राजन कार्की
इजरायल यहुदी मुलुक हो। अमेरिकामा बाइबल छोएर सपथ खानुपर्छ। इस्लामी मुलुकहरुमा कुरानका सामु झुक्नैपर्छ। नेपालमा गीताप्रति यत्रो अपमान? बुद्धको देशमा धार्मिक हिंसात्मक विवादको टुसो उमि्रसक्यो। ठूला नेताहरु क्रिश्चियन मिसनको चक्करमा फसेका रहेछन्, फस्दै गइरहेका छन् र यही कारणले मनखुशी धर्मनिरपेक्षता घोषणा गरेका थिए भन्ने रहस्यको पर्दा खुल्दै गएको छ160। क्रिश्चियनहरु चार ठूला दलमाथि यसरी दबाब दिदैछन् कि संविधानमा धर्मनिरपेक्षता नै उल्लेख गर, जति चाहिन्छ पैसा हामी दिन्छौं। रायसुझाव र सडकमा समेत जनताले नकारेको धर्मनिरपेक्षतालाई कसरी संविधानमा लेख्ने भनेर चार नेता खप्परमा हात राखेर सोच्न थालेका छन्।
बुख्याँचाको विवेक हुँदैन। बुख्याँचा पुतला हो, पुतला निर्जीव हुन्छ। संविधानसभालाई सार्वभौमशक्ति सम्पन्न संस्था मानिन्छ। सार्वभौम संस्थामा किन खुला बहस हुन्न, राष्ट्रिय मुद्दाहरुमा मन्थन हुन्न। संविधानसभा चार दलले खडा गरेको बुख्याँचाजस्तो छ। जसले जनतालाई तर्साउन त सफल भइरहेको छ। स्वयंमा विवेकशील बन्न सकेन। जनताको संस्था पनि यति दयलाग्दो? र, चार दलका चार नेतासमेत विदेशी प्रभाव र दबाबमा निर्णय गर्न थालेका छन्। यिनका निर्णयले राष्ट्र एकातिर भीर, अर्कोतिर खाडलको स्थितिमा पुगेको छ। भनिन्छ, भीरको चिण्डो उँधो र उँभो? चार नेताको सत्ता र शक्तिको स्वार्थन्धताले राष्ट्र लोकतान्त्रिक राजमार्गतिर होइन, धार्मिक, जातीय र क्षेत्रीय अँध्यारो सुरुङमार्गतिर अग्रसर हुँदै।
भारनढका भन्ने पन्छी हुन्छ, जो शत्रु आयो भने टाउको बालुवामुनी लुकाएर सुरक्षित भएँ भन्ने सन्तोषमा बस्छ र सिकारीको फन्दामा पर्छ। भारतको देहाततिर एउटा फिरन्ते जाति बस्छ, जो पुरुष वा महिला घाँघरजस्तो लुगा लगाउँछन्। नयाँ मान्छे देख्यो कि डराउँछन्, लजाउँछन् र लगाएको घाँघर दुबै हातले उठाएर मुख छोप्छन्। उनीहरुलाई पत्तै हुँदैन, तलतिरको संवेदनशील अंग नाङ्गै भइसकेको हुन्छ। त्यस्तै प्रकृति र चरित्र देखाइरहेका छन् चार दलका चार नेताले। हो, उनीहरुसँग ९० प्रतिशत संविधानसभाका सभासदहरुको साथ छ। सिङ्गो देशको साथ र समर्थन छ कि छैन? यसबारेमा उनीहरु भ्रममा छन्। गरिब मुलुकमा चुनाव जित्नु जनताको मन जित्नु होइन, चुनाव त ज्यानमाराले पनि जिते, अपहरणकारी र डाँकाले पनि जित्ने गर्छन्। पहिले राजाले हुकुम दिदा पालन गरिन्थ्यो, यिनमा महाराजा भइसकेको दोष छ र संविधानको फर्मान जारी गर्न लागेका छन्। जनभावना विपरितको संवैधानिक फर्मान मान्य छैन भनेर देशव्यापी रुपमा असन्तोष र आक्रोस सडकमै पोखिन थालेको छ।
६ प्रदेशको खण्डलाई अस्वीकार गर्दै अख48डको आगो दन्किसक्यो। धर्मनिरपेक्षताको विरुद्धमा हिन्दूराष्ट्रको आन्दोलन चर्कदै गएको छ। यी दुबै आगो र आन्दोलन इटलीको जंगलमा लागेको डढेलो भन्दा डरलाग्दो बन्दैछ। माओवादी, मधेसी, जनजातिसहितका शक्तिले संयुक्त आन्दोलन थालिसके, साउन ३० गते दिउँसै देशैभरि मशाल जुलुस प्रदर्शन गरिनेछ भने ३१ गते आम हड्तालको घोषणा भइसक्यो। ०१७ सालको भूत जागेको हो भनेर यिनलाई डा.बाबुराम भट्टराईले संविधानसभाबाट के डामेका थिए, सुर्खेतमा राज्यले गोली हानेर ३ जनाको ज्यान लियो। गोलीले आगो र आन्दोलन रोकिएन। कर्फ्यू लाग्ने क्रम बढेको छ। आन्दोलन सुर्खेतमात्र होइन, सबै जिल्लाहरुमा उम्लिदै र उग्र हुँदै गएको छ। सुदूरपश्चिमबाट पूर्वतिर पनि आन्दोलनका ज्वारभाटा उठ्न थालेका छन्। सबैलाई दमन गर्ने? दमन गरेर संविधान जारी होला, समस्याको समाधान कसरी हुनसक्छ?
हो, जिल्लातिर जतिसुकै डँढेलो सल्किए पनि कुनै परिवर्तन हुँदैन। परिवर्तनका लागि राजधानीमै टायर बल्नुपर्छ, पत्यौल धुँवा उठ्नुपर्छ, राजधानी निसास्सिनु पर्छ, राजधानी ठप्पै पार्नुपर्छ। राजधानीवासी आन्दोलन भनेर जाग्नुपर्छ, तवमात्र जनताको माग संवोधन हुने परम्परा छ नेपालमा। तथापि जिल्लातिरको आक्रोसले यसपटक राजधानीमा तरङ्ग फैलियो। ६ प्रदेशलाई पास गर्न तम्सिएका ४ पार्टीका ४ नेता एकै मञ्चमा बसेर जनतालाई संवोधन गर्न बाध्य भए। प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले संविधान जारी गर्न र कानुनव्यवस्था नबिथोल्न आग्रह गरे भने एमाले अध्यक्ष केपी ओलीले मलाई पनि मन परेको छैन सिमांकन भनेर एकताको विन्दू पहिल्याएर अघि बढ्न तैयार रहेको अभिव्यक्ति दिए।
एमाओवादी प्रचण्डले अझै सिमांकनमा नमिलेका विषय सच्याउन सकिन्छ, जनआवाजलाई संवोधन गर्न सकिन्छ, सिमांकन मिलाउन तैयार छौं भनेका छन् भने फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान निर्माणका लागि आफूले त्याग गरेको भनाई अघि सारेका छन्। उचित समाधान खोज्न तैयार भए पनि ६ प्रदेशको सिमांकनलाई लिएर ठूला चारै दलका अध्यक्षले सभासदका खप्की खाएका छन्। संविधानसभामा पनि आलोचना भएको छ। तर, यी पार्टीका सभासदहरु भूल सुधारका पक्षमा छन्, बिद्रोह गर्न तैयार छैनन्। आखिर गोठालाले जता बाटो देखायो, भेडाहरु उतै लाग्ने न हुन्। सभासदहरुलाई विवेक प्रयोग गर्ने छुट पार्टी नेतृत्वले नदिएपछि तिनले गर्ने भनेको संविधानसभामा टेबुल ठटाउनेे र ल्याप्चे ठोक्ने न हो? कृपापात्र कृपालुबाट दविएको हुन्छ, स्वाधीन हुनसक्दैन भनेको यही हो। विवेक मारेर सभासद हुनु पनि के हुनु?
कार्लमार्क्सले भनेका छन्– कुनै पनि निर्णयमा विद्रोहको बीउ हुन्छ। धर्म, सिमांकन र नामांकनमा बिद्रोह सुरु भइसक्यो। यी विषय मिलाउनै हम्मे छ। किनभने सुदूरपश्चिम मिले, मध्यपश्चिम अखण्ड हुनुपर्ने। चितवन, नवलपरासीदेखि पूर्वका मगुराली अखण्ड बन्नुपर्ने। देश जति खण्ड भए पनि हुन्छ, पश्चिमको थरुहठलाई कञ्चनपुरदेखिका तराई भूभाग र लिम्वुवानलाई कोशी पूर्वका ९ जिल्ला अखण्ड चाहिएको छ। सद्भावनाकी नेतृ सरिता गिरीले फेसबुकमा चित्त दुखाइन्– ५ नम्बर प्रदेश लुम्बिनीका कारण चीनसँगको पहुँच स्वतः बन्छ, तर हामी २ नम्बरेलाई दक्षिणतिर जोड्नेले चीनतिरको निकास दिएनन्? अर्थात् २ नम्बरलाई पहाड चाहियो। यस्तै समस्या छ, नामांकनमा पनि।
माओवादीलाई नामांकनमा जातीय पहिचान चाहिएको छ, धर्मनिरपेक्षता हुनै परेको छ। किनभने जातीय भोट बैंक सुरक्षित राख्नुछ, क्रिश्चियन फाउण्डेशनको डलर हत्याउनु छ। आफ्नै राजनीतिको मात्र सोच राख्नेले देशको लागि अर्जुनदृष्टि राख्न सक्दैन। किन ६ प्रदेश? डा.बाबुराम भट्टराईको कथन बाहिर आयो– यो १३ प्रदेशकै नयाँ रुप हो। किन ५ विकास क्षेत्रलाई ५ प्रदेश बनाएर झण्झटबाट मुक्ति नलिएको भन्ने सन्दर्भमा कांग्रेसका एक नेताले बताए– पञ्चायतको 'प' र ०१७ सालको 'स' पनि नगनाओस् भनेर ६ प्रदेश बनाएको रे। इतिहासलाई पूर्वाग्रह राखेर सफाचट पार्न सकिएला र? त्यसो भए पञ्च र राजाका नामबाट उठ्ने आफू र परिवारजनको नाम बदल्ने अभियान चलाउन मिल्ला?
वाह! क्या सोच छ हाम्रा नेताहरुको। पञ्चायत ढलेको २५ वर्षपछि पनि पञ्चायतकै भूतसँग डराउने? राजतन्त्र समाप्त पारेको ७ वर्षपछि पनि राजतन्त्रकै नामले सातो जाने? यी कस्ता लोकतान्त्रिक नेता हुन्, जो लोकका लागि लोककै रगतले संविधान लेख्दैछन्। र, पञ्चायतको ढाडे हात लगाएर सत्तोसराप गर्दैछन्। लोकतन्त्रको पहिचान, लोकतन्त्रले बनाउने सम्पन्न मुलुकको अवधारणा यिनीहरुसँग केही रहनेछ, दिन देखाउन सकेनन्। राम्रो कामले नराम्रोलाई विस्थापन गर्ने हो भन्ने विश्वास यिनमा छैन, किनभने यिनीहरुसँग मुलुक दह्रो पार्ने कुनै सोच र खाका नै छैन। यस्ता टाट लोकतन्त्रवादीहरुले भाट र भतुवा बनाउन सक्छन्, आत्मनिर्भर र स्वाधीन राष्ट्र कसरी निर्माण गर्लान्?
कुनै बेला वीपी थिए, वीपी भन्थे– हामी दुबैतिरका हात्तीका वीचमा छौं। हामीलाई प्रजातन्त्र र राष्ट्रियता दुबै चाहिन्छ। यही सिद्धान्तलाई शिद्ध गर्न वीपीले फाँसी हुन्छ भने पनि स्वीकार छ भनेर निर्वाशनबाट देश फर्किए, हातमा देशको माटो लिएर आत्म निर्णय गर्ने पार्टी सिद्धान्तको प्रतिपादन गरे। ०४६ सालपछिको प्रजातन्त्रकालमा वीपीको त्यो सिद्धान्त माओवादीको छायाँमा पर्यो, ०६३ सालपछिको लोकतन्त्रको निर्णायक मोडमा आज कांग्रेस खडा छ। सुशील कोइरालाको नेतृत्वको कांग्रेसले वीपीको सिद्धान्तको अनुयायी बन्छ कि माओवादीको खेताला? यो प्रश्न किन पनि महत्वपूर्ण छ भने, जनता नेपाली एकता खोजिरहेका छन्, हिन्दूराष्ट्र भनिरहेका छन्। कांग्रेस माओवादी र एमालेको धर्मनिरपेक्षताको मझधारमा छ। कांग्रेसको नेतृत्वमा संविधान आउँछ, तर माओवादीसँगको शान्ति प्रक्रिया टुङ्गोमा पुगे पनि धार्मिक र जातीय द्वन्द्व चर्किदा सबैभन्दा बढी नोक्सानी राष्ट्रिय एकता, अखण्डता र लोकतान्त्रिक जीवनपद्धतिमाथि नै हुनेछ। लोकतन्त्र कमजोर हुनु र धार्मिक द्वन्द्व बढ्नु भनेको कांग्रेस कमजोर हुनु हो। क्रिश्चियन बलवती बन्दै जाँदा कांग्रेसको शक्ति क्षीण हुँदै जाने हो। यसकारण कांग्रेसले देशको माटो हातमा लिएर सोच्नै पर्ने बेला भनेको यही हो। तर सुशील कोइराला र उनको पार्टीका निर्णायक तहका कुनै नेता देशको माटो हातमा लिएर द्विविधामा सुविधा उपयोग गर्न तैयार देखिदैन। सत्ताले सिद्धान्त, शक्तिले क्षमतालाई कसरी खिया लगाउने रहेछ1। देशका नायकहरु खलनालयक बन्न थालेपछि राजनीति सूर्यमुखी बन्छ। सूर्यमुखीले सत्ताबाहेक थप के देख्छ?
मधेसवादी नेताहरु यतिखेर झस्किन पुगेका छन्। जितेन्द्र देवले मुख खोल्दा निस्कियो– सीके राउत बिद्रोह गर्दैथिए, अव हिन्दूराष्ट्र माँग्ने राप्रपा नेपालदेखि खुमबहादुर खड्का र जोगी सन्यासीहरु, जनतन्त्र चाहिन्छ भन्ने विप्लव, बैद्यहरु र अखण्डका पक्षधरहरुको चलखेलको मैदान बन्न थालिसक्यो मधेस। देशलाई लोकतन्त्रको अवधारणाले बाँध्न सकेनन्। आज जता हेरे पनि असन्तुष्टिमात्र छ। यो असन्तुष्टिको सम्मीलन, संगठित भइदियो भने गोली चलाउन थालेको सत्ताले जनताको छाती छिया छिया पार्दैजानेछ। लोकतान्त्रिक साइनबोर्ड झुण्डाएको सत्ताको बन्दुक पड्किने क्रम सुरु भइसक्यो, अर्को जनआन्दोलन यही विन्दुबाट छड्किन बेर छैन। त्यसकारण ०१७ सालको हाउगुजी देखाउनु व्यर्थ छ।


