दोलनमा मिसाएर सुनामी ल्याउने काम भयो र राजाले जनताको नासो जनतालाई सुम्पेर राजनीतिबाट अलग भए । २०६३ सालबाट किनारा लागेका राजा २०६५ साल जेठ १५ गते नागार्जुन बास गए । त्यसपछि कुनै राजनीतिक शक्तिले आजसम्म पूर्वराष्ट्राध्यक्षलाई सन्चोबिसन्चो सोधेका छैनन्, उचित मान दिएका छैनन्, उल्टो समय समयमा धम्क्याउने र तर्साउने गरेका छन् ।
पूर्वराष्ट्राध्यक्षको घोर अपमान । अपमानको प्याला पिएर पूर्वराजा अपमानका सुइराहरूमा घोपिएर माटो र जनतालाई हेरिरहेका छन् । कहिले कहिले चटपटाउँछन्, एकठाउँबाट अर्को ठाउँमा जान्छन्, पूजाआजा गर्छन्, भेट्न आउनेसँग अन्तरक्रिया पनि गर्छन्, पर्वपर्वमा चिन्ता प्रकट गर्छन्, देशवासीलाई शुभकामना पनि दिन्छन् । तर उनका चिन्ता र चासोलाई राजनीतिलाई व्यवसाय बनाएका नेताहरूका लागि अपच हुन्छ, वान्ता गर्छन् । यद्यपि यी भीष्म आज पनि अपमानको सुइराहरूमा माछो घोपिएझैं घोपिएर टुलुटुलु देशको बिग्रदो हालत हेरिरहेका छन् । जनता विद्रोह गर्न नसक्ने, पूर्वराजा आफै विद्रोहमा नलाग्ने अनि कसरी देशको यो खराव हालत सुध्रिने हो केही भन्न सकिने अवस्था छैन ।
तरिका दुई थरिमात्र छ । या त विद्रोह, या त निर्वाचन । राजा निर्वाचनमा जाने सवालै आएन । विद्रोह राजाले होइन, जनताले गर्नुपर्ने हो । राजनीतिक दलहरू यति चलाख छन् कि यिनले बुझ्ने जनतालाई कार्यकर्ता घोषित गरेर विवेकहीन बनाएका छन् । जो सर्वसाधारण छन्, तिनीहरू हातमुख जोर्ने समस्याले जेलिएका छन् । अनि कसरी हुन्छ विद्रोह । यी सर्वसाधारण यति बाध्य छन् कि आफ्ना ससाना कामका लागि समेत यिनै भ्रष्ट नेतालाई भोट हाल्न बाध्य छन् । लोकतन्त्र यसकारण काम गर्न सकिरहेको छैन । विधिको शासन भन्नेहरू विधिलाई स्वार्थको जाँचोमा हरेक दिन पिठो बनाइरहेका छन् अनि कसरी संविधानले काम गर्छ ? संविधान समस्यामात्र सिर्जना गरिरहेको छ ।
लोकतन्त्र आयो, यो परिवर्तनमा नेपाली नेताहरूको भूमिका मात्र शिखण्डीको थियो । शिखण्डी अर्थात प्रतिषोधको । राजतन्त्र फाल्न ००७ साल, २०१० र रगतका ल्याप्चे लगाउनेहरूले गर्न सकेनन्, यिनैले विदेशीको लगानी र समर्थन लिएर सम्पन्न गरेको देखिन्छ ।  यसकारण त यिनीहरू १५ वर्षदेखि नयाँ नेपाल बनाउने सपना देखाएर देश र देशवासीलाई लुटिरहेका छन्, लथालिङ्ग पारिरहेका छन् । नयाँ नेपाल बनाउनेहरूले देशलाई असफल राष्ट्रको भीमा पु¥याइसके, तैपनि बुद्धिजीवी, विचारक, नागरिक समाज यिनकै पछाडि दगुरीरहेका छन्, विदेशीको घूसपैठ कति गहिरो छ, अनुमान लगाउन सकिन्छ ।
यी सब दुखान्त परिणति हेर्न भीष्म बाध्य छन् । यो बाध्यताको अन्त कहिले र कसरी हुन्छ, त्यो विधातालाई बाहेक अरू कसैलाई थाहा छैन । विधाता अति निर्दयी हुन्छ भनेर सोध्नु पनि गलत हुनेछ किनकि सही र गलत छुट्याउने र न्याय दिने अदृश्य शक्ति छ, पक्कै छ । त्यो शक्तिले हरेक घटनालाई दैवीशक्तिको तराजुमा राखेर जोखिरहेका छ ।
पहिले अर्को जन्मको कुरा हुन्थ्यो, अहिले अदृश्य शक्तिको धर्मकाँटाले यही जन्ममा जोखेका र परिणाम देखाएका अनेक घटना हाम्रा सामु छन् ।
संविधान, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, राष्ट्रपति, संवैधानिक अङ्गहरू, राज्यसञ्जाल सबै छन् तर सुशासन छैन । जता हेरे पनि सेटिङ र भ्रष्टाचारमात्र छ । तर कुनै पनि निकया पवित्र देखिन्न । यी हरेक निकायप्रति जनतामा आस्था र आशा मर्दै गएको छ । कुनै नेतालाई राजनेता कसैले मान्दैन । यहीकारण कुनै नेताको जयजयकार हुन्न । घृणा व्यापक छ । जनता निराश छन् । यति घना नैराश्यतामा भीष्मरूपी पूर्वराजा डुब्दै गएका छन् । देशमा पराइतन्त्रको जगजगी र पराइका खेतालाको रजगज विरूद्ध जनता जाग्न थालेका छन् । एउटा अभिभावक त चाहिन्छ, चाहिन्छ भनेर जुर्मुराएका पनि छन् । प्रश्न यत्ति छ कि यो जुर्मुराहटमा स्वाभिमान कति छ ?
देशको आधा जनसंख्या दैनिक आधा डलरमा बाँच्छन्, गरीबीको रेखामुनी २० प्रतिशत जनता छन् । राष्ट्रसंघले हालै नेपाललाई विकासशील देशको दर्जामा उकाल्ने निर्णय ग¥यो, अब के गर्नुपर्छ, कुनै राजनीतिक दल, सरकार र संसदमा छलफल नै हुनसकेको छैन । ६२ लाख युवायुवतीहरू खाडीदेखि काबुल, कंगोसम्म यौन र श्रम शोषणमा मरिरहेका छन् । आज पनि मुलुक दण्डहीनकै अवस्थामा छ । नयाँ नेपाल बनाउनेहरूले के बनाए, दूरवीन लगाएर खोज्दा केही भेट्टाइन्न । जनतामा असन्तुष्टि, न्यायको अभाव, भोको पेट, नाङ्गो जीउ, सडकको बास उस्तै छ । रगत चढाएर लोकतन्त्र आयो, लोकतन्त्र नेताहरूको लुट्नेयन्त्र बन्यो ।
जनताले बलिदान गरे, जनताका लागि त्याग गर्ने कुनै नेता छैनन् ।
स्मरणरहोस्, लोकतन्त्रको प्राण जनविश्वास हो । त्यो जनविश्वास लोकतन्त्रले गुमाउँदै गएको छ ।
‘डेभेलपमेन्ट अफ फ्रिडम’ मा अमत्र्यसेनले लेखेका छन्– गुलाफको फूल भनेपछि फूलमा सुगन्ध हुनैपर्छ । लोकतन्त्रको बगैंचामा गुलाफ फुलेन ।
दक्षिण एसिया विज्ञ लियोरोजका अनुसार नेपाल विश्वमै स्वर्गको एकटुक्रा हो । यो स्वर्गको टुक्रा नर्कजस्तो बन्यो ।
१८१५ डिसेम्बर २ मा गिर्वाणविक्रमको अधिकार बोकेर गएका गजराज मिश्र र चन्द्रशेखर उपाध्याय बृटिश इण्डियाको जालोमा परेर देशको अहित गरेको घटना दोहोरिएको छ । नयाँ नेपाल बनाउन अघि सरेका नेताहरू गजराज मिश्र र चन्द्र शेखरका भूतजस्ता लाग्छन् । यो भूततन्त्रलाई बेहोर्न व्यवसायी बनेका राजनीतिक व्याधाको तीरमा घोपिएका भीष्मको सहनशक्तिको प्रतिक्षा जनताले गरिरहेछन्, समयले भने यी भीष्मको परीक्षा लिइरहेको छ ।