राउटेहरु सिंहदरवार आए। तिनीहरु संविधानमा सुझाव दिन आएका थिएनन्, उनीहरुको माग थियो– दसैं आउन लाग्यो खर्च बढाएर देउ। हामी माघी, दसैंजस्ता चाडबाडमा काठमाडों आउने गरेका छौं। हामीलाई पनि हेर। यद्यपि उनीहरुले कसैलाई लेखाएर विज्ञप्ति पनि लिएर आएका रहेछन्। आतंककारीलाईजस्तो अत्यन्त कडा सुरक्षाघेरामा उनीहरुलाई सिंहदरवारभित्र लगियो। राउटेहरुले सभामुखलाई लेखेको विज्ञप्ति र उपहार दिए। विज्ञप्तिमा मुखिया शिवराज साहीले राउटेजाति लोपोन्मुख छन्, तिनीहरुलाई पनि संविधानमा समेट, राउटेको जाति, धर्म, संस्कृति, वेशभूषा र भाषाको संरक्षण गरिदेउ भन्ने उल्लेख छ। सुभाष नेम्वाङले आफूले जिम्मेवारी लिन चाहेनन्, उनले राउटे समुदायको माग प्रधानमन्त्रीसमक्ष पुर्याइदिने आश्वासन दिए। पहल हुन्छ भने। सभामुखले टोपी उपहारमा दिदा राउटेले खुशीसाथ लगाएको दृश्य राम्रो थियो। यो जंगल जंगल चहारेर जीवनयापन गर्ने राउटेको आवाजजस्तो देखिए पनि यथार्थमा यो आमनेपालीको आवाज हो। आमनेपालीहरु यस्तै विपदमा छन्। उनीहरु जीवन कसरी धान्ने भन्ने छटपटीमा छन्। रायसुझाव संकलन गर्न पुगेका कतिपय सभासदलाई सिमान्तकृत समुदायले प्रश्न गरेका थिए– संविधानले खानलाई भात दिन्छ? \u000a हो, संविधानले भात दिदैन। संविधानले शान्ति, सुव्यवस्था, स्थिरताका लागि पद्धति दिने हो। त्यो पद्धति निश्चित अवधिका लागि दिने हो किनकि नेपालमा २००४, ००८, ०१५, ०१९, ०३७, ०४७, ०६३ गरी सात दशकमा ७ थान संविधान जारी भइसके। ती कुनै पनि संविधानले सफलतापूर्वक दिगो रुपमा मुलुक हाँक्न सकेनन्। अव २०७२ सालको गणतान्त्रिक संविधान जारी गर्ने तैयार अन्तिम चरणमा पुगेको छ। यो संविधान चार दलको अगुवाईमा आउन लागेकाले यो संविधान पनि राउटेको प्रश्न अथवा सिमान्तकृत जनताको प्रश्नजस्तै कौवालाई बेल पाक्यो हर्ष न बिष्मातको रुपमा देखिन प्रष्ट छ। किनकि संविधानमा आम जनताको रायसुझावलाई संवोधन गरिनेछैन, स्वदेशीभन्दा विदेशी प्रभूहरुको आदेशमा यो संविधान तैयारी भइरहेको छ र यसको स्वामित्वको सवालमा चार दल जिम्मेवार हुनेछन्। यस्तो चार दलले घोषणा गरेको संविधान कसरी दिगो हुनसक्ला र?
राउटेहरु यसैगरेर दसैं दसैं छेको पारेर राजधानी आउँछन्, आफ्नो ब्यथा सुनाउँछन्। केही राउटेलाई सुर्खेतका जंगलमा २५ सयको अस्थायी पहरेदार जागीर दिएर पन्छाउने राज्यले केही भत्ता र दसैंखर्च दिएर मुखबुजो लगाइरहेको छ। यी राउटे समुदायलार्य समाजको जिम्मेवार अंग बनाउने, राज्यका सबै सञ्जालमा समेट्ने कुनै योजना आजसम्म देखिएको छैन। यस्ता सिमान्तकृत र लोपोन्मुख जाति, समुदाय थुप्रैछन्, शासकबर्ग यिनका नाममा गणतन्त्र हाँकिरहेका छन् र लोकतन्त्र बगारिरहेका छन्। भाषण र केही हजारले देश समृद्ध बन्दैन सभामुखजी। देश जोड्न राउटेजस्ता १२६ जातिलाई संविधानमा, राज्यसँग जोड्नुपर्छ, संविधानप्रति सबैको अपनत्वको भाव हुनुपर्छ। संविधानको स्वामित्व जनताले लिन सकेनन् भने त्यस्तो संविधान कसरी सफल संविधान बन्ला र?


