Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

गद्दीको लोभ नगर, राष्ट्रको लोभ त गर

०४ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की- -
‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’ यो साल नखोलिएको नेपालको संविधानले गरेको राष्ट्रको परिभाषा हो । अपवाद वाहेक विश्वका सबै राष्ट्रलाई यो परिभाषा उपयुक्त हुन्छ । यिनै विविधताहरू नै कुनै पनि राष्ट्रका प्राण हुन् ।  यी विविधतालाई एक्लाएक्लै पारियो भने सबैको समूल नाश हुन्छ, त्यसैले यी सबै एक सूत्रमा आबद्ध रहनु पर्छ । स्थापित गरेको मान्यता हो ।
जनता राष्ट्र हुन अर्थात राष्ट्र भनेको नै जनता हो जो राष्ट्रिय स्वतन्त्रता र अखण्डता प्रति आस्थावान छ । राष्ट्रको यो परिभाषा २०१९को संविधानदेखि नै वर्तमान संविधानसम्म निरन्तर छ । यही राष्ट्रप्रतिको माया, आस्था अनि गौरव राष्ट्रप्रेम हो । यो प्रेम भावना हो, आफु जोडिएको राष्ट्रिय स्वतन्त्रता अनि अखण्डतासंगको एकात्मकता हो । नेपालको नाम गर्वले प्रथम परिचय या पहिचान मान्नेमात्र नेपाल राष्ट्र हो । यो यसै संविधानले परिभाषा गरेको कुरा हो । राष्ट्रचिन्ता गर्नुपर्ने नै यही आस्था टुट्दै गएकोमा हो । राष्ट्रप्रेम अनुभूति गर्नेले राष्ट्रचिन्ता गर्छ नै, तर व्यवहारमा ल्याउँछ ल्याउन्न त्यो महत्वपूर्ण हो ।
पाखा लगाईएका राजाले राष्ट्रचिन्ता गरेका छन् । यो चिन्ता लगातार प्रकट पनि हुँदैछ । यो उनको रगतमा रहेको पुख्यौली स्वभाव हो । यसमा पृथ्वीनारायण शाहको अंश पनि छ भने विवाद साम्य गर्न गद्दी छोड्ने राजेन्द्रको पनि । स्वतन्त्रताको चाहना र त्यो स्वतन्त्रताको निमित्त गद्दी वाजीराख्ने त्रिभुवनको पनि । नेपालको आन्तरिक सवलता र विदेशमा नेपालको आदर पैदा गर्ने ‘राष्ट्रवाद’ पथका प्रवर्तक महेन्द्रको पनि । तर अहिले उनको यो चिन्ता मात्र चिन्ता भएको छ । आफुलाई प्राणभन्दा प्यारो भनेर नारा लगाउनेहरूको भरोसामा चालेको कदमले उल्टो काम गरेको छ । राष्ट्रको पीडा हर्नुको साटो आफुलाई नै किनारा लगाएर पिडा थप्नेहरूको हालीमुहाली भएको छ ।
राष्ट्र राजाभन्दा ठूलो हो यो कुरा उनले बुझेका मात्र हैनन आफ्ना समर्थक भएर आउने सबैलाई बुझाउन पनि खोज्दैछन । पहिलो काम राष्ट्रको स्थायित्व हो भन्ने उनका कुरा सुनेर पनि ‘राजावादी’ सडकमा आन्दोलनको हुंकार गर्दछन् । यो उनको लगातार हारको थप श्रृखला हो । सबैको हुनुपर्ने देशलाई भागबण्डा गर्ने खालका उग्रक्रियाकलापको बदलामा राष्ट्रवादीहरूले देखाएको प्रतिक्रिया त्यही विभाजनकारीलाई सहयोग गर्ने खालका छन् । कुकुरले खुट्टा टोकेमा कुकुरको खुट्टा टोक्नु पर्छ भन्नु उचित हैन । तर यस्तै कामले राष्ट्रिय एकतामा झन चोट पुग्छ भन्ने सोच्न नसक्ने उग्र राजावादीमा र मधेशपहाड, तागाधारी मतवाली आदि फुटाउन खोज्नेहरूमा फरक के ?
नेपाल हिन्दु बाहुल्य देश हो, हिन्दुराष्ट्र पनि घोषित थियो । के त्यो वेला अन्य आस्थाकालाई अहिले जस्तै तथानाम गरिएको थियो ? थिएन, त्यसबेला सबैको अस्तित्वको सम्मान गरिएको थियो । कतैको षड्यन्त्रले यो सौहार्दता समाप्त पार्न आक्रामक प्रचार भएको छ । यो प्रचार गर्नेहरू कतै कसैको जागिर खाईरहेका छन् तर आफुलाई हिन्दु भन्नेहरू सित्तैमा उनीहरूको यो अभियानलाई सघाउदैछन ? उनिहरूको अभियान यहाँ भएका विभिन्न सम्म्रदायमा फुट ल्याउनु हो । त्यसैले कोही एक सम्प्रदायको जस्तो भएर अर्कौ माथी आक्रमण गर्दछ, भडकाउँछ । भडकिनु षडयन्त्रकारीको सफलता हो । 
आफु विभिन्न क्षेत्र, जातजातीको भएर कायम सौहार्दता विथोलेर राष्ट्र विखण्डन गर्न खटाईएकाहरू चर्का गाली गर्दैछन । त्यसबाट आवेशमा आएर राष्ट्रवादीपनि उनीहरूलाई गाली गर्न लाग्छन् । यसले उनीहरूको अभियान नै सफलता तर्पm लाग्छ । राष्ट्रवादी हुन सजिलो राष्ट्रवादी भएर बाँच्न गाह्रो भन्ने गरेको सुनिन्छ । हो, राष्ट्रवादी भएर बाँच्न गाह्रो नै छ । आफुलाई भैराखेको प्रहारलाई जस्तालाई तस्तै भन्ने जवाफ दिन सकिन्न । काँतर भएर हैन त्यो जवाफले उनीहरूलाई जिताउने भएर ।
राष्ट्रवादीहरूलाई नेपाली बीच भावनात्मक एकता सदैव कायम राख्नु छ , राष्ट्रघातीलाई त्यो एकता एकपटक भए पनि तोडनु छ । हिन्दुहरूले ‘वशुधैव कुटुम्वकम’ भनेर संसारभरिका धर्मसम्प्रदायलाई कुटुम्व बनाउनु छ, षडयन्त्रकारीलाई एक पटक भए पनि धार्मिक युद्ध गराउनु छ । जोडेर राख्न कठिन छ, फुटाउन सरल । त्यसैले राष्ट्रवादी भएर बाँच्न कठिन छ । यहाँ भारतसँग पसारेको हात खाली भयो भने उसलाई गाली गर्दै चीनको खुट्टामा तेल घस्ने भ्रान्तिवादलाई राष्ट्रवाद भनिएको हैन । पूर्व भएपनि राजा राष्ट्रवादी हुन् । यो कुरा उनले सावित पनि गर्नुपर्दछ ।
कुहिराको काग भएर अनजान मै राष्ट्र विखण्डनमा खटाईएकाहरूलाई मुखभरीको जवाफ दिने क्रममा राष्ट्रवादी चिप्लदैछन । आफुमाथी आस्था राखेर राष्ट्रको भलो गर्न चाहाने राष्ट्रवादीहरूलाई सही दिशा निर्देश गर्न चुप बसेर हुन्न । सबैका साझा हुनै पर्दैछ, देश चिन्ता मात्र गरेर हुन्न कष्ट निवारणको प्रयत्न पनि हुनै पर्दछ । राजगद्दी भन्दा राष्ट्र ठूलो मानेर गरिने कामलाई कसैले गद्दी फर्काउन गरिने षडयन्त्र भन्छ भने भनिरहोस् । यो भन्दा निम्नस्तरका वचन र व्यवहार झेलेकै हो । नत्र राजावादीखाले राष्ट्रवादी कै काँधमा बन्दुक राखेर राष्ट्रघात होला । राजन गद्दीको लोभ चाहे नगर तर राष्ट्रको लोभ त गर । नत्र चुपलागेको कारणले राष्ट्र विखण्डन भएको जिम्मेवारी त्यहाँ पनि आईपुग्छ ।