स्वयम्भुनाथ कार्की - -
नेपालको परापूर्व कालदेखिको मान्यता तथा सभ्यताको खिल्लि उडाउँदै विदेशी ख्वाम्मितहरुको योजना, निर्देशन तथा सकृय सहयोगमा नेपाल नयाँ नेपालमा रुपान्तरित गरियो । दलहरु माथिको प्रतिवन्ध फुकेर लागु भएको बहुदलीय संसदीय व्यवस्थाको शुरुवात नै नेपालीको शान्ति तथा आत्मस्वाभिमानको निमित्त त्यति सुखद भने रहेको थिएन । जनता भित्र आक्रोसको विजारोपण हुदै थियो । यो आक्रोसलाई जनताले मत दिएर पठाएका दलका नेताहरुले महत्व दिन आवश्यक ठानेन् ।
यस भन्दा पहिला जनप्रतिनिधि हुन जुन भूगोलको प्रतिनिधित्व गर्ने हो त्यसै स्थानको वासिन्दा हुनु पर्ने तथा आफ्ना प्रतिनिधिले सही प्रतिनिधित्व नगरेमा त्यसलाई फिर्ता वोलाउन जनतालाई प्राप्त प्रत्याह्वानको अधिकार नै बहुदलीय संसदिय प्रजातन्त्रले जनताबाट प्रत्याह्वान गरेको थियो । त्यसैले जनप्रतिनिधिहरु आफ्ना मतदाता प्रति भन्दा ज्यादा आङ्खना दल प्रति उत्तरदायी भए ।
जनतामा अंकुरण भएको आक्रोशलाई सम्वोधन गर्न हतियार सहित एक जमात तैयार भयो जसलाई कालान्तरमा नेकपा माओवादीको रुपमा चिनियो । स्थानीय स्तरमा सामाजिक कुरिति, शोषणलाई तह लगाउदै यसले जनताको भरोसा पनि जित्दै गयो । कुर्सी दौडमा तल्लिन दलका महन्तहरुलाई स्थानिय समस्या समाधान गरेर भाटे कारवाहीहरु रोक्नुको साटो आतंककारी घोषणा गरेर उनिहरुको टाउको किन्न नै सहज लाग्यो । टाउको झोलामा हालेर ल्याउ र त्यही झोला भरी पैसा लिएर जाउ भन्ने अभिव्यक्ति दिनेहरुले नै कुर्सीको लोभमा तीनै टाउकाहरुसँग लम्पसार परे । यही शक्ति माओवादी केन्द्र भएर नेपाल हाक्दैछ, जसको सामुन्ने हिजो तिनैलाई आतंककारी भन्नेहरु निरिह देखिएका छन् । मुखले जनताको सर्वोच्चता, विधिको शासन, प्रजातन्त्र अझ लोकतन्त्र, जनताको स्वतन्त्रता भनेर फलाक्नेहरुबाटै माओवादीले विधि विहिनता स्थापना गराउदै गयो ।
जुन संविधानको पालना र रक्षाको निमित्त प्रतिनिधि सभा गठन भएको थियो त्यही प्रतिनिधिसभाबाट संविधान खारेजी गरेर त्यसको स्थानमा अन्तरिम संविधानको घोषणा हुनु विधि विहिनताको पहिलो खुड्किलो थियो । विभिन्न कारणले भन्दा पनि त्यतिखेर सबै कुराको छिनोफानो बाहुबलले हुने अबस्था भएकाले जनता टुलुटुलु हेरेर बस्न बाध्य भयो । प्रस्तावना मै भयमुक्त वातावरणमा स्वतन्त्र र निष्पक्ष संविधानसभाको निर्वाचन लेखिए पनि निर्वाचनका वेलामा, प्रचारकाक्रममा कसैलाई इलाकामा पस्नै नदिने, मञ्च भत्काउने, कालो मोसो दल्ने, माईक खोस्ने जस्ता कार्य अन्तरिम संविधान निर्माता मध्येका दलका कार्यकर्ताबाटै भए । यस्ता कार्यलाई निष्पक्षताको तक्मा दिन हातमा तक्मा लिएर कार्टर सेन्टर जस्तो अन्तरराष्ट्रिय संस्था तम्तैयार भएर बसेको थियो । जसलाई यत्तिको हतार थियो कि मतदान केन्द्रमा पस्ने समय समाप्त भएर पसि सकेकाले मत खसालीसक्न नपाउदै नेपालमा निष्पक्ष र स्वतन्त्र निर्वाचन भएको घोषणा गर्न भ्याई सकेको थियो ।
शुरुवात नै विधि विहिनताबाट भएको आजको शासन पद्धति जनताको निमित्त कागलाई पाकेको बेल हो । सिद्धान्तमा जनताको अधिकार, लोकतन्त्र भनिए पनि जनप्रतिनिधि चयन नभएको लामो समय भनौ एक युग नै भयो । बाह्र बर्ष तपस्या गरे वरदान पाईन्छ रे, बाह्र बर्षमा खोलो फर्किन्छ रे तर बाह्र काटेको धेरै भए पनि जनताले स्थानिय निर्वाचन देख्न पाएनन् । केही ठुला पल्टेका दलहरुका दसवीस जना महन्तहरुको सनकमा गरिने कामलाई नेपालीले राष्ट्रिय सहमती मानिदिनु पर्ने अरे । जुन सहमतीमा त्यहि दलको निमित्त रगत पसिना वगाएका अरु कार्यकर्ताको समेत सहमती छैन त्यो राष्ट्रिय सहमती मानिनु पर्ने आग्रह नै नीति विहिन नेताको परिचय हो । आङ्खनो अनुकुल नहुँदा हिजो झोलामा टाउको माग्नेहरु आज तीनै टाउकासंग आफ्नो टाउको जोडेर साउती गर्न तल्लिन छन र त्यसवाट राष्ट्रिय सहमती निक्लिन्छ भनेर लोहोरा पकाउन व्यस्त छन ।
यो ती विचारा नेताहरुको चलाखी पटक्कै हैन बरु नीति विहिनताको ढोल हो । आजसम्म विदेशी इशारामा चलेको शंका मात्र थियो अब उनिहरु आपैm नै हामीलाई यो लोहोरो पानीमा पकायो भने गल्छ गलाउ भनेर विदेशी मित्रहरुको दवाव छ भनेर भन्दैछन् । धन्य छन नेपाली जनता जसले विधि विहिन शासन र यस्ता नीति विहिन नेतालाई आङ्खनो जीवन सुम्पेर मरुभूमिमा रगत पसिना बगाउन जान पाउ भनेर तिनै नेताको चाकरी गर्दैछ । नेपालमा दलहरुले बनाएका राष्ट्रपति छन्, जोड घटाउले प्रधानमन्त्रीको कुर्सीमा पुगेर त्यसमा लिसो पैदा गरेर बसेका गोली खान तैयार तर कुर्सी नछोडने भन्ने प्रधान मन्त्री छन् । नेपालका ईतीहासमै सबैभन्दा धेरै पढेलेखेर डाक्टर भएका प्रधान मन्त्री , दलहरुले बनाएका डाक्टर राष्ट्रपति पनि भए । सबै विधि विहिन शासन तथा नीति विहिन नेताका उपज सावित भए । सडकमा हतियार समेतको सेना उतारेर ९० प्रतिशतको सहमति भन्ने डंका पिटेको संविधान नेताहरुको नीति विहिनताले संशोधनको आरनमा चेप्टिदैछ, नेप्टिदैछ । जनताको निमित्त भने विधि विहीन शासन तथा नीति विहिन नेता प्रारव्ध भएको नयाँ नेपाल उपहार छ, खाए खाउ नखाए घिच ।