Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

झुकाइदै छ नेपालको शीर

०६ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

शाश्वत शर्मा - - - 
गत शुक्रवारपरमादेशबाट नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बडो तामझाका साथ भारतीय योगगरू एवम् व्यापारी बाबा रामदेवको आस्था नेपाल र पतञ्जलि नेपाल नामक टीभी च्यानलको उद्घाटन गरे । भूपू प्रधानमन्त्रीहरू माधव नेपाल र प्रचण्ड र पूर्व मन्त्री एवम् बहालवाला मन्त्रीहरूको उक्त उद्घाटन कार्यक्रममा उपस्थिति थियो । उपस्थित सबैले भारतीय गूरूको जमेर तारिफ गरे । प्रधानमन्त्रीले भारतीय व्यापारीको टीभी च्यानललाई नेपाल सरकारले निशुल्क जग्गा उपलब्ध गराउँछ भनेर उद्घोष गरिदिए, त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचडले त बाबा रामदेव क्रान्तिकारी भएको बखान गरे । माधव नेपालले पनि योग र आयुर्वेदसँग बाबा रामदेवलाई जोडेर गर्नुसम्म तारिफ गरे । कस्तो अचम्म ।
उपस्थित एकथरिका अनुसार बाबा रामदेवको यतिबिघ्न बखान गरिएको थियो कि लाजले शीर नै निहुरियो । आफ्नो देशका विभूतिलाई नहेर्ने, नटेर्ने, यी नेपाली नेताहरूले विशुद्ध व्यपाराी बाबालाई सगरमाथाको उचाइमा पु¥याए । वास्तवमा नेपालीहरू अभागी नै हुन् । यस्तो कृतघ्न नेताहरू पाएका छन् । विभूतिहरू, नेपालका सर्वश्रेष्ठ व्यक्तित्वहरूलार्य नजरअन्दाज गर्ने यिनीहरू भारतका व्यापारी, सत्तारूढ दलका निकटेको भजनकीर्तन गर्ने गर्छन् । ब भारतीय भन्ने वित्तिकै यिनीहरूको अमोठतालु सुक्ने गर्छ । वैध अवैध केही जान्दैनन्, नियमकानुन बिर्सन्छन् । संविधान मिच्छन् । स्रोत भन्छ– सञ्चारमा विदेशी लगानी गर्न पाइँदैन, बाबा रामदेवले चलाउने टीभी गैह्रकानुनी हो, अनुमति पनि लिएको छैन । त्यस्तो टीभीलाई प्रधानमन्त्री जग्गासमेत दान दिने घोषणा गर्छन् ।
बाबा रामदेव खर्बपति छन् । नेपालमा चुनाव आउँदैछ । त्यसका लागि खर्च चाहिन्छ । बाबा रामदेव भारतीय जनता पार्टीका निकट छन् । सत्तारूढ भाजपाको आशीर्वाद चाहिन्छ । यसकारण संविधान कानुन मिचिएको हो । बाबाको च्यानलको उद्घाटन र प्रशंसा गर्ने होडबाजी नै चलेको यही कारण हो । टीभी च्यानलहरूमा कसरी लगानी गरिएको हो ? कसरी बाबाले लगानी गर्न पाए ? योग, धर्म अनि आयुर्वेदको कलेवरमा राखिएता पनि यसमा शंका गर्नुपर्ने धेरै कुराहरू छन् । खासगरी भाजपा जो भारतको शासनमा छ, त्यसको भातृ संगठन आरएसएसको नीति भनेको अखण्ड भारत हो । जसमा यो क्षेत्रमा सबै मुलुकहरू त्यस अखण्ड भारतभित्र समाहित हुनुपर्छ भन्ने नै हो । त्यस्तो दुर्भावना बोकेको संगठनका प्रमुख व्यक्तिहरू मध्येकाहरूले सञ्चालन गरेको टीभी च्यानलको उद्घाटन गर्ने नेपालका प्रधानमन्त्रीले ? सत्तारूढ गठबन्धनका नेताहरू आरती उतार्ने ? यो त अति हो । नेपाललाई भारतमा गाभ्नुर्प भन्नेहरूको मिसन हो यो टीभी च्यानल । यसमा सरिक भएर गठबन्धन दलहरूले के सन्देश दिन खोजेका हुन् ? आरएसएसको नीति नै गठबन्धन दलहरूको नीति हो त ? नेपालीले कहिलेसम्म ताली बजाएर बसिरहने ? बडो गम्भरि संवेदनशील छ यो उद्घाटन र टीभी प्रशारण । हरेक घटनाको रौंचिरा विश्लेषण गरेर सजग पनि हुन जरूरी देखिन्छ । नेपालीलाई भारतमुखी बनाउन अनेक मिसनपछि यो अर्को नयाँ मिसन आएको हुनुपर्छ ।
भारत बुझ्ने बुझकीहरू भन्छन्– चुनावताका  र राजनीतिक विवादका समयमा बाबा रामदेवका यी च्यानलहरूको सुक्षम रूपमा अध्ययन गर्नुपर्ने हुन्छ । सिधा र सरल रूपमा प्रसारण नगरे पनि घुमाउरो पाराले यिनले के प्रसारण गर्छन् ? त्यो महत्वपूर्ण हुनेछ । निश्चय नै पतञ्जलिका उत्पादनलाई बढी खपत गराउने प्रचार हुनेछ तर यही बाटोबाट आरएसएसको नीति प्रचार हुनथाल्ने आशंका छ । जो अखण्ड भारतको अभियान हो । सोझो अर्थमा भन्दा नेपालीको ब्रेन वास गरिनेछ । योग, आयुर्वेद त देखाउने दाँत मात्र हुनेछन् । चपाउने त नेपाली बजार कब्जा गर्ने र नेपाललाई भारतमा बिलयन गराउने भूमिका निर्वाह गर्ने हुनसक्छ ।
यसरी नेपाली आकाशमा, नेपाली अस्तित्व र स्वाधीनतामाथि नेपालीत्व विरोधी खतराका बादलहरू झन झन देखा पर्दै जान थालेका छन् ।
नेपाली नेता नै नेपाललाई भारतमय बनाउन लागिपरेका छन् । अब पनि नेपाली नउठ्ने, नजाग्ने, नेपाली स्वाभिमान विरोधीलाई ठेगान नलगाउने हो भने मुलुक रहँदैन । यो पक्का छ । बाबा रामदेवले नेपालमा पनि टीभी खोलेछन् भन्ने मात्र होइन, यसको दूरगामी असरबारे सोच्न थालौं । नेपाल विरोधी विदेशीभन्दा पनि हाम्रै नेताहरू विदेशीका पछुवा बनेका छन् । मुलुक बचाउने हो भने यस्ता तत्वको अभिष्ठको जरो उखेल्नु जरूरी छ । नेपालमा जेमन्त गर्न छुट छैन । यो देखाउन र बुझाउन जनता नै जागरूक हुनुपर्ने भयो । जनप्रतिनिधिका नाममा नेताहरूले नेपाललाई धर्मशाला नै बनाइदिने भए, जनता जाग, जनता जाग ।